कहाँ खोज्ने हट्टाकट्टा र निरोगी नेता ?

काठमाडौ, जेठ २५ – ‘जब पुग्यो पचास, पेटमा बतास । जब पुग्यो साठी, हातमा लाठी । जब पुग्यो सत्तरी, हिंड्दाखेरि लत्तरी । जब पुग्यो असी, कुनामा बसी ।’
मान्छेको उमेर ढल्किँदै जाँदा स्वास्थ्य अवस्था पनि कमजोर बन्दै जान्छ भन्ने तथ्य दर्शाउन नेपाली समाजमा चल्दै आएका उखान हुन् यी । तर राजनीतिमा हेर्ने हो भने जब उमेर ढल्किँदै जान्छ, तब हट्टाकट्टा र स्वस्थ मान्छेले जस्तो नेताहरु जिम्मेवारी सम्हाल्न तम्सिन्छन् । ५०/६० पार गरेका नेताले समेत आफुलाई युवापुस्ता भन्छन् भनेर बेलाबेला खिसीटिउरी समेत हुने गर्छ ।
आलोचना र व्यंग्य जति भएपनि उमेर ढल्किएका नेताहरुले जिम्मेवारी सम्हाल्न र खोज्न छाडेका छैनन् । अहिले नेकपा एमालेमा नयाँ नेतृत्वको लागि माधवकुमार नेपाल र केपी शर्मा ओली प्रतिष्पर्धामा उत्रिँदा नेता कार्यकर्ताले को नेता स्वस्थ भनेर पनि बहस चलाउन थालेका छन् । नेपाल पक्षका नेता कार्यकर्ता भन्छन् ‘ओली पहिलेदेखि नै बिरामी हुनुहुन्छ । बिरामीकै कारण नियमित कार्यक्रम, वैठक र छलफलमा जान नसक्नुभएकाले उहाँले अब आराम गर्नुपर्छ । अध्यक्षमा नउठेकै राम्रो ।’
केही महिना पहिले सार्वजनिक कार्यक्रममा भाषण गर्ने क्रममा नेता नेपालले पनि यही भन्नुभयो । तर ओली बिरामी भएर बैंककमा उपचार गराउन गएको बेला नेपाल पनि विरामी हुनुभयो । उहाँलाई केही दिन वीर अस्पतालमै बसेर उपचार गराउनुपर्यो । त्यसपछि ओली पक्षका नेता कार्यकर्ताले मुखभरीको जवाफ फर्काए ‘माधव नेपाल पनि त विरामी हुनुभयो नि ।’
अहिले निको भएपनि दुवै नेतालाई डाक्टरहरुले आराम गर्न सल्लाह दिएका छन् । तर आउँदो नवौं महाधिवेशनबाट अध्यक्ष बन्ने लाइनमा लागिसकेका दुवै नेता आराम गरेर बस्ने पक्षमा छैनन् । दिनहुँजसो भेटघाट र छलफलमा व्यस्त भैरहेका छन् ।
विरामीकै कारण नेपाल र ओली नेतृत्वमा नलड्ने हो भने अर्को निरोगी नेता को हो त ? अरु पार्टीमा जस्तै एमालेले पनि तत्काल युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने सम्भावना छैन । त्यसो हुँदा अहिलेका पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता नेपाल, संसदीय दलका नेता ओली र उपाध्यक्ष बामदेव गौतममध्ये एकजनाले नेतृत्व सम्हाल्ने हो । स्वास्थ्यको कुरा गर्ने हो भने यि चारजना मात्र होइन, एमालेका अरु धेरै नेता रोगी छन् ।
अध्यक्ष खनाललाई मृगौला र मूत्रनलीको समस्या छ । उहाँको मूत्रनलीमा देखिएको प्रोष्टेट ग्लान्डको शल्यक्रिया समेत भसकेको छ । ओली पहिलेदेखि नै मृगौला सम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ । पछिल्लोपटक उहाँलाई मेनेन्जाइटिसले सतायो । नेता नेपाललाई पनि उच्च रक्तचापको समस्या छ । पछिल्लोपटक उहाँमा छातीको संक्रमण देखिएको छ । खनाल, नेपाल र ओली पछिका उपाध्यक्ष गौतमलाई मुन्टो बाँगिने समस्या छ । ब्लड क्यान्सरको उपचार गर्नुभएकी अर्का उपाध्यक्ष विद्या भण्डारीलाई झन् गम्भीर स्वास्थ्य समस्या छ । पुराना नेता भरतमोहन अधिकारी मुटु र दमबाट पीडित हुनुहुन्छ ।

अरु पार्टीमा पनि उस्तै

एमालेका मात्र होइनन्, अरु पार्टीका शीर्ष नेताहरु पनि कोही निरोगी छैनन् । बाहिरबाट हेर्दा हट्टाकट्टा र मोटाघाटा देखिएपनि धेरै नेताहरुमा उच्च रक्तचाप र मधुमेहको साझा समस्या छ । बुढो हुँदै जाँदा अरुलाई जस्तै नेताहरुलाई पनि स्वास्थ्य समस्या देखिन्छ । त्यसमाथि दिनहुँको दौडधूप, तनाव, खानपानमा अनियमितताको कारणले उनीहरु झन् बढी रोगी देखिन्छन् ।
‘त्यत्तिकै बसिरहनुभन्दा दौडधूप गर्नु स्वास्थ्यको लागि त राम्रो हो, तर नेताहरुमा खाना र आरामको ठेगान नहुने भएकाले अरु सामान्य मान्छेलाई भन्दा उनीहरुलाई स्वास्थ्य समस्या बढी देखिन्छ’ वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले उज्यालो अनलाइनसँग भन्नुभयो ।
नेपाली उखान छ  – जब पुग्यो असी, कुनामा बसी । तर असी पुग्नै लागेका प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँलाई क्यान्सर र निमोनियाको समस्या छ । अर्का नेता शेरबहादुर देउवा उच्चरक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्छ । उपसभापति रामचन्द्र पौडेललाई एमाले अध्यक्ष खनाललाई जस्तै पिसाब नलीसम्बन्धी प्रोष्टेटको समस्या छ । महामन्त्रीहरु कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह पनि प्रेसर र सुगरका रोगी हुन् ।
मोटाघाटा र रातापिरा  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उच्च रक्तचाप र मधुमेह पीडित हुनहुन्छ । पार्टीभित्र कुरा नमिले पनि अर्का नेता बाबुराम भट्टराईसँग प्रचण्डको रोग भने मिल्छ । एकीकृत नेकपा माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई घाँटीको समस्या छ ।
राप्रपामा को शक्तिशाली भनेर पौंठेजोरी खेलिरहेका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द दुवैजना बिरामी छन् । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यदेखि मधेसी दलका महन्थ ठाकुर, विजयकुमार गच्छदार, हृदयश त्रिपाठी, राजेन्द्र महतो लगायतका नेताहरु पनि निरोगी छैनन् ।
डाक्टरहरुका अनुसार उमेर ढल्किँदै जाँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । शरीरका अंगहरुले बिस्तारै काम गर्न छाड्छन् । सानोतिनो रोगले समेत उतिखेरै समात्छ । राजनीतिको शीर्ष भूमिकामा रहेका हाम्रा नेताहरु पनि प्रायः सबै ६० वर्ष माथिका छन् । ‘६० वर्षमाथिका अरु मान्छेलाई जस्तो समस्या हुन्छ, त्यो उमेरका नेताहरुमा पनि उस्तै स्वास्थ्य समस्या भएकाले धेरै नेताहरु निरोगी छैनन्’ डा. बुलन्द थापाले भन्नुभयो ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page