पीएल सिंह, लक्ष्मण थारु लगायतका १८ नेता पक्राउ
काठमाडौं, ६ मंसीर । राजधानीको भोटाहिटीबाट लक्ष्मण थारु, पीएल सिंह लगायतका १८ नेताहरु पक्राउ परेका छन् । भोलि नेपाल बन्द गर्न आह्वान गर्दै भोटाहिटीमा मसाल जुलुस निकाल्ने तयारी गरिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका सबैलाई नेपाल पुलिस क्लवमा राखिएको छ । ‘सात पार्टी संविधान सभाको म्याद ६ महिना थप्न नहुने भन्दै आन्दोलनमा रहेछ, त्यहीँ ऐक्यवद्धता देखाउन आउँदा पुलिसले समात्यो,’ सिंहले भने, ‘कुनैबेला महानगरपालिकाको मेयर भएकाले म यसमा सहभागी भएको हुँ ।’
संविधान सभाको म्याद थपेर संविधान बनाउन नसक्ने नेताहरुले देखाएकाले भोलि नेपाल बन्द गर्ने तयारी गरेको थरुहट तराई पार्टीका नेता लक्ष्मण थारुले बताए । ‘नेताले अब संविधान बनाउन नसक्ने निश्चित भएको छ,’ उनले भने, ‘अब सर्वजातीय, सर्वपक्षीय, राष्ट्रिय नागरिक सम्मेलन गरी नागरिक सरकार गठन गरी चुनाव गर्नुपर्ने हाम्रो माग हो ।’
आन्दोलनम उत्रिनेमा थरुहटसँगै तमुवान राष्ट्रिय परिषद, मगरात राष्ट्रिय परिषद, तामाङ एकता मञ्च, नेपाल देशभक्त पार्टी, नेपाल देशभक्त युवा दल र खसान राष्ट्रिय परिषद रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख राजेन्द्र श्रेष्ठले नेपाल बन्द आह्वान गरी मसाल जुलुस निकाल्न लागेकाले शान्ति सुरक्षाको मध्यनजर गरी नियन्त्रणमा लिइएको बताए ।
काठमाडौँ जिल्लाको सुरक्षा सम्वेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले भोलिदेखि लागू हुने गरी काठमाडौँका विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकेको छ।
जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले राष्ट्रपति कार्यालयको कम्पाउन्ड दायाँबायाँ ५० मिटरसम्म, उपराष्ट्रपति कार्यालयको कम्पाउन्ड क्षेत्र, प्रधानमन्त्रीको निवास क्षेत्र बालुवाटार, माइतीघर मण्डलादेखि सिंहदरबार पश्चिम द्वारहुँदै पद्मोदय हाइस्कुल तथा माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण द्वारहुँदै हनुमानस्थानसम्म र सिंहदरबार पश्चिम द्वारदेखि भद्रकाली मन्दिरको पूर्व–दक्षिणी क्षेत्र नपुमर्दनी पेट्रोल पम्प क्षेत्रसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।
त्यस्तै नयाँ बानेश्वर चोकबाट संविधानसभा भवनको पश्चिमबाटो हुँदै पश्चिम पर्खालको अन्तिम विन्दुसम्मको सडकको दायाँबायाँ किनारासम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेयले बताए ।
यसैगरी नयाँ बानेश्वर चोकदेखि अरनिको राजमार्ग हुँदै संविधानसभा भवनको दक्षिण पर्खालको अन्तिम विन्दुसम्मको राजमार्गको दायाँबायाँ दुवै किनारासम्मको क्षेत्र, नयाँ बानेश्वर चोकदेखि शङ्खमूल सडकतर्फ ५० मिटरसम्म, नयाँ बानेश्वर चोकदेखि माइतीघर मण्डलातर्फ अरनिको राजमार्गको ५० मिटरसम्म तथा संविधानसभा भवनको पश्चिम द्वार सिधा हनुमानथानतर्फको सडकको ५० मिटरसम्मको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको कुरा जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अर्को आदेश नभएसम्मका लागि ती क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको हो । -रासस
