पेरिसडाँडाबाटै १० करोड बेपत्ता, रकम प्रचण्डले कुम्ल्याएको आरोप
काठमाडौं, मंसिर ५ । एमाओवादीको आधिकारिक निकायबाट पार्टी अध्यक्ष प्रचण्डलाई आर्थिक अनियमितताको आरोप लागिसकेको थिएन । हुन त उपाध्यक्ष किरण र बाबुरामले प्रचण्डसँगको फरक मतमा पार्टीभित्र आर्थिक अराजकता र भ्रष्टाचार प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यसमा नेतृत्व पंक्तिका कमरेडहरुको पनि कमजोरी रहेकोसम्म उल्लेख गरिन्थे । पार्टीको केन्द्रीय समिति, पोलिटव्युरो, स्थायी या पदाधिकारी कुनै निकायमा पनि प्रचण्डबाट आर्थिक अनियमितता भएको आरोप लगाइएको थिएन ।
तर, एमाओवादीको यस्तै शक्तिशाली एउटा निकायबाट भने गम्भीर आरोप लगाइएको छ । त्यो पनि जनताले निर्वाचित गरी पठाएका प्रतिनिधिहरु चोर औंला ठड्याएर अनियमितता पुष्टि गराउन लागिपरेका छन् । उनीहरुको त्यही चोर औंला अहिले तत्काल हिसाबकिताब सार्वजनिक गर्न भनिरहेका छन् । हुन त, विगत केही महिनादेखि यस्तो चर्चा सुनिन थालेको थियो ।
बाहिर चर्चा मात्र होइन बैठकमै कुरा उठाइएपछि भने प्रचण्डपक्षका लागि गम्भीर टाउको दुखाइको विषय बनेको छ । हुन पनि हजार या लाखको कुरा पनि होइन। र, आरोप एक दुई करोडको पनि होइन । १० करोड भन्दा बढी रुपैयाँ प्रचण्डले कुम्ल्याएको आरोप छ । प्रंसग, संसदीय दलको हो । एमाओवादीका २ सय ३८ जना सभासद्ले दलको कार्यालयमा मासिक १० हजार रुपैयाँ बुझाउँदै आएका थिए । २०६४ अर्थात् संविधानसभा निर्वाचनबाट निर्वाचित भइआएका सभासद्ले अहिलेसम्म मासिक १० हजार रुपैयाँ बुझाइरहेका छन् ।
सभासद्ले संविधानसभाबाट पाउने मासिक तलब भत्ताबापतको एकमुष्ट रुपैयाँबाट पार्टीको नाममा मासिक १० हजार रुपैयाँ काटिने गरेको छ । पार्टीको संसदीय दलको नाममा खाता खोलिएको छ र एमाओवादीका सबै सभासद्को तलबभत्ता त्यही खातामा जम्मा हुन्छ । एकमुष्ट रुपमा उक्त खातामा आएको रकमबाट सभासद्ले १० हजारका रकमका दरले विगत साढे तीन वर्षदेखि तलबभत्ता बुझिरहेका थिए ।
दलको कार्यालयको खातामा जम्मा गर्ने र उक्त रकम सहिद, बेपत्ता परिवार र घाइते, अपांगलाई राहतस्वरुप केही रकम मासिक रुपमा वितरण गर्ने योजना बनाइएको थियो। उक्त रकम न सहिद परिवार तथा घाइते र अपांगले नै पाए न त दलको खातामा नै पैसा भेटियो । मासिक रुपमा जम्मा भएको पैसा नयाँ बजार पुगेर खर्च भएको देखिएपछि सभासद् आक्रोशित बनेका हुन्। त्यसमा पनि एमाओवादीका किरण पक्षका सभासद् बढी आक्रोशित भएका हुन् ।
बाबुराम पक्षका सभासद्ले पनि केही समय पहिला कुरा उठाएका भए पनि दलको बैठकमै विषय राख्न भने सकेका थिएनन् । तर, अहिले किरण पक्षका सभासद्ले भने बैठकमा कुरा मात्रै राखेनन् जसरी पनि हिसाबकिताब सार्वजनिक गर्न दबाब दिइरहेका छन् । एमाओवादीका २ सय ३८ सभासद्बाट मासिक १० हजारका दरले २३ लाख ८० हजार रुपैयाँ जम्मा हुन्छ ।
संविधानसभा निर्वाचनयताका ४३ महिनामा १० करोड २३ लाख ४० हजार रुपैयाँ रुपैयाँ दलको खातामा जम्मा हुनुपर्ने थियो । तर अहिलेसम्म उक्त रकम प्रचण्डले व्यक्तिगत रुपमा खर्च गरेको सभासद्को आरोप छ । ‘विगतदेखि नै हामीले उक्त रकमको हिसाबकिताब मागिरहेका छौं र यो विषयलाई बैठकमा पनि राखेका छौं। सदुपयोग नहुने हो भने हाम्रो श्रमबाट काटिएको पैसा किन दिने भन्ने प्रश्न पनि साथीहरुबाट उठेको छ ।’ संसदीय दलकी पूर्व सचेतक जयपुरी घर्तीले भनिन् ।
