किन स्थगित भयो चिनियाँ प्रधानमन्त्रीको भ्रमण ?


मिति नै तय भएको थिएनः परराष्ट्रमन्त्री


२७ मंसिर, काठमाडौं । निकै महत्वका साथ प्रचार गरिएको चिनियाँ प्रधानमन्त्री वेन जियावाओको नेपाल भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । पुष ५ गतेदेखि सुरु हुने भनिएको तीन दिने भ्रमणका लागि नेपालले तयारी तिब्र पारिरहेका बेला मंगलवार भ्रमण स्थगित भएको चिनियाँ पक्षले जानकारी दिएको छ ।
सोमबार बेलुकीसम्म भ्रमणकै तयारीमा ब्यस्त रहेका नेपालका लागि चिनियाँ राजदूत योङ होउलानले मंगलबार बिहान परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट गरि तत्कालका लागि भ्रमण स्थगित भएको जानकारी दिएका थिए । चिनियाँ प्रधानमन्त्रीको भ्रमण स्थगनले कूटनीतिक र राजनीतिकरुपमा एकैसाथ धेरै प्रश्न उब्जाएको छ । दुवै छिमेकी प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराएर अन्तराष्ट्रिय समर्थन र सन्तुलन कायम गरेको देखाउन खोजेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई यो निर्णयले पहिलो झट्का लगाएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले भने भ्रमण स्थगित नभइ सरेकोमात्र बताए । चिनियाँ पक्षको आन्तरिक कारणले भ्रमण पर सरेको भन्दै पाण्डेले उपयुक्त मितिमा छिटै चिनियाँ प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने बताए । बरिष्ठ दश मन्त्रीसहित बर्मा हुँदै नेपाल आउन लागेका चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणमात्र नभई बर्माको स्थगित भएको र पछि एकै मेसोमा पहिलेझै भ्रमण हुने पाण्डेले बताए ।
मिति नै तय भएको थिएनः परराष्ट्रमन्त्री
नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने चिनियाँ प्रधानमन्त्रीको भ्रमण नै तय नभएको जिकिर गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै श्रेष्ठले भने- ‘मिति नै तय नभएको भ्रमण कसरी स्थगित हुन्छ ? पहिलो वा दोस्रो साता गर्ने भनिएको थियो, मिति तोकिएको हैन् ।’ यहि साता मिति तोक्ने सहमति भएपनि अहिले चिनियाँ पक्षले अलि पछि सारौ भनेर आग्रह गरेको तर स्थगित नगरिएको श्रेष्ठले बताए । नेपालसँगै बर्माको भ्रमण पनि स्थगित भएकाले यसमा नेपालको कारण नभएको उनको भनाई थियो । तर, परराष्ट्रमन्त्री श्रेष्ठले चीन भ्रमणबाट फर्केपछि त्रिभुवन बिमानस्थलमा पुषको पहिलो साता भ्रमण गर्ने निश्चीत भएको बताएका थिए । त्यसअघि नै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वयंमले पुष ५ गतेबाट चिनियाँ प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने भन्दै पहिलोपटक मिति सार्वजनिक गरेका थिए ।
भट्टराई नेतृत्वको सरकार ढल्ने संकेत आएपछि सम्भावित अपजसबाट बच्न वेनले नेपाल भ्रमण स्थगित गरेको हुन सक्ने बताएका छन् । मधेसी मोर्चामा अवद्ध दलहरुले सोमबार मात्र प्रधानमन्त्री र माओवादी शीर्ष नेताहरुलाई भेटेर चारबुँदे सहमति पालना नभए सरकारबाट हट्ने चेतावनी दिएका थिए ।’ कमजोर सरकारसँग चीनले कहिलेपनि सम्झौता गर्दैन’- नेपाल-चीन सम्बन्धका जानकार एक कूटनीतिज्ञले अनलाइनखबरसँग भने-’अहिलेको सरकार बलियो छ र यसले वाचा गरेका कुरा पुरा गर्छ भन्ने बिश्वास चीनलाई नभएको प्रष्ट हुन्छ ।’
नेपालले चिनियाँ प्रधानमन्त्रीको भ्रमणलाई हल्का रुपमा प्रचार गरिदिएकोमा पनि चीन सन्तुष्ट नरहेको उनको दावी छ । सहमतिभन्दा पहिले नै मिति सार्वजनिक हुनु, चिनियाँ पक्षले अघि सारेका चासो र प्रस्ताव मधेसी मन्त्रीहरुबाट भटाभट मिडियामा सार्वजनिक हुनु लगायतका ‘कुटनीतिक आलाकाचापन’ले चिनियाँ पक्ष झस्किएको उनको दावी छ । यस्तै परराष्ट्र मामिलाका जानकार जयराज आचार्यले चीनले भ्रमणको मिति औपचारिक रुपमा घोषणा नहुँदै एजेण्डाहरु सार्वजनिक हुनु कुटनीतिक गम्भीर गल्ती भएको बताए । ‘भ्रमणको एजेण्डाहरु सार्वजनिक हुनु नेपालको कूटनीतिक गल्ती हो’ आचार्यले भने-’यसले वर्तमान सरकारले कूटनीति गर्न जानेन भन्ने बुझिन्छ ।’
भ्रमण पर सरेको जानकारी गराएपनि त्यसको कारणबारे चिनियाँ पक्षले नेपाल सरकारका उच्च अधिकारीहरुलाई केही पनि जानकारी गराएको छैन् । शान्त कूटनीतिको अभ्यास गर्ने चीनले आफ्नै आन्तरिक कारणले भ्रमण स्थगित भएको बताए पनि उ चिढिएको हो वा नितान्त प्राबिधिक कारणले पर सरेको हो भन्ने बिषयमा प्रष्ट संकेत गरेको छैन् ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page