चलचित्र निर्माता चोरीका गाडी विक्रेताको आरोपमा पक्राउ


bhandari
नयां दिल्ली, मंसिर १७ - आफूलाई चलचित्र निर्माता दावी गर्ने नेपाली नागरिक गंगा बहादुर भण्डारीलाई दिल्ली प्रहरीले चोरीका भारतीय गाडी नेपालमा बेचेको आरोपमा पक्राउ गरेको छ । आनन्द विहारबाट पक्राउ गरेको एक दिनपछि दिल्ली प्रहरीले शुक्रवार भण्डारीलाई सार्वजनिक गरेको हो । सोधपुछका क्रममा भण्डारीले आफू नेपाली चलचित्र 'उनको सम्झनामा' र टिभी सिरियल 'बक्र रेखा' को निर्माता भएको बताएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, दिल्लीका विभिन्न भागबाट भारतीयहरुले चोरी गरिएका गाडी उनले सस्तो मूल्यमा किनेर नेपालमा बेच्ने गर्थे । काठमाडौंका ४५ वर्षे भण्डारीले नेपाल भारत सीमानाको विभिन्न विन्दुमा आफ्ना भारतीय सहयोगीहरुमार्फत गाडी बुझ्ने गरेको प्रहरीले जनायो । पूर्वी दिल्लीका डीसीपी प्रभाकरले भण्डारी जाली भारतीय नोटको कारोवारमा समेत संलग्न भएको बताए । भण्डारीको साथबाट आठ हजार रुपियां बराबरको पांच सयका जाली नोट तथा चोरीको अल्टो गाडी पनि बरामद गरिएको बताइएको छ ।
'भारतीय चोरीका गाडी खरिद गर्दा गंगाले ७५ प्रतिशत सक्कली र बांकी जाली नोट दिने गरेको भेटियो । यस्तो अनौठो उपाय अपनाएर उसले ठूलो फाइदा गरेको देखियो,' प्रभाकरले सञ्चारकर्मीहरुलाई भने ।
१६ वर्षयता चोरीका गाडी किनबेचको धन्दामा लागेको बताइएका भण्डारीले उक्त अवधिमा ७५० वटासम्म गाडी नेपालमा बेचेको प्रहरीले जानकारी दियो ।
'गंगाले भन्सार कार्यालयमा जरिवाना तिरेर र कहिलेकांही जाली कागजातका आधारमा नाका नकटाउने गरेको पाइयो । त्यसमा नेपाली भन्सार अधिकारीहरुको पनि सहयोग रहेको अनुसन्धानबाट देखिएको छ ,' प्रभाकरले भने ।
उनले पजेरो, टोयोटा जस्ता कम्पनीको गाडी ८० देखि ९५ हजार भारतीय रुपियांमा खरिद गरी नेपालमा मोटो रकममा बेच्ने गरेको प्रहरीले जनाएको छ । यसैगरी सान्ट्रो, वागन आर जस्ता गाडीको ४० देखि ४५ हजार, इस्टिम तथा होण्डाको ५५ देखि ६० हजार, स्कोरपियो, बोलेरो, सुमो तथा क्वालिसको ५५ देखि ६५ हजार र मारुती कार तथा भ्यानको २५ देखि ३० हजार उनले तिर्ने गर्थे ।
यसअघि पनि भण्डारी दिल्लीमा विभिन्न आरोपमा पक्राउ हुनुका साथै जेल समेत परेका थिए । पछि धरौटीमा रिहा भएका भण्डारी मुद्दाको सुनुवाईका लागि हाजिर समेत भएनन् । ३५ वर्षअघि दिल्ली आएका भण्डारी दिल्लीस्थित विभिन्न होटलमा काम गरेको केही वर्षपछि आफ्नै रेष्टुरेन्ट खोल्न काठमाडौं फर्किएका थिए । द्धन्द्ध चर्केपछि रेष्टुरेन्ट व्यवसाय त्यागेका भण्डारी गुरुमुख सिंह भन्ने भारतीय नागरिकको सम्पर्कमा आइ गाडी किनबेचको धन्दामा लागेका थिए । पछि जाली नोट कारोवारको आरोपमा विहार प्रहरीले पक्राउ गरेका सिंह तीन वर्षअघि कोशीमा बाढी आएका बेला जेलबाट भागेका थिए ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page