दाङ, मंसिर २५- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादीले कब्जा गरेको सम्पत्ति फिर्ता नहुँदासम्म संविधान बन्न नदिने बताएका छन्। शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण पाटो कब्जा सम्पत्ति फिर्ता भएको बताउँदै देउवाले त्यो फिर्ता नहुँदासम्म शान्ति प्रक्रिया नटुङि्गने र संविधान पनि नबन्ने ठोकुवा गरे।
आइतबार पश्चिम दाङमा जुटेका हज्जारौं कांग्रेस कार्यकर्ताहरुलाई सम्बोधन गर्दै देउवाले भने 'कब्जा गरिएका घरसम्पत्ति फिर्ता नहुँदासम्म न शान्ति प्रक्रिया टुङि्गन्छ न संविधान बन्छ।' देउवाले अब नेपाली कांग्रेसले सम्पत्ति फिर्ताप्रकरणलाई देशव्यापीरुपमा अभियानै बनाएर लैजाने पनि बताए। 'सहमति गरेपछि त्यसको कार्यान्वयन पनि गर्नुपर्छ' देउवाले भने 'तर अहिलेसम्म कार्यान्वयन भएको छैन, अब नेपाली कांग्रेसले सम्पत्ति फिर्ता अभियानलाई देशव्यापी रुपमा लैजान्छ, प्रहरी प्रशासन जे जे गरेर हुन्छ, सम्पत्ति फिर्ता हुन्छ।' उनले सम्पत्ति फिर्ता नभएसम्म नेपाली कांग्रेसले संविधान निर्माणको निर्णयक प्रक्रिया नै अघि बढ्न नदिने पनि बताए।
'हाम्रा नेता कार्यकर्ताहरुको सम्पत्ति कब्जामा छाडेर संविधान बन्दैन, हामी त्यस्तो हुन दिन्नौँ' सभामा उनलाई सुनिरहेका हज्जारौं कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने 'पहिला सम्पत्ति फिर्ता हुनुपर्छ अनिमात्रै संविधान निर्माण र शान्ति प्रक्रिया अघि बढ्छ।' उनले शान्ति प्रक्रिया टुङि्गनका लागि पहिला माओवादीका शिविरहरु खाली हुनुपर्ने धारणा पनि राखे। 'माओवादीका लडाकुहरुलाई व्यवस्थित गरेर, शिविर खाली गर्नुपर्छ, हतियारविहीन हुनपर्छ अनिमात्रै शान्ति प्रक्रिया टुङि्गनसक्छ' देउवाले भने।
नेपाली कांग्रेस दाङको क्षेत्र नं. ४ ले आयोजना गरेको क्षेत्रिय नेता कार्यकर्ता प्रशिक्षण भेलाको उद्घाटन गर्दै देउवाले सम्पत्ति फिर्ता हुनेमा ढुक्क रहन आफ्ना कार्यकर्ताहरुलाई आश्वस्त पारे। यसअघि शनिवार साँझमात्रै पत्रकारसिग आफ्नै नेतृत्वमा सरकार बन्ने दावी गरेको देउवाले सार्वजनिक सभामा भने त्यसबारे केही भनेनन्। करिब ५ मीनेटको सम्बोधनका क्रममा देउवाले अधिकांश समय कार्यकर्तालाई आश्स्त पारेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्ने अन्य केन्द्रीय नेताहरुले पनि सम्पत्ति फिर्ताको कुरालाई जोडतोडका साथ उठाएका थिए। प्रशिक्षण कार्यक्रममा पूर्व गृहमन्त्री खुमबहादुर खड्काले नेपाली कांग्रेससँग पनि थुप्रै युवाशक्ति भएको भन्दै पार्टीले निर्णय गरेमा माओवादी केही बेरमै 'ठेगान' लगाइदिने बताए।'पार्टीको निर्णयको कमी छ' उने भने 'हाम्रो युवाशक्ति पनि कम छैन, पार्टीले निर्णय देओस् माओवादीलाई कसरी ठेगान लगाउनुपर्छ हामीले जान्याछौँ अनि कब्जा गरिएका सम्पत्ति कसरी फिर्ता हुन्छ त्यो दुई दिनमै थाहा हुन्छ।' केन्द्रीय सदस्य, मनमोहन भट्राई, बालकृष्ण खाँड, दिपक गिरी र पुष्पा भुषाललगायतले पनि माओवादीको कब्जा जग्गा फुकुवा गर्नका लागि अब पार्टीको केन्द्रियस्तरबाटै अभियान चलाइनुपर्नेमा जोड दिए।
सभालाई सुन्नका लागि गाउँगाउँबाट नेपाली कांग्रेसका हज्जारौं कार्यकर्ता सभास्थलमा जम्मा भएका थिए। ती कार्यकर्तालाई कांग्रेसका केन्द्रीय नेताहरुले प्रशिक्षण दिनेछन्। जिल्लामा नेपाली कांग्रेसले प्रत्येक निर्वाचन क्षेत्रमा यस्ता प्रशिक्षण चलाउँदै आएको छ।