सुडान घोटालाका मुख्य आरोपी भारती फेरि थुनामा

प्रहरीलाई हातपात गरेको अभियोग-

काठमाडौँ, माघ ४- सुडान घोटालाका मुख्य आरोपी ठेकेदार शम्भु भारती फेरि थुनामा परेका छन्, तर अलग्गै कसुरमा। आज उनी प्रहरीलाई हातपात गरेको आरोपमा थुनामा पुगेका छन्। 
  सई हरेराम अधिकारीको  कमान्डमा अनामनगरमा नियमित चेकजाँच गर्ने क्रममा गाडीबाट उत्रेर पाँच प्रहरीमाथि दुर्व्यहार गरेको आरोप उनीमाथि लगाइएको छ। उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा थुनामा राखिएको छ। 

'नियमित चेकजाँचमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेकोले सार्वजनिक अपराध ऐन अन्तर्गत अनुसन्धानका ला‍गि उहाँलाई नियन्त्रणमा लिएका हौँ', परिसरका डीएसपी धीरजप्रताप सिंहले नागरिकन्युजलाई बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि आजै छ दिनको म्याद लिइसकिएको छ।  

भारती सुरक्षा निकायमा  हतियार एवं बन्दोबस्तीका सामग्री खरिदको ठेक्कापट्टामा संलग्न  व्यापारी हुन्। सुडानको डार्फरमा खटिएको शान्तिरक्षक नेपाल प्रहरीको टोलीलाई  अस्योर्ड रिस्क कम्पनीमार्फत् किनिएका गरिएका आर्मर्ड पर्सनल क्यारयिर (एपीसी) काम नलाग्ने देखिएपछि यो प्रकरणमा भ्रष्टाचार भएको खुलासा भएको हो।  प्रहरीले ती एपीसी अस्योर्ड रिस्क कम्पनीको स्थानीय प्रतिनिधि भगवती ट्रेडर्समार्फत् खरिद गरेको हो। भारती भगवती ट्रेडर्सका प्रोपाइटर हुन्। 

अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनीसँग मागेको १५ करोड रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनी गत साउनमा डिल्लीबजारको सदरखोरमा केही दिन थुनामा रहेका थिए।  पछि उनी सिभिल बैंकको ९ करोड र सिद्धार्थ बैंकको ६ करोड जमानी राखेर रिहा भएका थिए। तर गत पुस १२ मा सर्वोच्च अदालतले उनको धरौटी रकम १४ करोड २० लाख घटाइदिएको थियो। सर्वोच्चका न्यायाधीशद्वय ताहिर अली अन्सारी र ज्ञानेन्द्रबहादुर कार्कीको इजलासले उनलाई ८० लाख रुपैयाँमात्रै धरौटी तिरे पुग्ने फैसला गरेको थियो। 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page