२० माघ, हेटौंडा । एकीकृत नेकपा माओवादीको महाधिवेशनमा सत्तारुढ र विपक्षी दलका नेताहरुले आआफ्नै पारामा शुभकामना दिए । यति ठूलो सभामा यसअघि कहिल्यै बोल्न नपाएका केही साना दलका नेताहरुको अभिव्यक्ति हाँसोलाग्दा पनि थिए । प्रहरीको फरारसूचीमा रहेका जनता दलका अध्यक्ष हरिचरण साहले आफ्नो पार्टीकी गायत्री साहलाई कांग्रेस, एमाले लगायत परम्परागत शक्तिहरुले षडयन्त्र गरेको भन्दै उनलाई छुटाउन एमाओवादीसँग आग्रह गर्नुभयो । उहाँले आफूहरु माओवादीसँग काँधमा काँध मिलाएर अघि बढेका कारण परम्परागत शक्ति पछाडि हटेको दावी समेत गर्न भ्याउनुभयो । रातो पासपोर्ट बेच्न छोरीलाई सहयोग गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेपछि साह प्रहरीको फरार सूचीमा छन् । साह प्रधानमन्त्रीसँगै मञ्चमा बसेर माओवादीलाई शुभकामना दिइरहेको दृश्य हेर्न लायक थियो । झुप्प दाह्री पालेर छत्रे टोपीसहित पुगेका साहले संवोधन गरेका थिए ।
दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले संविधान बनाउन नसकेकोमा आफू लगायतका सबै ३२ दलका नेतालाई नालायक भन्नुभयो । ‘सबै नालायकमध्ये म पनि एक हुँ’ उहाँले भन्नुभयो ।
सत्तारुढ दलमध्येकै परिवारका दलका अध्यक्ष एकनाथ ढकालले विपक्षी दलहरुलाई समेत एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिनुभयो । ‘बिभिन्न राजनीतिक दलहरु रड, सिमेन्टको रुपमा छरिएर रहेका छन्, उनीहरुलाई एक ठाउँमा ल्याएर संघीय लोकतान्त्रिक गणतन्त्रको निर्माण गर्न एमाओवादीले भूमिका खेल्नुपर्छ’ उहाँले भन्नुभयो ।
राष्ट्रिय सद्भावना पार्टीका रामनरेश साहको भाषण झन् निकै हाँसोलाग्दो थियो । कहिले हिन्दी र कहिले नेपाली भाषामा बोलेर उहाँले विपक्षी पार्टीहरुको कारण संविधान बन्न नसकेको बताउनुभयो । हिन्दी फिल्मका नानापाटेकरको उदाहरण दिँदै उहाँले भन्नुभयो-’एक मच्छडले आद्मी बिगारेजस्तो भयो ।’
संघीय समाजवादी पार्टीका बीरबहादुर लामाले मञ्चमा रहेका कांग्रेस नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष बामदेव गौतमलाई व्यंग्य गर्दै उनीहरुकै कारण संघीयता सहितको संविधान बन्न नसकेको आरोप लगाउनुभयो । उहाँले मकवानपुरलाई लोडसेडिङमुक्त जिल्ला घोषणा गर्न पनि माग गर्नुभयो ।