भाजपाका नेपाली शुभेच्छुक

काठमाडौं, जेष्ठ १७ - स्पष्ट बहुमतसहित सत्ताको भर्‍याङ उक्लेको भारतीय जनता पार्टी (भाजपा) का नेता/कार्यकर्ता नयाँ नियुक्ति र रणनीति तयार गर्न व्यस्त बन्नु स्वाभाविकै हो । तर, त्यस्तो व्यस्तता भारतमा मात्र सीमित छैन, दसगजा नाघेर नेपालमा पनि सुरु भएको छ ।
नेपालमा भाजपाका शुभेच्छुकहरूको संस्था 'ओभरसिज फ्रेन्ड्स अफ बीजेपी' को च्याप्टर नै छ । त्यसकी प्रमुख (कन्भेनर) हुन्, नलिनी ज्ञवाली । २०६९ भदौ ६ देखि उनी नेपालमा भाजपाको आधिकारिक व्यक्तिका रूपमा कार्यरत छिन् । नेपालका शीर्ष नेतालाई भाजपा नेताहरूसँग संवाद र भेटघाट गराउन उनको व्यस्तता बढेको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सक स्व. कमल ज्ञवालीकी पत्नी नलिनी भारतको विहार, रामनगरमा बस्ने नेपाली मूलका पौडेल परिवारकी छोरी हुन् । कांग्रेसकी नेतृ स्व. नोना कोइराला, राप्रपा नेता स्व. रवीन्द्रनाथ शर्माकी पत्नी सरोज, बीपी कोइरालाका पुत्र प्रकाश-पत्नी सुष्माकी बहिनी हुन् । उनका माहिला दाजु राजीव कुमारले भारतीय प्रधानमन्त्री कार्यालयको सचिव पदबाट हालै अवकाश पाएका छन् ।
भाजपासँग नलिनीको सम्बन्ध भारतीय माध्यमबाट नभई तत्कालीन कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाका कारण सम्भव भएको हो । कोइराला आफ्नो निजी/सरकारी निवासमा सीमित थिएनन् । उनी कतिपय बैठकथलो अन्यत्र पनि बनाउँथे । तीमध्ये नक्सालस्थित नलिनीको घर पनि एक थियो, जहाँ अन्य दलका शीर्ष नेतासहित भारतबाट आउने प्रभावशाली पाहुनासँग पनि कोइराला भेटघाटको चाँजो मिलाउँथे ।
नलिनीका अनुसार, त्यसै क्रममा गिरिजाप्रसादलाई भेट्न आफ्ना घरमा आएका भाजपा नेता अजित कुमारसँग उनको चिनजान भयो । अजित तिनै नेता हुन्, जो अहिले भाजपा मुख्यालयमा 'नेपाल सेल' प्रमुख छन् । उनीमार्फत् नै पार्टी अध्यक्ष राजनाथ सिंह, विदेश विभाग प्रमुख विजय जोली, भगतसिंह कोसियारी, सुमित्रा महाजनलगायतका नेतासँग नलिनीको परिचय स्थापित भएको हो । भेटघाट बाक्लिँदै जाँदा उनलाई 'प|mेन्ड्स अफ बीजेपी' को नेपाल प्रमुख बनाइयो ।
'नेताहरूसँग भेटघाटका क्रममा मलाई भाजपाको नीति मन पर्‍यो र काम गर्न राजी भएँ,' नलिनी भन्छिन्, 'बहुमतसहित सत्तामा पुग्नु अघिदेखि नै भाजपाले छिमेकीहरूसँग सम्बन्ध राम्रो बनाउन थालेको प्रयासले मलाई अझै उत्साहित बनाएको छ ।' भाजपाका नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बनेपछि अहिले उनको उत्साह अरू बढेको छ । 'कंग्रेस आईको सरकार कर्मचारीतन्त्रमा निर्भर देखिन्थ्यो, भाजपा नेताहरूले राजनीतिक र व्यक्तिगत सम्बन्धमा जोड दिइरहेका छन्,' उनले थपिन् ।
शृंखलाबद्ध आदानप्रदान
गिरिजाप्रसाद कोइरालाको शवयात्रामा भाजपा अध्यक्ष राजनाथ सिंह र विदेश विभाग प्रमुख विजय जोली काठमाडौं आउने व्यवस्थापन नलिनीले नै मिलाएकी थिइन् । उनकै पहलमा ०६९ जेठ ५ मा भाजपा नेता तथा उत्तराखण्ड राज्यका पूर्वमुख्यमन्त्री भगतसिंह कोसियारी चारदिने नेपाल भ्रमणमा आए । त्यही वर्ष मंसिर २९ मा नयाँदिल्लीमा नेपाल सहयोग मञ्चको संयोजनमा सम्पन्न विचार गोष्ठीमा राप्रपा नेता प्रकाशचन्द्र लोहनीलगायत नेपाली नेता र विज्ञ सहभागी भए । त्यसको उद्घाटन भाजपा अध्यक्ष सिंहले गरेका थिए ।
त्यसको 'फलोअप' कार्यक्रम ०७० साउन १५ मा काठमाडौंमा गरिएको थियो । अजित कुमार र अखिल भारतीय विद्यार्थी परिषद् -एबीबीपी) का राष्ट्रिय संगठन मन्त्री सुनिल अम्बेडकर आएका थिए । त्यसमा सीपी मैनाली, लक्ष्मण घिमिरेलगायत नेपाली नेता सहभागी थिए । ०७० भदौ ७ मा भाजपा नेता रविशंकर प्रसाद 'गणतन्त्र नेपाल : सम्भावित आशा र क्षेत्र' विषयक विचार गोष्ठीमा भाग लिन काठमाडौं आए । रामशरण महत, प्रदीप ज्ञवाली, प्रकाशचन्द्र लोहनीलगायत नेपाली नेता त्यसमा सहभागी थिए । ०७० पुस २२ मा नयाँदिल्लीमा सम्पन्न गैरआवासीय भारतीय र ओभरसिज फ्रेन्ड्स अफ बीजेपीको संयुक्त कार्यक्रममा समेत नेपालबाट सहभागिता थियो ।
काठमाडौं स्टडी ग्रुप र दिल्ली स्टडी ग्रुपले पनि समन्वयकारी भूमिका खेलेको छ । दिल्ली स्टडी ग्रुपका अध्यक्ष विजय जोली हुन्, काठमाडौं ग्रुपको अध्यक्ष कांग्रेस नेता सुरेश मल्ल छन् भने महासचिव नलिनी ज्ञवाली । 'गिरिजाप्रसाद कोइरालाको निधनअघिसम्म दुई देशका नेताहरूबीच व्यक्तिगत सम्पर्क/सम्बन्ध थियो, अहिले रिक्तता देखिएको छ,' नलिनी भन्छिन्, 'त्यसलाई पूर्ति गर्ने प्रयास भाजपाले गरिरहेको्द्य छ ।'
हिन्दुवादी सक्रियता
हिन्दु राष्ट्रवादमा आधारित राजनीति गर्दै आएको भाजपाको यसपटक भारतीय संसद्मा भएको विजय भलै आर्थिक विकासको कार्यसूचीका कारण सम्भव भएको होस्, त्यसलाई नेपालमा भने धार्मिक संघ/संगठनले उज्यालो भविष्यका रूपमा हेरेका छन् । नेपालका हिन्दुवादी संगठनहरू दुई धारमा विभाजित देखिन्छन् । एकथरी राजतन्त्रबिनाको गणतान्त्रिक हिन्दु राष्ट्रको वकालत गर्छन् भने अर्काथरी राजासहितको । पहिलो प्रकारका हिन्दुवादीको नेतृत्व हिन्दु स्वयंसेवक संघले गर्छ भने दोस्रो थरीकालाई विश्व हिन्दु महासंघले ।
स्वयंसेवक संघका राष्ट्रिय कार्यवाह (महासचिव) मुरली निरौलाका भनाइमा यो ०४८ सालमा गैरसरकारी संस्थाका रूपमा स्थापित हिन्दुवादी सामाजिक र सांस्कृतिक संस्था हो । उनको भनाइ जे भए पनि भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) शैलीकै संगठन र पद्धति मात्र नभई सीधा सम्पर्क र सम्बन्धका हिसाबले खोलिएको त्यसको शाखा नै हो यो । आरएसएस भाजपाको मातृसंगठन हो । अर्थात् हिन्दु स्वयंसेवक संघ पनि नेपालमा भाजपाका शुभेच्छुक संघसंस्थाको मातृसंगठन हो ।
०४८ सालमा आरएसएसले खटाएका प्रचारक ओमप्रकाश गर्गको पहलमा स्वयंसेवक संघ स्थापना गरिएको हो । त्यतिबेला सात जनाको समिति बनाएर काठमाडौं जिल्ला प्रशासन र समाजकल्याण परिषद्मा यसलाई दर्ता गरिएको थियो । नयाँदिल्लीका बासिन्दा गर्ग नेपालमा करिब १८ वर्ष बसे । उनको सहायकका रूपमा सुबेदारजी नामका अर्का प्रचारक पनि आए, जसले नेपालमा १३ वर्ष बिताए । अहिले भारतीय नागरिक वेद प्रकाश संघका राष्ट्रिय प्रचारक हुन् भने रेवितकुमार राजपुत सहराष्ट्रिय प्रचारक । काठमाडौं गौरीघाटमा संघको केन्द्रीय कार्यालय छ, जसलाई केशव धाम भनिन्छ । ०६३ चैत १० मा टुँडिखेलमा देशभरका स्वयंसेवकहरूको भेला आयोजना गरिएको थियो । करिब ५ हजार स्वयंसेवक सहभागी उक्त भेलाका प्रमुख अतिथि आरएसएसका अध्यक्ष मोहन भागवत थिए ।
हिन्दु स्वयंसेवक संघ हाल प्रत्यक्ष/अप्रत्यक्ष रूपमा ६५ जिल्लामा सक्रिय छ । पूर्व, मध्य र पश्चिम गरी तीनवटा विभाग छन् । पूर्वमा मेची, कोसी, सगरमाथा र जनकपुर अञ्चलका जिल्ला समेटिएका छन् । मध्यमा नारायणी, वाग्मती, गण्डकी र लुम्बिनीका जिल्ला छन् । भेरी, धौलागिरि, कणर्ाली, सेती, महाकाली र राप्ती अञ्चलका जिल्ला पश्चिम विभागअन्तर्गत पर्छन् । नगर, निर्वाचन क्षेत्र, जिल्ला, अञ्चल र राष्ट्रिय समिति गठन भएका छन् । वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी, विराटनगर, जनकपुर, पोखरा र काठमाडौं संघका गतिविधि बढी केन्दि्रत भएका सहर हुन् । विस्तारक र प्रचारक गरी ०६४/६५ सालसम्म ४२ जना सक्रिय थिए । हिन्दुवादी राजतन्त्रको पतनपछि धेरैले छाडे, अहिले १६ जना मात्र क्रियाशील छन् ।
संगठन प्रमुख अर्थात् संघ चालक हेम शर्मा आचार्य हुन् । आचार्य भैरहवाका व्यापारी र सामाजिक कार्यकर्ता हुन् । उनी १० वर्षदेखि संघ चालकको भूमिकामा छन् । नेपाल-भारत दुवैतिर उच्च पहुँच हुने भएकाले संघ चालकलाई शक्तिशाली मानिन्छ । शक्ति सन्तुलन मिलाउन सक्ने क्षमताको संघ चालकले दुवै देशको नीति निर्माण तहमा सीधा प्रभाव पार्न सक्छ । तेह्रथुमको खाम्लालुङ पुख्र्यौली थलो भएका निरौला राष्ट्रिय कार्यवाह बनेको एक महिना मात्र भयो । उनले १६ वर्षसम्म प्रचारकका रूपमा स्वयंसेवा गरेका थिए । राष्ट्रिय कार्यवाह बन्नुअघि उनी बौद्धिक फाँट प्रमुख थिए । उनी काठमाडौंको टेकुमा ओम शिव सप्लायर्स चलाएर बसेका छन्, प्लास्टिकका सामानको व्यापार गर्छन् ।
प्राज्ञिक विद्यार्थी परिषद्, पशुपति शिक्षा प्रचार समिति, विश्व संवाद केन्द्र, हिन्दु स्वयंसेविका समिति, राष्ट्रिय श्रमिक संगठन र जनजाति कल्याण आश्रम त्यसअन्तर्गतका संघसंस्था हुन् । संवाद केन्द्रले 'हिमाल दृष्टि' नामक पाक्षिक पत्रिका प्रकाशन गर्छ । किसान र मजदुर क्षेत्रमा श्रमिक संगठन क्रियाशील छ । आश्रमले काठमाडौं मूलपानी, विराटनगर, जनकपुर, धनगढी र नेपालगन्जमा छात्रावास सञ्चालन गरेको छ । सबैमा गरी ८६ विद्यार्थी आश्रति छन् । कक्षा ३ देखि एसएलसी उत्तीर्ण गरुन्जेल उनीहरूलाई निःशुल्क बास र अध्ययनको सुविधा उपलब्ध गराइन्छ । छात्रावासमा रहेका विद्यार्थीलाई अतिरिक्त समय मिलाएर हिन्दुत्वबारे प्रशिक्षित गरिन्छ ।
नेपालमा इसाई धर्मान्तरण व्यापक रूपमा भएको भन्नेमा स्वयंसेवक संघ बढी चनाखो देखिन्छ । यसले संयुक्त धर्म अभियान सञ्चालन गरेर त्यसलाई 'चेक एन्ड ब्यालेन्स' को प्रयास पनि नगरेको होइन । तर, इसाई अगुवाको असहयोगका कारण सफल नभएको संघको भनाइ छ ।
संघ सञ्चालनको मुख्य आर्थिक आधार 'गुरु दक्षिणा' हो । हरेक वर्ष देशका विभिन्न स्थानमा रहेका शाखामा आर्थिक सहयोग उठाइन्छ, जसलाई 'गुरु दक्षिणा' नाम दिइएको छ । स्वयंसेवकहरूको बाक्लो उपस्थिति भएका क्षेत्रमा यसरी आर्थिक सहयोग उठाइने गरेको संघका एक पूर्वपदाधिकारीले बताए । उनका अनुसार हरेक वर्ष १५ देखि १६ लाख रकम उठ्छ । त्यसैबाट वर्षभरिका गतिविधि सञ्चालन हुन्छन् ।
नेपालका हिन्दुवादी संघसंस्थाले भने संघको गतिविधिलाई सहज रूपमा लिएको पाइँदैन । खासगरी संघ र त्यसमातहतका संगठनमा भारतीय नागरिकको उपस्थितिलाई उनीहरूले असहज मानेका हुन् । 'नेपालमा गतिविधि गर्न भारतीय नागरिक सक्रिय हुनु राम्रो कुरा होइन,' एक हिन्दुवादी संस्थाका पदाधिकारीले टिप्पणी गरे, 'आध्यात्मिक आवरणमा भारतीय राजनीतिक संगठनहरूको चलखेलले नेपालको राष्ट्रिय ्द्यहित प्रवर्द्धन्द्य गर्दैन ।'
युवालाई तालिम
हिन्दु धर्म प्रचारका लागि स्वयंसेवक उत्पादन गर्नु हिन्दु स्वयंसेवक संघको मुख्य उद्देश्य हो, जसलाई संघका नेता/कार्यकर्ताले 'व्यक्ति निर्माण' भन्छन् । युवा पुस्तालाई बन्द शिविरमा राखेर ७ र २१ दिने तालिम दिइन्छ । ७ दिने तालिमलाई इन्ट्रोडक्टरी ट्रेनिङ कोर्स (आईटीसी) भनिन्छ । आईटीसी तालिममा हिन्दु धर्मसम्बन्धी सामान्य प्रशिक्षण मात्र दिइन्छ । त्यसपछि दिइने अर्डिनरी ट्रेनिङ कोर्स (ओटीसी) भने ३ चरण -वर्ष) को हुन्छ ।
२१ दिनसम्म चल्ने ओटीसीको पहिलो चरण नेपालमै सञ्चालन हुन्छ । जस्तो, जेठ १७ देखि भैरहवा नजिक पहिलो चरणको ओटीसी तालिम सञ्चालन गरिँदै छ । त्यसमा करिब डेढ सय विद्यार्थी सहभागी हुने स्रोतले जनाएको छ । दोस्रो चरण भने गोरखपुर, लखनउलगायत सिमाना नजिकका भारतीय सहरमा सञ्चालन हुन्छ । तेस्रो चरण एक महिनाको हुन्छ, जुन भारत नागपुरस्थित आरएसएस मुख्यालयमै सञ्चालन गरिन्छ । हरेक चरण पार गरेपछि कम्तीमा २ वर्ष गाउँ/नगरमा हिन्दु धर्म प्रचारकको भूमिका निर्वाह गर्नैपर्छ । पहिलो तालिमपछि आफूले इच्छाएका क्षेत्रमा गएर संघको पूर्णकालीन कार्यकर्ता बन्नुपर्छ । त्यसरी कार्यकर्ता हुने युवा अविवाहित हुनुपर्ने नियम छ । सुरुमा विस्तारक र त्यसपछि प्रचारकको दर्जा दिइन्छ । तालिम क्रममा आध्यात्मिक र सैद्धान्तिक मात्र नभई शारीरिक प्रशिक्षण पनि दिने गरिएको छ ।
हरेक वर्ष ६ सयसम्म युवाले विभिन्न चरणका तालिम पाइरहेका हुन्छन् । एक पूर्वस्वयंसेवकका अनुसार अहिले देशभर करिब १६ हजार यु्द्यवाले यस्तो तालिम पाइसके्द्यका छन् ।
शुभेच्छुक विद्यार्थी संगठन पनि
प्राज्ञिक विद्यार्थी परिषद्को अखिल भारतीय विद्यार्थी परिषद् -एबीबीपी) सँग सीधा सम्बन्ध छ । संघ परिवारका तीन दर्जन संघ/संगठनमध्ये एबीबीपी पनि एक हो । संघ परिवारका सबै संघसंस्थाले आफ्नो आदर्श संगठन आरएसएसलाई मान्छन् । त्यस हिसाबले एबीबीपी भाजपाको शुभेच्छुक संगठन हो । प्राज्ञिक विद्यार्थी परिषद्ले पनि आफूलाई भाजपाको शुभेच्छुक संगठन नै मान्छ । एबीबीपी आरएसएसकै 'स्कुल अफ थट' को संगठन हो तर भ्रातृ संस्था होइन । आरएसएस र भाजपाका अधिकांश प्रचारक, नेता र कार्यकर्ता विद्यार्थी जीवनमा एबीबीपीमा आबद्ध व्यक्ति छन् ।
प्राज्ञिक विद्यार्थी परिषद्का केन्द्रीय सचिव दीपक अधिकारीका अनुसार जिल्ला र नगर समिति गरी हालसम्म ६५ वटा इकाई गठन भएका छन्, २ सय ५० कलेजमा शाखा विस्तार गरिएको छ । डिल्लीबजारको चारखाल अड्डानजिक परिषद्को केन्द्रीय कार्यालय छ ।
अधिकारीका अनुसार एबीबीपीसँग परिषद्को मित्रवत् सम्बन्ध मात्र हो । 'दुई देशका विद्यार्थीबीच आदानप्रदानका कार्यक्रम सञ्चालन गर्दै आएका छौं,' उनले भने, 'राजनीतिक दलका भ्रातृ संगठनबीच यस्तो आदानप्रदान हुनसके दुवै देशलाई दीर्घकालीन फाइदा हुन सक्छ ।' कांग्रेस र एमाले निकटस्थ विद्यार्थी संगठनहरूले यसतर्फ समय-समयमा चासो देखाए पनि व्यवहारमा उतार्न तत्परता देखाउन नसकेको अधिकारीले बताए ।
हिन्दु स्वयंसेवक संघका एक पूर्वपदाधिकारीको भनाइमा भारतको आर्थिक विकासबाट फाइदा लिन नेपालले राजनीतिक स्थिरता, शान्ति र विकासलाई त्रिशूलका रूपमा उपयोग गर्नुपर्छ । 'नेपाल-भारत दुवै एकआपसमा वैमनस्य गरेर कहीँ पुग्दैनन्,' उनले थपे, 'अझ, नेपाललाई त भारत्द्यसँग टाढा हुँदाभन्दा न्द्यजिकिँदा बढी फाइदा छ ।'
राजावादी शुभेच्छुक
आरएसएसकै पहलमा स्थापित विश्व हिन्दु महासंघ भने संघ परिवार र भाजपाबाट केही टाढा पुगेको छ । नेपालका ७५ वटै जिल्लामा सञ्जाल र ४६ मुलुकमा शाखा रहेको महासंघलाई आरएसएस र भाजपासँग जोड्ने काम गोरखपुरस्थित गोरक्षनाथ पीठका पीठाधीश योगी आदित्यनाथले गरिरहेका छन् । उनी महासंघको अन्तर्राष्ट्रिय उपाध्यक्ष र भारत शाखा अध्यक्ष हुन् ।
आरएसएस र भाजपासँग महासंघको दूरीको मुख्य कारण नेपालको तत्कालीन राजतन्त्र हो । त्यसको अन्त्यपछि पनि महासंघले साथ छाडेको छैन भने आरएसएस र भाजपाले लोकतन्त्रवादी दलहरूसँग गठिलो सम्बन्ध बनाउँदै लगेका छन् । महासंघले नेपाल शाखाका मधेस विभाग प्रमुख किशोरी महतो नेतृत्वमा राजनीतिक दल स्थापना गराएको छ । उनी नेतृत्वको लोककल्याणकारी जनता पार्टीले गत संविधानसभा निर्वाचन बहिष्कार गरेको थियो । उक्त पार्टीले ०४७ सालको संविधान पुनः स्थापना अभियान चलाउँदै आएको छ तर खासै प्रभावकारी छैन । महासंघसँग करिब १ सय वटा हिन्दुवादी संघसंस्था आबद्ध छन् ।
भाजपा र आरएसएससँग महासंघका जति पनि भेटघाट र छलफल हुन्छन्, प्रायः योगी आदित्यनाथले संयोजन गर्छन् । फ्रेन्ड्स अफ बीजेपी ओभरसिज र गैरआवासीय भारतीयको संयुक्त कार्यक्रममा भाजपाले महासंघलाई पनि आमन्त्रण गर्न छुटाएको थिएन । त्यस हिसाबले महासंघसँग भाजपाको सम्बन्ध न नजिक न टाढाको जस्तो छ । महासंघले हिन्दुवादी संघसंस्थालाई सहयोग र समर्थन गर्दै आएको छ, भाजपाले नेपाल हिन्दु राष्ट्र बन्नुपर्छ भन्ने आग्रह राख्छ । यी दुईको मिलनबिन्दु पनि त्यही हो । 


Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page