१८ जेठ, काठमाडौं । नेपाल घुम्न आएका तथा विभिन्न पेसा/व्यवसायमा आबद्ध विदेशी नागरिकलाई निगरानी राख्न अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा चीन र भारतसँग सीमा जोडिएका ८ स्थानमा ‘डेटा सेन्टर’ खोलेको छ । कोदारी (सिन्धुपाल्चोक), काँकरभिट्टा, वीरगन्ज, मोहना (धनगढी), गड्डाचौकी -कैलाली) र विमानस्थलमा जेठ पहिलो सातादेखि सुरु भएका यी डेटा सेन्टरले विदेशी नागरिकका सबै तथ्यांक अद्यावधिक गर्नेछन् ।
डेटा सेन्टरका नियन्त्रण डिल्लीबजारस्थित अध्यागमन विभागका महानिर्देशकको कार्यकक्षमा रहनेछ । विभाग महानिर्देशक शरदचन्दै पौडेलका अनुसार डेटा सेन्टर स्थापनापछि हवाई र स्थलमार्ग हुँदै नेपाल आवतजावत गर्ने विदेशी नागरिकको हुलिया सहजै पत्ता लगाउन सकिनेछ । ‘राहदानीबाहक विदेशी नागरिकका गतिविधिलाई सहजै पहिचान गरी उनीहरु आएको/गएको विवरणलाई व्यवस्थित बनाउन हामीले हवाईमार्ग र अध्यागमन कार्यालय रहेका सीमा क्षेत्रमा डेटा सेन्टर खोलेका हौं,’ उनले भने-कारोबारमा खबर छ ।
यो प्रविधि प्रयोगमा ल्याउँदासम्म करिब २ करोड रुपैयाँ खर्च भइसकेको छ । यसबाहेक राहदानी तथा अन्य कागजपत्र सक्कली भए/नभएको पत्ता लगाउने ५६ लाख मूल्यका २ वटा उपकरण विमानस्थालमा जडान गर्ने तयारी छ । विमानस्थलमै जडान गर्ने तयारी छ । विमानस्थलमै जडान गरिने करिब ७० लाख रुपैयाँबराबरका अरु उपकरण नेपाल टेलिकमले उपलब्ध गराउने छ ।