६ असार काठमाडौं । चालू आर्थिक वर्षको जेठ महिनामा गत वर्षकोभन्दा १ सय १८ प्रतिशत बढी राजस्व असूली भएको छ ।
जेठ महिनासम्ममा १ खर्व १४ अर्व ५७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा १ खर्व १७ अर्व ४२ करोड असुली भएको आन्तरिक राजस्व बिभागले जनाएको छ । यो लक्ष्यभन्दा २ अर्व ८५ करोड रुपैयाँले बढी हो ।
शिर्षकगत रुपमा आयकर ६१ अर्व ६३ करोड, मूल्य अभिवृद्धि कर ३० अर्व ५७ करोड र अन्तःशुल्क २४ अर्व ४० करोड रुपैयाँ असुली भएको छ । सो रकम गत वर्षको तुलनामा आयकरतर्फ १ सय १३ प्रतिशत, मुल्य अभिवृद्धि करतर्फ १२१ प्रतिशत र अन्तशुल्क तर्फ १२९ प्रतिशतले बढी हो ।
त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ३९ करोड ७३ लाख र ४१ करोड ८६ लाख रुपैयाँ असुली भएको छ । यसरी शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा १ सय ४४ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा १ सय ३१ प्रतिशतले बढी संकलन भएको हो ।
विभागका महानिर्देशक टंकमणि शर्माले लक्ष्यभन्दा बढी राजस्व असुल भएकोमा तत्काल सन्तोष भए पनि दीर्घकालमा राजस्व संरक्षणमा लाग्न सवै कर्मचारीलाई निर्देशन दिए । वहाल आय आर्जन गरी वहालकर नबुझाउने व्यक्तिहरुलाई करको दायरामा ल्याउन यही असार ९, १० र ११ गते स्थायी लेखा नम्बर जारी गर्ने, करदाता शिक्षा प्रदान गर्ने, कर रकम तथा विवरण बुझ्ने लगायतका विविध कार्यक्रम सञ्चालन गरी कर शिविर आयोजना गर्ने उनले जानकारी दिए । सो कर शिविरको नारा ‘समयमै वहालकर तिरौं, दण्ड जरिवानाबाट बचौं’ भन्ने छ ।
महानिर्देशक शर्माले आर्थिक वर्षको अन्तिम महिनामा कर परीक्षण, अनुसन्धनात्मक कारवाही तथा वक्यौता संकलनमा विशेष जोड दिएर तोकिएको राजस्वको लक्ष्य प्राप्ति गर्नमा सक्रीय भएर लाग्न निर्देशन दिए ।