कमजोर अनुसन्धानले अपराधी छुट्छ र प्रहरीको सुराकी गर्छ : प्रधानन्यायाधीश

६ असार, बनेपा । प्रधानन्यायाधीश दामोमरप्रसाद शर्माले प्रहरीको कमजोर अनुसन्धान प्रक्रियाका कारणले अपराधी छुटेर उसले प्रहरी र प्रजिअको सुराकी गर्ने गरेको बताएका छन् ।
महान्यायाधिवक्ता कार्यालयले धुलिखेलमा शुक्रबार आयोजना गरेको सरकारी वकिलहरुको केन्द्रीय वाषिर्क कार्य समीक्षा तथा अनुशिक्षणमा उनले भने-’प्रहरीले मुद्दा चलाउँछ, सरकारी वकिलले अभियोग लगाउँछ तर कमजोर अनुसन्धान प्रक्रियाका कारणले अपराधी छुट्छ र त्यसले प्रहरी र प्रमुख जिल्ला अधिकारीको सुराकी गर्छ ।’
उनले अदालतमा बजेट नियन्त्रण गर्न नहुनेमा जोड दिँदै सरकारी वकिलको सेवा सुविधामा सरकार लाचार भएको आरोप लगाए । ‘जहाँ अदालतले कानुनको व्याख्या गर्छ त्यहाँ सरकारले प्रतिरक्षा गर्नुहुँदैन’ प्रधानन्यायाधीश शर्माको भनाइ थियो ।
कानुन, न्याय, संविधानसभा र संसदीय मामिलामन्त्री नरहरि आचार्यले मुद्दा लडेपछि सरकार जित्न चाहन्छ भन्दै जित्ने चाहना राख्नु स्वभाविक भएको बताउनुभयो । उहाँले राज्यको पुनःसंरचना हुँदा सबै क्षेत्रको पुनःसंरचना हुनुपर्नेमा जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अनुसन्धान, अभियोजन र फैसला एकार्कासँग सम्बन्धित भएको बताउँदै एकीकृत र समन्वयात्मक भूमिकाबाट समस्याको समाधान हुने बताए । देशभर १६५ एकाइ प्रहरीले अपराध अनुसन्धान गरेको भन्दै उनले यसलाई अझै प्रभावकारी बनाउन वृद्धि गर्नुपर्ने बताए ।
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश रामकुमार साहले कतिपय मुद्दा कमजोर अनुसन्धान प्रक्रियाका कारण हारेकाले अनुसन्धान र अभियोजनलाई बलियो बनाउनुपर्ने बताए । महान्यायाधिवक्ता बाबुराम कुँवरले अदालतको मान्यतामा कुनै सम्झौता नहुने बताउँदै अदालतलाई बदनाम गर्ने कुनै काम गर्न नहशुने बताए । रासस

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page