भवन निर्माणमा नयाँ नियम, घर वरपर दुई रुख अनिवार्य


 चितवन जेठ २६,
भरतपुर नगरपालिकाले साउन १ गतेबाट लागू हुने गरी नयाँ बन्ने घर वरपर दुई वटा रुख अनिवार्य हुनुपर्ने नियम लागू गर्ने भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटाका अनुसार आगामी आर्थिक वर्षबाट लागू हुनेगरी यस्तो नियम बनाएको जानकारी दिनुभयो ।हरियाली नगरका लागि यस्तो अभियान जरूरत भएको उहाँको भनाइ छ । घर बनाउने क्षेत्र वरपर दुइै वटा रुख रोपिएको फोटो प्रमाणसहित नगरपालिकामा निवेदन दिएपछि मात्र नक्सा पास स्वीकृत गरिने कार्यकारी अधिकृत सापकोटाले बताउनुभयो । त्यस्तै आगामी आर्थिक वर्षबाट लागू हुनेगरी वातावरणमैत्री स्थानीय शासन लागू गरिने पनि उहाँले बताउनुभयो । भरतपुर नगरपालिकालाई एक वर्षभित्रमा देशकै नमुना सफा सहर बनाउने उद्देश्यले यस्तो नियम लागू गर्न लागिएको सापकोटाको भनाइ छ । ‘एक वर्षभित्र नमुना सहर बनाउने योजनासहित हामी लागिपरेका छौं’, प्रमुख सापकोटाले भन्नुभयो, ‘यसमा नगरवासीको पूर्ण साथ रहने आशा गरेका छौं ।’त्यस्तै नक्सा पास गर्नुपूर्व घर बनाउने ठेकेदारले भुकम्प प्रतिरोधी घर बनाउने तालिम अनिवार्य लिएको हुनुपर्ने उहाँको भनाइ छ । भवन निर्माण संहिताअन्तर्गत रहेर यस्तो नियम ल्याइएको सापकोटाले बताउनुभयो ।नगरपालिकाबाट हालसम्म ८४ जनाले यस्तो तालिम लिइसकेका छन् । आगामी असार मसान्तसम्ममा नगरपालिकामा सूचीकृत हुन पनि कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । भरतपुर नगरपालिकाले भुकम्प प्रतिरोधात्मक घर बनाउनका लागि सूचीमा परेका भवन निर्माणकर्ता तथा डकर्मीहरुले मात्र निर्माण गर्न पाउने नियम लागू गर्ने तयारी गरेको हो ।सहरमा भुकम्प प्रतिरोधात्मक घर निर्माण हुनेक्रम केही बढेपनि अपेक्षाअनुसार नभएकाले अनिवार्य रुपमा यस्तो गर्न लागिएको भनपाका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले बताउनुभयो ।आगामी एक वर्षका लागि पहिलेको मापदण्डमा बनेको पिल्लर तथा बिमलाई एक तल्लासम्म थप्न दिने नगरपालिकाका कार्यकारी अधिकृत सापकोटाले जानकारी दिनुभयो । चालू आर्थिक वर्षको बैशाख महिनासम्म १ हजार ५ सय नक्सा पास भइसकेको सापकोटाले बताए ।सहरमा दिनप्रतिदिन घर बनाउनेक्रम बढेपनि सुरक्षित घर बनाउनेहरुको अभाव रहेकाले ठेकेदार तथा कामदारलाई भुकम्प प्रतिरोधीसम्बन्धी तालिम दिई नयाँ अभ्यास गर्न लागिएको उहाँले बताउनुभयो ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page