२६ जेठ, काठमाडौं । सर्लाही बबरगन्जका तीन वर्षका बालक अनुरागकुमार चौधरीको पेटको ट्युमरभित्र अर्को बच्चा भेटिएको छ ।
जेठ १९ गते कान्ति बाल अस्पतालमा शल्यक्रिया गर्दा चार ग्रामको ट्युमरभित्र २ सय ५० ग्रामको बच्चा फेला परेको हो । शल्यक्रियामा संलग्न डा. अनुपमा थापाका अनुसार बच्चाको ट्युमरमा हल्का कपाल पलाइसकेको टाउको आकृतिको डल्लो फेला परेको छ । त्यसमा भर्खर विकास हुँदै गरेको हात र ६ वटा औटा भएका खुट्टासमेत छन् । ‘त्यो बच्चाको शरीरमा हड्डीको पनि विकास हुँदै गरेको देखियो,’ डा. थापाले आइतबार भनेको नागरिक दैनिकमा खबर छ ।
गत असोजमा आमा रामजैसी चौधरीले दूध खुवाउँदा बालकको पेटमा डल्लो देखेकी थिइन् । स्थानीय चिकित्सक कहाँ जँचाउँदा पत्थरीको शंका गरेर कान्ति अस्पतालमा पठाइयो । कान्तिले परीक्षणपछि ट्युमर भएको पत्ता लगायो ।
कान्तिले त्यतिबेलै ट्युमरको शल्यक्रिया गर्नुपर्ने बताएको थियो । तर, चौधरी परिवार डराएर गाउँ फर्कियो । ‘गाउँमा गएर धामीलाई देखायौं, तै पनि पेटमा भएको साह्रो डल्लो हराएन,’ हजुरबुबा रामकरण चौधरीले भने ।
हजार कोसिस गर्दा पनि निको नभएपछि उनीहरु दुई साताअघि फेरि कान्तिमै आए । बच्चालाई भर्ना गराए । अप्रेसनपछि बल्ल बालकको ट्युमरभित्र अर्को बच्चा देखिएको हो । गत वैशाखमा पनि सर्लाहीकै एक बच्चाको पेटमा यसैगरी बच्चा आकृतिको ट्युमर फेला परेको थियो । त्योभन्दा यसपाली अझै बढी विकसित भएको डा. थापाको दाबी छ ।