दमास्कस (बीबीसी), जेष्ठ २३ - - अमेरिका र युरोपद्वारा विरोध
- इरान, रुस र भेनेजुयलाद्वारा समर्थन
सिरिया अरब गणतन्त्रका राष्ट्रपति पदमा वसार अल असाद तेस्रो पटक निर्वाचित भएका छन् । उनले मंगलबार सम्पन्न राष्ट्रपतिको चुनावमा ८८.७ प्रतिशत मत प्राप्त गरेका छन् । असादको मुख्य प्रतिस्पधीहरू हसन अल नुरी र महेर हजारले क्रमशः ४.३ र ३.२ प्रतिशत मात्र मत पाएका छन् । चुनावअघि पनि उनीहरूको खासै चर्चा थिएन । अधिकांशले असादले नै जित्ने भनेका थिए ।
संसदका प्रवक्ता मोहम्मद अल लहामले बुधबार टेलिभिजन सम्बोधनमा परिणामबारे औपचारिक जानकारी गराएका हुन् । यो जितले असादका समर्थकहरूको मनोबल उकास्ने छ । सरकार पक्षले हालसालै महत्त्वपूर्ण सैन्य विजय हात पारेको छ । अर्कोतिर विद्रोही गुटहरू आपसमै भिडिरहेका छन् ।
नतिजाको घोषणालगत्तै त्यहाँ असादका समर्थकहरूले बन्दुक पड्काएर खुसीयाली मनाएका थिए । यो क्रममा ३ जनाको ज्यान गएको थियो । त्यहाँको संवैधानिक अदालतका अनुसार १ करोड ५८ लाख ५० हजारमध्ये १ करोड १६ लाख ३० हजारले मतदान गरेको जानकारी दिएको थियो ।
सरकार नियन्त्रित क्षेत्रमा मात्र निर्वाचन भएको थियो । विद्रोहीको पकड रहेको उत्तर र पूर्वी भागमा मतदान गरिएन । तीन वर्षदेखि जारी सरकारी सेना र विद्रोही- बीचको भिडन्तमा त्यहाँ हजारौंको ज्यान गएको छ भने लाखौं विस्थापित भएका छन् । अलेपोमा यो साता हवाई आक्रमण हुनुका साथै मुलुकको धेरै भागमा भीषण युद्ध जारी छ ।
दसकौंपछि पहिलो पटक असाद परिवार बाहेक अन्यले राष्ट्रपति पदमा उम्मेदवारी दिने अनुमति पाएका थिए । असादका आलोचक र विद्रोहीले गृहयुद्धको मध्यमा भएको उक्त निर्वाचन विश्वसनीय नभएको तर्क दिँदै त्यसलाई गाइजात्रे गतिविधि भनेको छ । विपक्षीलाई समर्थन गर्ने पश्चिमाहरूले पनि उक्त मतदानलाई अस्विकारेका छन् ।
छिमेकी लेबनानको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री जोन केरीले उक्त चुनावलाई अर्थहीन भनेका छन् । युरोपियन युनियनले अमेरिकाकै स्वरमा यसलाई वास्तविक प्रजातान्त्रिक मतदान मान्न नसकिने प्रतिक्रिया दिएको छ । यसलाई युरोपेली वा अमेरिकी प्रजातन्त्रको मान्यताझैं बहुदल र बहु उम्मेदवार सहभागी निर्वाचन मान्न नसकिने दमास्कसस्थित बीबीसीका जेरेमी बोवेनले व्याख्या गरेका छन् । उनको अनुसार यो समर्थकद्वारा राष्ट्रपति असादप्रति श्रद्धासुमन हो । बुधबार दमास्कस पुगेका इरान, रुस र भेनेजुयला लगायत ३० मुलुकका प्रतिनिधिले भने पारदर्शी र स्वतन्त्र चुनाव भन्दै सिरियाको समर्थनमा वक्तव्य निकालेको एपीले जनाएको छ ।