पटना (बीबीसी), जेष्ठ २३ - भारतको बिहार राज्यको एक गाउँमा छोरी जन्मिएको स्वागत गर्न कम्तीमा १० वटा बिरुवा लगाउने परम्परा छ । बिहार भएर जाने राष्ट्रिय राजमार्ग-३१ स्थित नवगछियापछि आउने मदनपुर चोक मुनिको तीनटंगा जाने सडकमा करिब चार किलोमिटर अघि बढेपछि यो गाउँ आउँछ ।
त्यहाँको साइन बोर्डमै 'विश्वविख्यात आदर्श ग्राम धरहरामा हार्दिक स्वागत छ' लेखिएको छ । यो ग्राम (गाउँ) बिहारको प्रसिद्ध सहर भागलपुरदेखि २५ किमि टाढा छ । बोर्डमा दाबी गरिएझैं त्यो गाउँ विश्वचर्चित भए/नभएको त भन्न सकिन्न ।
तर, छोरी जन्मेको खुसीयालीमा बिरुवा रोप्ने चलनले भने करिब ४ वर्षदेखि यो गाउँ चर्चामा छ । स्थानीयले आँगन र घरवरिपरि वृक्षरोपण गर्छन् ।
'धेरै वर्ष अघिसम्म हाम्रो गाउँमा दाइजोको कारणले छोरीको हत्या गरिन्थ्यो,' स्थानीय शंकरदयाल सिंहले भने । यो अमानवीय र अक्षम्य गतिविधिले पीडाबोध हुन थालेपछि बूढापाकाहरुले छोरीलाई मार्नेभन्दा पनि स्वागत गर्ने उपाय खोजे । 'त्यसपछि नानीको पालनपोषण, शिक्षा र बिहे खर्चका लागि फलदार बोट लगाउन थालियो,' उनले भने ।
हालै मात्र त्यहाँ कञ्चनदेवी र बहादुर सिंहले चार महिनाकी छोरी स्वातीको नामबाट आँगनमा फलवृक्ष लगाएका छन् । उनीहरूले यसअघि जेठी छोरीको नाममा १० यस्तै आय हुने बिरुवा रोपेका थिए ।
सन् २०१० मा पहिलो पटक एक स्थानीय पत्रिकाले यस सुन्दर परम्परा बारे लेखेपछि बिहारभरि यसको चर्चा भएको थियो । यसपछि बिहारका तत्कालीन मुख्यमन्त्री नीतिशकुमारले उक्त कार्यको प्रशंसा गर्दै पूरा राज्यमा यसको अनुशरण गर्न अपिल गरे । त्यसपछि यो गाउँ लोकप्रिय हुन गयो ।
सन् २०१० देखि २०१३ सम्म मुख्यमन्त्रीको हैसियतमा उनी हरेक वर्ष पर्यावरण दिवसको सेरोफेरोमा उक्त गाउँ पुगेर एक बालिकाको नाउँमा एक विरुवा लगाउन थाले ।
'पर्यावरण सुरक्षा र भ्रुणहत्या रोकथामजस्ता विषयमा सुनेका थियौं, तर हाम्रो कम खर्चिलो तरिकाले अरूलाई पनि यति ठूलो प्रेरणा दिन सक्छ भन्ने कहिल्यै भान भएन,' गाउँका किसान राकेश रमणले भने । यो परम्पराले आफूलाई एउटा मातापिता गुमाएकी बालिकालाई स्वीकार्न प्रेरणा दिएको निलम सिंह 'आशा' ले अनुभूति सुनाइन् । उनी भन्छिन्, 'धरहरा गाउँकोलागि छोरी धरोहर नै हो ।'
यो परम्पराबाट भूमिहीनलाई भने टेवा पुगेको छैन । सार्वजनिक थलोमा बिरुवा लगाउने हुनाले छोरीको पालनमा सहयोग नपुगेको उनीहरुको दुःखेसो छ । 'मसँग घडेरीबाहेक केही छैन, मैले दुई छोरीहरू जन्मिने बित्तिकै गाउँको ठाकुरवाडीमा बिरुवा रोपेँ, तर फल टिपेर बेच्न पाइनँ ।'
बगैंचा बनाउने खालको जग्गा नभएको हुनाले घरको आँगनमै रोप्नुपरेको राजकुमार पासवानले बताए । प्रशासनले उक्त गाउँलाई आदर्श गाउँ घोषणा गरेको छ । तर, स्थानीयको अनुसार सडक, शिक्षा, स्वास्थ्य र बिजुली वितरणमा सामान्य सुधार बाहेक गाउँको स्थिति उस्तै
छ । घोषणा गरिएअनुरूप अस्पताल र पानी टंयाकीको निर्माण तथा गाउँलाई निर्मल ग्राम बनाउने दिशामा अहिलेसम्म कुनै पहल नभएको स्थानीयको आरोप छ ।
सरकारी स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा उपलब्ध नहुँदा गाउँमा बाल मृत्युदर बढी छ । स्थानीयको अनुसार सुविधाको हकमा हाम्रो गाउँ आदर्श बन्न नसके पनि स्वतःस्फूर्त रूपमा सुरु भएको छोरी बचाउने परम्पराले भने पक्कै पनि उदाहरणीय बनिरहने छौं ।