ब्राजिलको आँखा दोस्रो चरणमा


brazil
टेरसोपोलिस (एपी), असार ३ - ब्राजिलले विश्वकप २०१४ को आफ्नो दोस्रो खेलमा मंगलबार मेक्सिकोको सामना गर्नेछ र उसको उद्देश्य रहनेछ, जितसँगै दोस्रो चरणमा पुग्ने । ब्राजिलले समूह 'ए' को आफ्नो पहिलो खेलमा क्रोएसियालाई ३-१ ले हराएको थियो । उत्तरपूर्वी सहर फोटेलेजामा हुने खेलमा ब्राजिलले मेक्सिकोलाई हराए दोस्रो चरणको बाटो खुल्नेछ ।
मेक्सिकोले आफ्नो पहिलो खेलमा क्यामरुनलाई १-० ले पन्छाएको थियो । यस्तोमा मेक्सिकोको पनि समान उद्देश्य हुनेछ, ब्राजिललाई हराएर दोस्रो चरण पुग्ने । क्यामरुन र क्रोएसियाबीचको अर्को खेल बराबरी भए मंगलबारको विजेता नकआउट चरण पुग्ने निश्चित हुनेछ । 'मेक्सिकोको सामना गर्नु अर्को कठिन खेल हुनेछ,' ब्राजिली प्ले-मेकर ओस्कार मान्छन् ।
उनका अनुसार, 'जुन खेलले अर्को चरण पुग्ने टिमको तय गर्छ, प्रायः त्यस्तो खेल गाह्रो हुने गर्छ ।' ल्याटिन अमेरिकी दुई प्रतिद्वन्द्वीबीच पछिल्ला केही वर्षमा धेरैपल्ट एकापसमा खेल भएको छ । गत वर्ष कनफेडेरेसन कपमा ब्राजिलले मेक्सिकोलाई हराएको थियो । तर सन् २०१२ को ओलम्पिकमा मेक्सिकोले नेयमर र ओस्कार सम्मिलित युवा ब्राजिली टिमलाई पराजित गरेको थियो ।
'त्यो हार अझै पीडादायी छ, हामीले त्यतिबेला मेक्सिकोविरुद्ध जित निकाल्न सक्नुपर्ने थियो,' ओस्कार मान्छन्, 'तर हामीलाई यो पनि राम्रोसँग थाहा छ कि मेक्सिको कति बलियो टिम हो भनेर । यसपल्ट ब्राजिल र मेक्सिको भिड्दा त्यो दुवैका लागि सजिलो खेल हुने छैन । हामी दोस्रो चरण प्रवेशका लागि अन्तिम खेलसम्म कुर्ने पक्षमा छैनौं र सुरुमै ढुक्क हुन चाहन्छौं ।'
कनफेडेरेसन कपको दोस्रो चरणको खेल फोटेलेजामा भएको थियो र त्यसमा ब्राजिल २-० ले विजयी रहेको थियो । त्यसमा नेयमर र जोले गोल गरेका थिए । तर मेक्सिकोले पाँचपल्टको विश्वकप विजेता ब्राजिलविरुद्धका पछिल्ला १५ खेलमध्ये सातमा जित निकालेको छ । अझ पछिल्ला चारमध्ये दुई खेल मेक्सिकोकै पक्षमा थिए ।

Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page