काठमाडौ, जेष्ठ १८ - २०७० सालमा मुुलुकका दुई ठूला दूरसञ्चार कम्पनी टेलिकमले १६ र एनसेलले १५ लाख बढी ग्राहक थपेका छन् । यो दुवै कम्पनीले मोबाइल सेवामा मात्र थपेका ग्राहक हुन् ।
दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार टेलिकमले १४ लाख ४९ हजार जीएसएम मोबाइल प्रयोगकर्ता थपेको छ । मोबाइलमै प्रयोग हुने सीडीएमए प्रविधिका २ लाख ३२ हजार ग्राहक थपिएका छन् । जसले टेलिकमको सेवा मोबाइल सेटमा प्रयोग गर्नेको संख्या १६ लाख ८१ हजारले बढेको छ । वृद्धिपछि कम्पनीको उक्त सेवा प्रयोगकर्ताको संख्या ९६ लाख ३३ हजार पुगेको छ । अर्कोतर्फ जीएसएम सेवामार्फत मात्र सेवा दिइरहेको एनसेलका १५ लाख ३७ हजार प्रयोगकर्ता थपिएर ग्राहक संख्या १ करोड १३ लाख पुगेका छन् । जीएसएम प्रविधिमात्र हेर्दा दुवै ठूला कम्पनीको
वृद्धि उत्तिकै छ । बजार हिस्सा हेर्दा एनसेलको भागमा ४८ र टेलिकमको ४४ प्रतिशत छ ।
दुई कम्पनीलाई पछ्याउँदै स्मार्ट टेलिकमले पनि वर्षभरिमा ४ लाख ४ हजार उपभोक्ता थपेको तथ्याकंमा
देखिन्छ । जसले स्मार्टको कुल ग्राहक संख्या १० लाख ५० हजार पुगेको छ । स्मार्टले एकीकृत अनुमतिपत्र पाइसके पनि कम्पनीले नयाँ सेवा ल्याइसकेको छैन । कम्पनीको स्वामित्वबारे विवाद भएपछि नयाँ सेवा सुरु हुन नसकेको हो ।
कुनै समय तेस्रो ठूलो दूरसञ्चार कम्पनी रहेको यूटीएलले भने १ लाख ८९ हजार ग्राहक गुमाएको छ । प्राधिकरण तथ्यांक अनुसार ग्राहक संख्या अघिल्लो वैशाखभन्दा घटेर उपभोक्ता ५ लाख ८ हजारमा झरेका छन् । यूटीएललाई पनि एकीकृत अनुमतिपत्र दिने सरकारी निर्णय भइसकेको छ । तर त्यसका लागि आवश्यक शुल्कसहितको प्रक्रिया कम्पनीले सुरु गरेको छैन । अन्य दुई सेवा प्रदायक एसटीएम टेलिकम सञ्चार र नेपाल सेटलाइटले भने प्राधिकरणलाई चैतको तथ्यांक उपलब्ध गराएका छैनन् ।
समग्रमा हेर्दा २०७० सालमा मोबाइल सेवा प्रयोगकर्ताको संख्या २९ लाख ८६ हजारले बढेको छ । जुन १८ दशमलव १४ प्रतिशतको वृद्धि हो ।
नयाँ ग्राहकको संख्या थपिएपछि मुलुकमा मोबाइल प्रयोगकर्ताको संख्या २ करोड ३४ लाख पुगेको छ । सेवा उपलब्ध गराउने कम्पनीले दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराएको तथ्यांकको आधारमा मुलुकको ७९ प्रतिशतसम्म मोबाइल सेवा पुगेको छ । मोबाइल सेवामा १० लाख सीडीएमए सेवा प्रयोगकर्ता पनि छन् । यो तथ्यांक कम्पनीले सिम/रिम बिक्री गरेको आधारमा निकालिन्छ । एकै प्रयोगकर्ताले दुई वा सोभन्दा बढी सिम पनि खरिद गरेका हुन सक्छन् । यसका साथै सञ्चालनमा नरहेका सिम पनि तथ्यांकमा समेटिएको हुन सक्ने सम्भावना रहन्छ । तर नयाँ सिम बिक्रीका आधारमा बजार र सेवाको पहुँच भने बढ्दै गएको देखिन्छ ।
'बजार बढ्ने क्रममा छ र अझै धेरै सम्भावना छ,' दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानले भने, 'कतिपय मुलुकमा पेनिट्रेसन दर सत प्रतिशतभन्दा माथि पनि पुगेको छ ।' उपभोग गर्दा लाग्ने खर्च कम भएपछि उपभोक्ताको संख्या बढ्ने उनी बताउँछन् । 'हामी कहाँ पनि यो सेवामा मूल्यवृद्धि भएको छैन,' उनले भने, 'जसले सहज पहुँच बढाउँदै लगेको छ ।'
यही अवधिमा इन्टरनेट प्रयोगकर्ता पनि ७ दशमलव १८ प्रतिशत बिन्दुले बढेका
छन् । पछिल्लो तथ्याकंले जनसंख्या ३१ दशमलव ६ प्रतिशत जनसंख्यामा इन्टरनेट सेवा पुगेको देखाउँछ । जुन ८३ लाख ९६ हजार बराबरमा सेवा उपलब्ध हुनु हो । वैशाखको सुरुमा इन्टरनेट प्रयोगकर्ता ६४ लाख ९४ हजार थिए ।
धेरै प्रकारका सेवा उपलब्ध गराउने नेपाल टेलिकमको इन्टरनेट उपभोक्ता ४३ लाख १३ हजार छन् । कम्पनीले डायलअप, एडीएसएल, जीपीआरएस, इभिडिओ र वाइम्याक्समार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । जसमा सबैभन्दा धेरैले मोबाइलमार्फत इन्टरनेट चलाउने गरेका छन् । इन्टरनेट सेवामा एनसेलका ग्राहक ३९ लाख पुगेका छन् । यो जीपीआरएस, एज र डब्लूसीडीएमए अन्तर्गतका ग्राहक हुन् ।
अर्को सेवा प्रदायक यूटीएलका इन्टरनेट ग्राहक ५६ हजार छन् । विभिन्न इन्टरनेट सेवा प्रदायकका उपभोक्ता ९८ हजार पुगेका छन् । इन्टरनेट बजारमा टेलिकमको हिस्सा ५१ प्रतिशत पुगेको छ । दोस्रो ठूलो एनसेल ४७ प्रतिशत हिस्सा देखिन्छ । यूटीएल र इन्टरनेट सेवा प्रदायकको भागमा १/१ प्रतिशत छ ।