१९ असार, काठमाडौं ।
'टिपेर पनि साध्य नहुने, जबाफ नदिई पनि नहुने', ठट्यौली शैलीमा सभासद्लाई जबाफ दिन थालेका कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमको भनाइ नटुंगिँदै बुधबार संसद्मा हाँसोको फोहोरा छुट्यो। रोस्ट्रममा आधा घन्टा उभिएर नीति तथा कार्यक्रममाथि सभासद्का जिज्ञासा टिपेका गौतमले आधा घन्टा नै लगाएर जबाफ दिएका थिए।
रोचक र ठट्यौली शैलीका गौतमका जबाफले सभासद् पेट मिचिमिची हाँसे। प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले त 'हँसाउनुभएकोमा धन्यवाद' भन्दै वामदेवलाई बधाई दिए।
एमाले सभासद् रवीन्द्र अधिकारीले २०२२ सम्म विकासशील राष्ट्रको सूचीमा मुलुकलाई पु:याउन केकस्तो योजना छ, सरकारको लगानी कुनकुन क्षेत्रमा हुन्छ र आर्थिक वृद्धिदर बढाउन केकति लगानी हुँदैछ? भनेर प्रश्न गरेपछि गौतमले ठट्यौली शैलीमा उत्तर दिए, 'माननीय आफैंले हिसाब गर्नुहोला।'
वृद्धभत्तालगायत सामाजिक सुरक्षा भत्ता बढाउन नीति तथा कार्यक्रममा किन सम्बोधन भएन भन्ने जिज्ञासाको जबाफ उनले यसरी दिए, 'निर्वाचनका बेला मत प्राप्त गर्न सामाजिक सुरक्षा भत्ता बढाउने कुरा हामी सबैले गरेकै हौं। केही न केही हुनुपर्छ भन्ने पक्षमा म छु।' गौतमको यो वाक्य नटुंगिँदै सभासद् घोप्टो परेर हाँस्न थाले।
प्रधानमन्त्री सुशील कोइराला अमेरिकामा उपचार गराइरहेकाले कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा गौतमले नीति तथा कार्यक्रममाथि जबाफ दिएका हुन्। अरुण तेस्रो जलविद्युत् आयोजना अघि बढाउने विषय नीति तथा कार्यक्रममा किन नपारेको भन्दै सभासद्ले प्रश्न गरे। 'पहिले नै नेपाल सरकारको नीति तथा कार्यक्रममा अरुण तेस्रो परेको हो। अहिले पनि भए सरहकै हो', गौतमको जबाफमा एमाओवादी अध्यक्ष दाहाल रुमालले मुख छोप्दै हाँसे। सञ्चारमन्त्री मिनेन्द्र रिजालले हाँस्दाहाँस्दै आँसु खसालेको नरेन्द्र साउदले अन्नपुर्णपोष्ट दैनिकमा खवर लेख्नुभएको छ ।
।
तमलोपाका बृजेश गुप्तालगायत मधेस केन्द्रित दलका सभासद्ले हुलाकी राजमार्ग कहिलेसम्ममा पूरा हुन्छ? भन्ने प्रश्न सोधेपछि गौतमले जबाफ फर्काए, 'यो कहिले बन्छ भनेर म ठ्याक्क त भन्न सक्दिनँ तर नेपालले नै निर्माण गर्ने गरी छिटोभन्दा छिटो बन्छ।'