काठमाडौँ, १५ मङ्सिर । विश्वका १८३ देशमा गरिएको अध्ययनअनुसार नेपाल भ्रष्टाचार हुने मुलुकहरुमध्ये १५४ औँ स्थानमा रहेको पाइएको छ । भ्रष्टाचार विरोधी अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआइ)ले आज यहाँ सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क २०११ मा सूचीकृत १८३ देशमध्ये नेपालले कुल १० अङ्कमा २.२ अङ्क मात्र प्राप्त गरेको टीआइ नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बताइयो । सन् २०१० मा पनि नेपालले २.२ अङ्क पाएको थियो ।
अध्ययन प्रतिवेदनअनुसार अफगानिस्तानपछि दक्षिण एसियामा यसवर्ष पनि बढी भ्रष्टाचार हुने देश नेपाल नै भएको छ भने भूटान सबभन्दा कम भ्रष्टाचार हुने मुलुकमा गनिएको छ । टीआइले नेपालमा व्यापक भ्रष्टाचार रहेको निष्कर्ष निकालेको छ । राजनीतिक सङ्क्रमणले गर्दा भ्रष्टाचार नियन्त्रणजस्तो संवेदनशील विषयप्रति राज्यका तर्फबाट आवश्यक चासो नदिनु नै यसको प्रमुख कारण भएको टीआइको ठहर छ ।
प्रतिवेदनमा सरकार सुशासन कायम गर्न संवेदनशील हुन नसकेको, राजनीतिक दल र राजनीतिक नेतृत्वमा भ्रष्टाचार नियन्त्रण गर्नेसम्बन्धमा आवश्यक प्रतिवद्धता एवं इच्छाशक्ति नदेखिएको उल्लेख गरिएको छ । प्रतिवेदनले विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक उत्तरकोरिया भएको र सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक न्युजिल्यान्ड भएको पनि औँल्याएको छ ।
कार्यक्रममा टिआइ नेपालका अध्यक्ष विष्णुबहादुर केसीले नेपालमा भ्रष्टाचारमा नयाँ संस्कृतिको विकास भएको, दण्डहीनता बढेको र सरुवाबढुवामासमेत कमिशन खाने प्रवृत्ति बढेको, वैदेशिक सहायता पारदर्शी नभएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि नागरिक समाज, बुद्धिजीवी र सञ्चारजगत्ले सशक्तरुपमा आवाज उठाउनुपर्ने धारणा राख्नुभयो
