काठमाडौं, मङ्सिर १४-भारतको नयाँदिल्लीमा हुने सातौं साफ च्याम्पिएनसीप प्रतियोगितामा भाग लिन २७ सदस्यीय राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री कमला रोका, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, एन्फाका अध्यक्ष गणेश थापालगायतले उक्त टोलीलाई विदाई गरे।
कार्यक्रममा मन्त्री रोकाले नेपाली खेलाडीको विकास र विस्तारका लागि आफू सक्रिय भएर लाग्ने बताए। यस्तै एन्फा अध्यक्ष थापाले साफ च्याम्पियनसीपको उपाधि जितेमा राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई आजीवन रु.१० हजार भत्ता दिने घोषणा गरे।
सागर थापाको कप्तानीमा रहेको सो टोलीले पहिलो खेल यही मङ्सिर १६ गते माल्दिभ्ससँग सामना गर्नेछ भने दोस्रो खेल १८ गते बङ्गलादेशसँग र समूह चरणको अन्तिम खेल मङ्सिर २० गते पाकिस्तानसँग खेल्नेछ। रासस
