काठमाडौं, मंसिर १९ - प्रहरी प्रधान कार्यालयले एघार एसपीको सरुवा गरेको छ । कार्यक्षमता प्रति असन्तुष्टि जनाउँदै मुख्यालयले सरुवा भएको ६ महिनामै उनीहरुको सरुवा गरेको हो ।
प्रहरी मुख्यालय दरबन्दी भएका राजेन्द्र श्रेष्ठलाई काठमाडौंमा थमौती गरिएको छ । उनी काजमा काठमाडौं परिसर गएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा बिशेष सुरक्षा निर्देशनालयका शौरभ राणालाई पठाइएको छ । कपिलबस्तुमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कार्यररत सुरेश बस्नेतलाई पठाइएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा बिक्रम थापा पुगेका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यररत एसपी सुरेशबिक्रम शाह महानगरीय प्रहरी अपराध महाशाखा आएका छन् । त्यहाँ दानसिंह बोहरा खटिएका छन् । रौतहतमा प्रहरी मुख्यालयका ठुले राईलाई लगिएको छ । धनुषाका हरि पाललाई मुख्यालयको कल्याण शाखामा ल्याएर त्यहाँ पुँरुषोत्तम कडेललाई पठाइएको छ । महोत्तरी सुरज केसीको सरुवा गरिएको छ । सिराहामा राजेशलाल कर्णलाई खटाइएको मुख्यालयले जनाएको छ । सर्लाहीका मोहनराज जोशीको स्थानमा आयूक्तको कार्यालयमा रहेका रामप्रसाद श्रेष्ठ खटाइएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका जगतमान श्रेष्ठलाई मुख्यालय तान्दै उनको स्थानमा योगेश्वर रोमखामीलाई खटाइएको छ ।
प्रहरी महानिरीक्षक रबिन्द्र प्रताप शाहले उनीहरुलाई दिएको ३ महिने कार्यदेश अनुसार सरुवा गरिएको बताए । उनले कतिपय जिल्लाका प्रहरी प्रमुखको काम सन्तोषजनक नदेखिएपछि उनीहरुलाई फिर्ता बोलाइएको बताए । '३ महिनालाई बढाएर ६ महिना बनाउँदा पनि काम सन्तोषजनक नदेखिएपछि फिर्ता बोलाइएको हो' शाहले कान्तिपुरसँग भने 'नयाँलाई मौका पनि दिइएको छ ।' उनले कतिपय एसपीले भने आफैं सरुवा खोजेको बताए ।