शालीन नायक राजेश हमालले केही दिनअघि अनामनगरस्थित नुतन स्टुडियोमा नायिका सुष्मा कार्कीसँग फिल्म 'मेरो जीवन साथी'का लागि टङ किससहितको बेडसिन दिए। उनको करिअरको पहिलो टङ किस थियो त्यो। 'मेरो जीवन साथी' निर्माण पक्षले राजेशलाई लामै समय यसका लागि रेडी बनाएको थियो।
पहिले नेपाली फिल्ममा यस्ता दृष्य आवश्यक पर्दा साइडबाट क्यामरा घुमाउने र दृष्यान्तर गर्ने गरिन्थ्योे। अहिले नयाँ नायक-नायिकाले फिल्ममा क्षेत्रमा जम्ने अस्त्रका रूपमा चुम्बनलाई प्रयोग गर्न थालेका छन्। नेपाली फिल्मका पर्दामा प्रेम अभिव्यक्तिको हद बदलि"दै गइरहेको छ भन्ने उदाहरण पनि हो यो। कुनै समय नायिका झरनामा भिजेर उनको छातीमा चोली टाँसिदा उत्तेजित हुँदै फिल्म हलमा सिटी बजाउने दर्शकका लागि अहिले यस्ता दृष्य सामान्य भइसकेका छन्।
निर्देशक शोभित बस्नेतले फिल्म 'धुम' मा नायकनायिकाबीच ओठै जोडेर चुम्बन गर्नुपर्ने थुप्रै दृष्यहरूलाई साइडबाट देखाएका थिए। तर, त्यसपछि उनले निर्देशन गरेकोे फिल्म 'प्लान'मा भने मुकेश ढकाल र रागिनी खड्गीको 'भव्य' किस सिन छ।
नेपाली फिल्ममा सबैभन्दा लामो चुम्बन भनेर प्रचार गरिएको 'आफ्नो मान्छे आफ्नै हुन्छ'मा नायक मुकेश ढकाल र नायिका अरुणिमा लम्सालको टङ किसले तहल्का मच्चाएपछि निर्देशक ऋष्ाि लामिछानेका त्यसपछिका फिल्ममा नछुट्ने सिन बनेको छ- टङ किस। उनले फिल्म 'हाम्रो माया जुनी जुनीलाई'मा मुकेश ढकाल र नीता ढंुगानालाई पनि यस्तो सिनमा समाहित गराएका छन्। त्यसै गरी 'सिलसिला'मा नायक राज तिमिल्सिना र नायिका सोनिया केसीले निसंकोच एकअर्काका ओठ चुमेपछि वर्षकै सर्वाधिक सफल फिल्म बन्यो यो। त्यही किस सिनवाट हौसिएका निर्देशक राजेन्द्र उप्रेतीले 'निगरानी'मा मुकेश र अरुणिमालाई यस्तै सिन दिन लगाए भने फिल्म 'गिरफ्तार' मा सुवास मेचे र जेनिसा केसीबाट उनले यस्तो सिन लिए।
युवा निर्देशक उकेश दाहालले निर्देशन गर्ने फिल्ममा किस सिनसँगै बेडसिन पनि नछुट्ने विषय हो। नेपाल चलचित्र विकास बोर्डले एडल्ट सिनेमाको दर्जा दिएको फिल्म 'पलपलमा' दिलिप रायमाझी र रूपा राना, रमित ढुंगाना र सुजाता सिटौलाबीच किस सिनसँगै गरमागरम बेड सिन पनि गराए उनले। फिल्मको चर्चा र व्यापार राम्रै भयो।
भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज हुन लागेको कमेडी फिल्म 'छविलाल कञ्जुस छैन'को नायक सुमन सिंह र नायिका सुमिना घिमिरेको चुम्बन दृष्यलाई बढीभन्दा बढी प्रचार गरिएको छ। कमेडी फिल्म भए पनि एउटा गीतको रोमान्टिक दृष्यलाई लिएर पोस्टर बनाइएको छ।
नेपाली फिल्ममा पर्दामा चुम्बन सिन दिने पहिलो नायिकाको श्रेय करिष्मा मानन्धरलाई जान्छ। उनले 'कस्तुरी'मा अजय शेखर, 'मनकामना'मा शिव श्रेष्ठ र 'महादेवी' मा भुवन केसीका गालामा चुम्बन गरेका दृष्य दिएकी छिन्।