आइतबार दिल्ली जाँदै
काठमाडौं । राष्ट्रिय सहमतिको सरकार गठनको कुरा चलिरहेका बेला नेकपा एमालेका नेता केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको दावेदारी प्रस्तुत गर्नु भएको छ । शुक्रवार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता ओलीले आफ्नो आवश्यकता महसुस गरिए मुलुकको नेतृत्व गर्ने जिम्मेवारी लिन तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो-’म जुनसुकै जिम्मेवारी लिन तयार छु र अहिले भन्दा बेटर परफरमेन्स पनि दिनसक्छु ।’
एमाले जोगी र सन्तहरुको पार्टी नभएको भन्दै नेता ओलीले आफ्नो पार्टीले फेरि सरकारको नेतृत्व फेरि लिन सक्ने बताउनु भयो । ‘अब हाम्रो पालो’ भन्ने कांग्रेसको शीर्ष नेताहरुको भनाई प्रति लक्षित गर्दै ओलीले पालै पालो सरकार चलाउने कुरा पैत्रिक सम्पत्तिमा हक खोजे जस्तो भएको बताउनु भयो । उहाँले भन्नुभयो-’जेठो र कान्छोको भाग पुग्यो, अब ठूलो कान्छोको पालो भने जस्तो राजनीति हुँदैन । जसको क्षमता छ त्यसलाई नेतृत्व दिनु पर्छ ।’
प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारमा सहमति बन्न नसक्ने ठोकुवा गर्दै ओलीले प्रधानमन्त्रीको राजीनामापछि मात्रै सहमतिको सरकार बन्ने किटान गर्नुभयो । ‘अहिलेको सरकारमा एमाले र कांग्रेस जान कुन मन्त्रालय खाली छ र डाक्टर साहेवले यो के भन्नु भएको’ उहाँले भन्नुभयो-’पहिला ठाँउ खाली गरौं अनि सहमतिको सरकारका लागि छलफल गरौंला ।’
पार्टी अध्यक्ष झलनाथ खनालले सभासद बनाउने प्रस्ताव गरेपछि आफूले केही जवाफ दिइनसकेको स्पष्ट पार्दै ओलीले भन्नुभयो-’मैले सभासद बन्ने विषयमा धारणा बनाईसकेको छैन । तर, यसले संविधान निर्माणमा एमाले केन्द्रीत भएको देखाउँछ ।’
आइतबार दिल्ली जाँदै
प्रधानमन्त्रीमा दावेदारी प्रस्तुत गरेलगतै नेता ओली भारत जानु हुने भएको छ । उपचारका लागि भन्दै नेता ओली आइतबार नयाँदिल्ली जान लाग्नु भएको हो । भ्रमणको क्रममा राजनीति भेटवार्ता र प्रवचन समेत हुने ओलीले बताउनु भएको छ ।