त्रिवि पदाधिकारी नियुक्ति नहुँदा परीक्षाका काम ठप्प


काठमाडौ, मंसिर २२ - त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिस्ट्रार नियुक्ति नहुँदा परीक्षाका सबै काम ठप्प भएको छ । ग्रेस लिस्ट पास हुन नसकेकाले मंसिर पहिलो सातै भइसक्नुपर्ने करिब ४१ हजार जनाको दीक्षान्त समारोहसमेत अनिश्चित बनेको छ ।
 रेक्टर सूर्यलाल अमात्य र रजिस्ट्रार भीमराज अधिकारीको मंसिर ९ मा पदावधि सकिएको थियो । राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालय पदाधिकारी नियुक्त गरिनाले अन्योल छाएको हो । उपकुलपति हीराबहादुर महर्जनले रेक्टर र रजिस्ट्रारको अधिकार प्रयोग गरी दैनिक प्रशासनिक कार्य सुचारु राखे पनि त्रिवि सभाबाट पास हुनुपर्ने कामहरू ठप्प छन् ।
केन्द्रीय परीक्षा संयोजक समिति पदेन अध्यक्ष रजिस्ट्रार हुन्छन् । रजिस्ट्रारको अधिकार प्रत्योजन हुन नसक्दा मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन, विज्ञान, इन्जिनियरिङ, चिकित्साशास्त्र स्नातक तह प्रथम वर्षको परीक्षाफल रोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 'परीक्षाफल प्रकाशन रोकिएको छ र नयाँ तालिका पास हुन सकेको छैन,' सहनियन्त्रक रमेश जोशीले भने ।
यसैगरी, विश्वविद्यालय कार्यकारी परिषद् अपूरो हुँदा क्याम्पस सम्बन्ध, बजेट पारित, त्रिवि सेवा आयोगको पदपूर्ति, सरुवा, बढुवा, अवकाशलगायत काम ठप्प छन् । कार्यकारी परिषद् नहुँदा अघिल्लो वर्षै पदपूर्ति गरिएका व्यवस्थापनतर्फ उपप्राध्यापकलाई नियुक्ति पत्रसमेत दिन नसकिएको सेवा आयोग प्रमुख महेन्द्रप्रसाद मिश्रले बताए ।
ऐनअनुसार त्रिवि सभामा ५४ जना हुन्छन् । अधिकांश सदस्य म्याद सकिएको छ । सात सदस्यीय त्रिवि कार्यकारी परिषद्मा पनि उपकुलपतिसहित तीन जना मात्रै हुँदा कोरम पुगेको छैन । कार्यकारी परिषद्को सदस्यसचिवमा रजिस्ट्रार रहने व्यवस्था छ ।
नियमानुसार उपकुलपतिले कुलपति तथा प्रधानमन्त्रीसमक्ष नाम पेस गरेपछि रेक्टर र रजिस्ट्रारको नियुक्ति हुन्छ । उपकुलपति महर्जनले यसअघि प्रधानमन्त्री बाबुराम भट्टराईसित भएको सहमतिअनुसार प्रक्रिया अगाडि बढिरहेको बताए ।
'प्राध्यापकहरूको संयन्त्रले अहिलेसम्म कसैको नाम पेस गरेको छैन,' उनले भने, 'पदाधिकारी नियुक्ति सहमतिका आधारमा हुन्छ । पद उहाँहरू -माओवादी र कांग्रेस) को हो । आशा छ चाँडै गर्नुहुनेछ ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page