अमेरिका लगायत पश्चिमा देशहरूले इरानबाट हुने तेल निर्यातमा नाकाबन्दी लगाउने घोषणापछि विश्व बजारमा तेलको मूल्य आकासिने देखिएको छ। तेल आयातमा पूर्ण निर्भर नेपालजस्ता देशले उपभोग गर्नै नसक्ने अवस्था आउनसक्ने संकेत देखिएको छ। सन् २०११ मा १ सय अमेरिकी डलरको हाराहारी प्रतिब्यारेल (१ सय ५९ लिटर) मूल्य रहेको कच्चा तेल पश्चिमा देशको निर्णयसँगै १ सय १३ पुगेको छ।
भारतले इरानबाट दैनिक ३ लाख ७० हजार ब्यारेल कच्चा तेल किन्दै आएको छ। दैनिक २० हजार ब्यारेल तेल खपत गर्ने नेपाल पूर्ण रूपमा भारतसँग निर्भर छ। सन् २०१० मा दैनिक ३१ लाख ८२ हजार ब्यारेल तेल खपत गरेको भारतले तेल आयात गर्ने सूचीमा साउदी अरबपछि इरान दोस्रो स्थानमा छ।
भारतको कूल तेल खपतको ७२ प्रतिशत अंश आयातमा निर्भर छ। उसले साउदी अरबबाट १८ र इरानबाट ११ प्रतिशत तेल आयात गर्दै आएको छ। परमाणु बम बनाउन खोजेको भन्दै अमेरिका तथा युरोपेली युनियनले इरानमाथि बन्देज घोषणा गरेका हुन्। युरोपेली देशले इरानबाट दैनिक ८ लाख ६५ ब्यारेलभन्दा बढी तेल किन्दै आएका थिए।
अमेरिका लगायत पश्चिमा राष्ट्रले इरानको ६० प्रतिशत आम्दानीको स्रोत मानिएको तेल निर्यात बन्द गराउन सके परमाणु कार्यक्रममा उसले रकम विनियोजन गर्न नसक्ने अवस्था आउने आकलन गर्दै आएका छन्। दैनिक ३५ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्दै आएको इरान रुस र साउदी अरबपछि विश्वभर तेल निर्यात गर्ने तेस्रो मुलुक हो। इरानले दैनिक २६ लाख ब्यारेल तेल बेच्छ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नयाँ वर्षको पूर्वसन्ध्यामा हस्ताक्षर गरेको अमेरिकी प्रतिरक्षा कानुन कार्यान्वयनमा आउन छ महिना लाग्नेछ। अमेरिकाका दुवै सदनले यो कानुन पारित गरेका हुन्।
भारतका ऊर्जाविशेषज्ञ नरेन्द्र तनेजाले पश्चिमा देशको नाकाबन्दीले भारतको तेल आपूर्तिमा समस्या हुने बिबिसीलाई बताएका छन्। समस्यालाई समाधान गर्न भारतीय रुपैयाँमै भुक्तानी गर्ने व्यवस्था मिलाउन एक प्रतिनिधिमण्डल अर्को साता इरान जाने टाइम्स अफ इन्डियाले लेखेको छ। ६ महिनाअघि भुक्तानीबारे भारत र इरानबीच तनाव सिर्जना भएको थियो।
अमेरिका तथा युरोपेली बैंकले इरानमा भुक्तानी गर्न अस्विकारेपछि भारत र इरानबीच विवाद भएको थियो। भारतले इरानलाई टर्कीको बैंकबाट मासिक एक अर्ब अमेरिकी डलर तेलका लागि भुक्तानी गर्ने गरेको छ।
अमेरिका तथा युरोपेली बैंकले इरानमा भुक्तानी गर्न अस्विकारेपछि भारत र इरानबीच विवाद भएको थियो। भारतले इरानलाई टर्कीको बैंकबाट मासिक एक अर्ब अमेरिकी डलर तेलका लागि भुक्तानी गर्ने गरेको छ।
इरानसँग दैनिक ५ लाख ४१ हजार ब्यारेल तेल किन्दै आएको चीन र कुनै पनि देशसँग एकै थोपा तेल आयात नगर्ने देश रुस दुवैले पश्चिमा देशको नाकाबन्दी नमान्ने बताइसकेका छन्। इरानबाट बढी तेल आयात गर्ने अमेरिकासँग निकट सम्बन्ध रहेका जापान, दक्षिण कोरिया र टर्कीले वासिङ्टनसँग वार्ता थालेका छन्।
भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननले भारतका लागि अमेरिकी राजदूतसँग यसबारे छलफल गरेका छन्। जनवरी अन्त्यमा अमेरिका भ्रमण जाने भारतीय विदेशमन्त्री रन्जन मथाईले पनि नाकाबन्दीबारे छलफल गर्नेछन्। भुक्तानीको समस्या समाधान गर्न नसके इरानबाहेक मध्यपूर्वका अन्य देशबाट भारतले थप तेल ल्याउनुपर्छ। त्यस्तो अवस्थामा चीन र युरोपका देशसँग भारतले तेल किन्न प्रतिस्पर्धा गर्नुपर्नेछ।
रुस र ल्याटिन अमेरिकी देशबाट आयात गर्नु आर्थिक दृष्टिले भारतका लागि उपयोगी नहुने भारतीय पेट्रोल तथा ग्यास बोर्डकी सदस्य सुदा महालिंगमले भारतीय पत्रिका 'द हिन्दु'मा लेखेकी छन्। दैनिक १६ लाख ब्यारेल तेल बेच्दै आएको लिबियाले आन्दोलनयता तेल बेच्न सकेको छैन। इराकमा देखिएको जातीय द्वन्द्वले समेत तेल बजारलाई समस्यामा पार्नसक्ने अनुमान गरिएको छ।
नाकाबन्दी घोषणापछि पर्सियन खाडीमा युद्धको अवस्था सिर्जना भएको छ। इरानले आफूमाथि नाकाबन्दी लगाए युएई र इरानबीचको सानो समुद्री मार्ग स्ट्रेयर अफ होर्मुज बन्द गर्ने चेतावनी दिएको छ। विश्वको २० प्रतिशत तेल सोही स्थान हुँदै बाहिरिन्छ। विश्लेषकहरूले नाकाबन्दीपछिको अवस्थामा तेलको मूल्य प्रतिब्यारेल २ सय अमेरिकी डलर पुग्ने चेतावनी दिएका छन्।
थोरै परिमाण नाइजेरिया र अंगोलाबाट तेल आयात गर्ने भारत खाडी क्षेत्रभन्दा बाहिर जान असम्भवजस्तै रहेको महालिंगमले बताए। इरानले पर्सियन खाडीमा १० युद्धअभ्यासका क्रममा छ छोटा तथा मध्यम दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ। युद्ध अभ्यासका बेला पर्सियन खाडी छाडेको अमेरिकी युद्धपोत सोही स्थान फर्किए आक्रमण गर्ने चेतावनी इरानले दिएको छ। ह्वाइट हाउसले भने उक्त युद्धपोत पर्सियन खाडीमा फर्किने जनाएको छ। इरानले हालै दोस्रो चरणको युद्ध अभ्यास थालेको छ।
पश्चिमा देशले स्ट्रेयर अफ होर्मुज बन्द गर्ने अवस्था नआउने र त्यस्तो अवस्था आए आफूसँग रहेको सञ्चितिबाट खर्च गरेर विश्व बजारमा मूल्य बढ्न नदिने बताएका छन्।
(एजेन्सीहरूको सहयोगमा)
(एजेन्सीहरूको सहयोगमा)