माओवादीले अवरोध गर्‍यो ः कोइराला

imageकांग्रेस सभापति सुशील कोइरालाले माओवादीले विगतको सहमतिविपरीत नयाँ­-नयाँ सर्त अघि सारेर शान्ति र संविधानमा अवरोध खडा गरेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार 'नेपाली कांग्रेसकोे १२औँ महाधिवेशन ०६७' स्मारिका लोकार्पण गर्दै उनले माओवादीले विभिन्न बहानामा हतियार बुझाउन नचाहेको दाबी गरे । 
'विगतमा भएको सहमति कार्यान्वयनको साटो माओवादी नयाँ सहमतिको कुरा गर्न थालेको छ,' कोइरालाले भने, 'उसले १५ कात्तिकमा भएको सहमति इमानदारीसाथ पालना गर्नुपर्छ ।' शान्तिप्रक्रिया टुंगोमा नपुगेसम्म नयाँ संविधान बन्छ भन्ने कुरामा ढुक्क हुन नसकिने उनको भनाइ थियो । 
सभापति कोइरालाले विगतमा माओवादी लडाकु समायोजनमा जाँदा मेजरभन्दा माथिको पद नदिने सहमति भएको दाबी गर्दै माओवादीले अहिले फेरि दर्जाको विषयमा नयाँ विवाद खडा गरेको आरोप लगाए । त्यस्तै, अवकाशमा जाने लडाकुलाई प्रमुख तीन दलका नेताका साथै राष्ट्रपति र प्रधानमन्त्रीले समेत हस्ताक्षर गरेर सम्मानपत्र दिनुपर्ने माओवादीको माग स्विकार्न नसकिने उनले उल्लेख गरे ।
सभापति कोइरालाले शान्तिप्रक्रियालाई देखाएर माओवादीले बार्गेनिङ गरिरहेको उल्लेख गर्दै भने, 'कार्यकारी राष्ट्रपति नभए शान्तिप्रक्रिया अघि बढ्दैन भन्न थालेका छन् । कांग्रेस संसद्प्रति उत्तरदायी प्रधानमन्त्रीको पक्षमा छ ।' उनले राष्ट्रपति वा प्रधानमन्त्री प्रत्यक्ष निर्वाचनको पक्षमा पार्टी नरहेको उल्लेख गरे । 'कांग्रेसलाई प्रधानमन्त्री वा राष्ट्रपति प्रत्यक्ष निर्वाचनबाट आउने कुरा मान्य छैन,' उनले भने । 
माओवादीले तानाशाही व्यवस्था चाहेको आरोप लगाउँदै कोइरालाले माओवादीको सपना कुनै हालतमा पूरा हुन नदिने बताए । आफ्नो पार्टीमा अहिले कुनै विवाद नरहेको दाबी गर्दै उनले भ्रातृ संगठन र विभागहरू चाँडै गठन हुने जानकारी दिए । सबैलाई मिलाएर नै भ्रातृ संगठन र विभागहरू गठन गर्ने उल्लेख गर्दै कोइरालाले भने, 'सबैलाई मिलाएर जाने हो, म मिलाउँदै छु ।' उनले प्रजातन्त्रमा छलफलबाट कुनै पनि विषयको निदान गरिने उल्लेख गर्दै सहमतिमा नभए बहुमतबाट छिनोफानो गरिने पनि बताए ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page