प्रचण्डले १० करोड २० लाखमा किनेका रहेछन यो आलिसान महल ः जनतालाई चाहि किन ढाड्नु लाख रुप्ये भाडा भनेर

प्रचण्डले १० करोड २० लाखमा किनेका रहेछन यो आलिसान महल ः जनतालाई चाहि किन ढाड्नु लाख रुप्ये भाडा भनेर 
 

यो भव्य घर माओवादी अध्यक्ष प्रचण्डको नयाँ निवासको हो। नयाँ बजारको डेरा साँघुरो भयो भन्दै उनी यो सुविधासम्पन्न घरमा सरेका हुन्। यो घर भाडामा लिएको र प्रति महिना एक लाखभन्दा बढी भाडा तिर्नुपर्ने भनी समाचार आएको थियो। प्रचण्डपुत्र प्रकाश दाहालले भने फेसबुकमार्फत् यो घर मासिक ६० हजार रुपैयाँ भाडामा लिएको दावी गरेका छन्। उनले यो घर किनेको भन्ने हल्ला झुटो भएको दावी गरे पनि आजको साँघु साप्ताहिकले ठोकुवा गरेर यो घर १० करोड २० लाख रुपैयाँमा प्रचण्डका लागि खरिद गरिएको लेखेको छ। यदि माओवादी पार्टी र प्रचण्ड पारदर्शी छन् भने यो घरको वास्तविकता सार्वजनिक गर्न पनि पत्रिकाले चुनौति दिएको छ। यो घर कसको थियो र कसको नाममा कसरी बेचिएको थियो, खुलासा पढ्न भित्र आउनुस्।

पूर्व प्रधानमन्त्री एवं एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शान्ति प्रक्रियामा आएको ५ वर्ष नपुग्दै १० करोडभन्दा बढी रकममा खरिद गरिएको अत्याधुनिक महलमा स्थायी बसोबास गर्न पुगेका छन्। साँघुले प्राप्त गरेको भरपर्दो जानकारी र प्रमाणहरू अनुसार सो घर १० करोड २० लाख रुपैयाँमा प्रचण्डका लागि खरिद गरिएको हो। नवल सिंहानिया अग्रवाल नामका बर्मेली मारवाडी व्यापारीको सो घर २०६८ साउन १३ गते शिशु अर्याल नामकी महिलाको नाममा नामसारी भएको मालपोत कार्यालय डिल्लीबजारको रेकर्डमा छ। मालपोत कार्यालयको न्यूनतम मूल्यांकन अनुसार प्रतिआना दश लाख रुपैयाँको दरले ५ करोड २० लाखको थैली देखाइएको छ। जुन कुनै पनि हालतमा पत्यारिलो छैन। कामनपाभित्रको कुनै पनि घरजग्गा नामसारी गर्नुपरेमा सम्बन्धित वडा कार्यालयबाट सिफारिस लिनुपर्ने भएकाले हाल प्रचण्ड बसेको घरका मालिक नवलकिशोर अग्रवालले २०६८ साउनमा घरजग्गाको मूल्यांकनसहित सिफारिस लिएको देखिएको छ। सो सिफारिसमा प्रचण्ड बसेको घर ३ रोपनी जग्गामा फैलिएको र प्रतिआना सरकारी मूल्यांकन १० लाख रुपैयाँ देखिएको छ। चलनचल्तीको मूल्यांकन अनुसार नै पास गर्दा राजस्व नै करिब एक करोड तिर्नुपर्ने भएकाले सरकारी मूल्यांकन अनुसार न्यूनतम करीव ५ करोडमा राजीनामा पास गरिएको स्रोतले जनाएको छ। यद्यपि अग्रवाल परिवारले सो घरको मूल्य १३ करोड भन्दै आएको थियो। प्रचण्डका व्यापारिक साझेदार मानिएका विवादास्पद व्यापारी अजय सुमार्गीको पहलमा सो घर करीव १० करोड ३० लाखमा खरिद गरिएको चर्चा लाजिम्पाटका स्थानीय चल्तापुर्जा व्यक्तिहरूबीच चल्ने गरेको छ। 


को हुन् शिशु अर्याल ?
प्रचण्ड परिवारले सो घर मासिक भाडामा लिएको भने पनि, लाजिम्पाटका स्थानीय र उच्च व्यापारिक घरानाहरूबीच सो घर प्रचण्डकै लागि खरिद गरिएको चर्चा चलेको छ। गत साउन १३ गते नवलकिशोर सिंहानिया अग्रवालबाट ललितपुरकी शिशु अर्यालको नाममा खरिद गरिएको घर तत्काल प्रचण्ड परिवारका कुनै पनि सदस्यको नाममा आउने छैन। शिशु अर्याल को हुन् भन्ने केही खुलेको छैन। कतिपयले शिशु अर्यालको नाममा पास गरेर भित्री कागज अर्कै गरिएको दावी पनि गरेका छन्।

को हुन् नवल सिंहानिया?
नवल सिंहानिया नेपालमा लगानी गरेका सबै उद्योग व्यवसाय र घरजग्गा समेत बेचेर सिंगापुर र चीनको ग्वान्जाओमा पूँजी पलायन गरिसकेका वर्मेली मूलका मारवाडी हुन्। उनीहरूले वर्माबाट नेपाल आएर यहीँको नागरिकता लिएका थिए। ६३ वर्षीय नवल सिंहानीया अग्रवाल त्रिवेणी ग्रुपका मालिक सुवास संघाईका जेठान हुन्। यिनले आफ्ना सम्धी निरन्जन जाटियासँगको साझेदारीमा केही उद्योगधन्दा र प्लास्टिक कम्पनी चलाएका थिए। पछिल्लो समयमा उनीहरूले हेटौंडाको टेक्स्टाइल साझेदारी कारखाना बेचबिखन गरे। त्यस्तै नैकापमा रहेको सामसुङ टिभीको सोरुम, अभय उपचारकेन्द्रसँगैको घर पनि बिक्री गरेका थिए। यसबाट आफ्नो भागमा परेको सबै पैसा उनले विदेश पठाएको बताइन्छ। त्यस्तै साझेदारीमा रहेको शंकर चीम र सो कम्पनी रहेको बानेश्वरको ट्रली बस नजिकैको घर पनि बिक्री गरिसकेका छन्।

सबै सम्पत्ति बेचेर बाँकी रहेको लाजिम्पाटको घर, सिद्धार्थ बैंकले केही समयअघि लिलामीको सूचना समेत निकालेको थियो। यसबीचमा ठूलै डिल गरेर सो घर प्रचण्डलाई उपहारस्वरुप सस्तो मूल्यमा दिएको चर्चा पनि व्यापारिक घरानाहरूमै चलेको छ। उनले घरको पूरै पैसा लिएको र अजय सुमार्गी, अर्जुन शर्मा लगायतको टोलीले प्रचण्डका लागि सो घर किनिदिएको बताएका छन्। जे भए पनि सिंहानीयाले भने ३ रोपनी जग्गामा निर्मित दुईवटा अत्याधुनिक बंगला बेचेर, आफू भने गोल्फुटारमार भाडामा बसेका छन्। सिंहानीयाले धेरै वर्षअघि यो घर ७० लाख रुपैयाँमा किनेका थिए। यिनका माइलो छोरो अशोक सिंहानिया चीनको ग्वान्जाओमा व्यापार गरेर बस्छन्। घर बिक्री गरेर बाँकी रहेको पैसा ग्वान्जाओ गइसकेको पनि बताइएको छ।

किन लुकाइँदैछ? 
प्रचण्डले प्रवेश गरेको नयाँ दरवारको बारेमा प्रचण्ड परिवारबाटै फरक फरक कुराहरू आइरहेका छन्। प्रचण्डपुत्र प्रकाश दाहालले सो घर मासिक ६० हजार रुपैयाँ भाडामा लिएको दावी गरेका छन्। प्रचण्डका स्वकीय सचिवसमेत रहेका भतिजा समिर दाहालले भाडा टुंगो लागिनसकेको बताएका छन् भने अरुले एक लाख ३ हजार मासिक भाडामा लिएको बताएका छन्। भाडा टुंगो नलागी ५ वर्षको सम्झौता कसरी भयो भन्ने प्रश्नको जवाफ प्रचण्ड परिवारले दिएको छैन। त्यस्तै त्यति ठूलो कम्पाउण्डका दुईवटा घर लाजिम्पाट जस्तो ठाउँमा ६० हजारमा कसैले दिंदैन। एकपछि अर्को बाझिने कुरा आइरहेका बेला समिर दाहालले एकजना व्यापारीको सहयोगमा सो घर लिइएको बताएका छन्। ती व्यापारी अजय सुमार्गी हुन् भन्न समेत उनीहरूले नचाहनु झनै रहस्यमय छ। तत्काल सो घर प्रचण्ड परिवारका कुनै पनि सदस्यका नाममा नामसारी नभए पनि केही वर्षपछि नामसारी गर्नेगरी कागज गरिएको हुनसक्ने आशंका गरिएको छ।

स्वेतपत्र जारी गर
जतिबेला एमाओवादी अध्यक्ष प्रचण्ड १० करोडको दरवारमा प्रवेश गर्दै थिए, त्यति नै बेला प्रचण्डकै पार्टी एमाओवादीका एकजना युवा नेता अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपाने ६ महिनादेखि घरभाडा तिर्न नसकेर घरबेटीबाट भागीभागी हिंड्नुपरेको गुनासो फेसबुकमार्फत् नै सार्वजनिक गर्दैथिए। उनले पार्टीमा कमाउने वर्ग र सर्वहारा वर्गको खाडल ठूलो हुँदै गएको कुरा उठाउनु स्वभाविक होला। तर लेखनाथ न्यौपाने जस्ता युवानेताहरूले समेत प्रचण्डको घरको बारेमा स्वेतपत्र जारी गर भनेर खुल्लेआम भन्न अझै सकेका छैनन्। एउटा नेता त्यसमा पनि जनयुद्ध लडेर आएको, पैत्रिक बाहेक अन्य निजी सम्पत्ति जोड्न नपाउने नियम बनाउने पार्टीका अध्यक्षकै घरको बारेमा माओवादी नेताहरू किन मौन बसेका छन्? यदि भाडामै लिएको हो भनें पनि मासिक भाडाको सम्झौता सहितको विवरण पेरिसडाँडाबाट सार्वजनिक गर्नुपर्थ्यो। किनिएको हो वा कसैले उपहार दिएको हो भने पनि त्यो स्पष्ट जनता र कार्यकर्तालाई जानकारी दिनुपर्थ्यो।

साँघुको खुलासा
साँघु साप्ताहिकले २०६८ पुस ११ गते नै प्रचण्ड आफ्नै निजी घरमा सर्ने शीर्षकमा यो घरको बारेमा सबैभन्दा पहिले समाचार प्रकाशित गरेको थियो। यसबीचमा यो घरको बारेमा धेरै हल्ला पनि चले। प्रचण्ड परिवारले शुरुमा त यो सूचना नै लुकाउन खोजेको थियो। यो घर अजय सुमार्गीले डिल गरेको कुरा पनि साँघुले प्रकाशित गरेको थियो। यदि माओवादी पार्टी र प्रचण्ड पारदर्शी छन् भने यो घरको वास्तविकता सार्वजनिक गर्न ढिला गर्नुहुँदैन। 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page