टिस्टुङमा यसरी समातिए डिआइजी


टिस्टुङमा यसरी समातिए डिआइजी



 (मकवानपुर), माघ ११- सुनिता दोङ गत शनिबार साँझ पाँच बजेतिर पति सूर्यसँग मोटरसाइकल चढेर आइरहेकी थिइन्। उनले एउटा अग्लो र मोटो मान्छे ठ्याक्कै त्यही मोडमा देखिन्, जहाँ गत पुस २८ गते एउटा शवका जलेको अवशेष फेला परेको थियो।
अलि वरैबाट पहिलो दृष्टि पर्दा त्यो मान्छे भीरपट्टिको बाटोछेउ दुई रुखबीच पश्चिमतिर फर्केर पिसाब फेरिरहेको थियो। यता बाटोको भित्ता च्यापेर रोकिएको थियो, खैरो रंगको कार।
मोटरसाइकलमा अलि अगाडि बढ्दा त्यो मान्छे पहिलेभन्दा फरक अवस्थामा देखियो। ऊ हतासिएर दायाँबायाँ हेरिरहेको थियो। घरि टाउकोमा हात लगाउँथ्यो, घरि केही पाइला हिँडेर शव भेटिएको भागतिर फर्कन्थ्यो, अनि थचक्क बस्थ्यो।
त्रिभुवन राजपथस्थित मेत्राङको त्यो फराकिलो मोडमा एउटा नौलो मान्छे त्यस्तरी छटपट गरिरहेको देखेर टिस्टुङ-३ नौखण्डेकी सुनिताको मनमा चिसो पस्यो। उनले तत्काल मोटरसाइकल हाँकिरहेका सूर्यलाई रोक्न भनिन्। उनीहरू दुवै करिब सय मिटर परबाट रुखहरूको छेको परेर त्यो मान्छेको गतिविधि नियाल्न थाले।
घरबाट नौबिसेतर्फ दुई किलोमिटर परको झाप्रेमा एउटा पारिवारिक विवाद मिलाएर फर्किरहेकी सुनिताले शंका गरेकी अनौठो अवस्थाका ती व्यक्ति थिए, सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइराला।
यी दोङ दम्पती शंका लागेर पनि चुपचाप आफ्नो बाटो लागेको भए कुरा अर्कै हुनसक्थ्यो। तर, उनीहरू थप दस मिनेट त्यहीँ रोकिएर हेरिरहे। दुवैले यस्ता गतिविधि देखे, जसले रञ्जनको दस दिनअघि भेटिएको शवसँग केही न केही 'शंकास्पद' सम्बन्ध छ भन्ने संकेत दियो।
रञ्जन पहिले उभिएको छेउबाट केही मिटर पर गएर कान्लातिर ओर्ले, जहाँ उनले आफ्नी श्रीमती गीता ढकालको शवको जल्न बाँकी भाग खसालेका थिए। फेरि उनी माथि आए र अलि पर गएर तलै ओर्ले, जहाँ अर्को अवशेष फालिएको थियो। ओर्लंदा, उक्लँदा प्रत्येकचोटि उनी हतासिएर दायाँबायाँ हेर्थे। त्यसपछि पनि उनी शव जलाएकै ठाउँ वरपर घुमिरहे, जहाँ २८ गते हातका हड्डी, घडी लगायत शरीरका केही अवशेष बरामद भएका थिए।
स्थानीय सुनागाभा महिला सञ्जालकी अध्यक्ष रहेर घरव्यवहारसँगै सामाजिक काममा व्यस्त सुनिताले तुरुन्त अर्का स्थानीय मंगल तामाङलाई फोन गरिन्। नौखण्डेमा सुविन स्टुडियो चलाएर बसेका सामाजिक कार्यकर्ता मंगल तुरुन्त साथी चन्द्रलाई लिएर मोटरसाइकलमा आए।
दोङ दम्पत्ती मंगललाई कुरेर बसिरहँदै रञ्जन भने आफ्नो कारमा नौखण्डेतर्फ हुइँकिए। सुनिताले फेरि हतारहतार मंगललाई फोन गरिन्। कारको रंग बताइन्। नौखण्डेवरै रञ्जनको कारले मंगलको मोटरसाइकल 'क्रस' गर्‍यो। उनीहरू कार पिछा गर्ने सल्लाह मात्र गर्दै थिए, रन्जनको कार फर्किरहेको देखियो। कार विपरीत लेनबाट आइरहेको थियो, मंगलको मोटरसाइकललाई ढेप्ने गरी। सूर्यले मोटरसाइकल बाटोमा तेर्स्याए। कार सुस्त भयो, तर रोकिएन। मंगलले सिसा खोल्न भनेर कराए। रञ्जनले सिसा खोले, तर कार रोकिएन। मंगलले सुस्तरी गुडिरहेको कारभित्र हातै छिराएर चाबी थुते। बल्ल गाडी रोकियो।
नौबिसेबाट २५ किमी दुरीमा रहेको त्यो मोडमा रञ्जन कारबाट बाहिर निस्कँदा पसिनाले चिटचिट देखिन्थे।
'तपाईं किन तुरुन्त फर्कनुभएको?' मंगलले ठाडै सोधे।
'रात पर्‍यो, तेल पनि सकियो। हेटौंडा जाउँ भनेको, अब फर्कन्छु काठमाडौं,' उनले सम्हालिन खोज्दै भने।
'इन्डिकेटरमा आधा पनि नसकिएको देखिन्छ। आफ्नै छेउमा बोतलमा तेल राखिरहनुभएको छ त? हामीलाई पनि ड्राइभिङ थाहा छ। झुट कुरा गर्ने?'
पहिलो झट्कामै रञ्जन चुप भए।
'तपाईं यहाँ के गरिरहनुभएको थियो, किन तलमाथि गर्नुभयो। के खोजिरहनुभएको थियो? तपाईंमाथि हामीलाई शंका लाग्यो।'
रञ्जनको बोली लरबरिँदै थियो।
'म पिसाब फेर्दै थिएँ,' उनले बल्लबल्ल भने।
'तपाईं पिसाब फेरेर फेरि किन तल ओर्लनुभयो।'
'दिसा आयो अनि।'
'दुईचोटि तलमाथि गर्नुभो त?'
'दिसा गर्ने ठाउँ नपाएर।'
'कहीँ मान्छे पहिला पिसाब गरेर अनि दिसा गर्न जान्छ। एकैचोटि गर्छ नि,' मंगलले चेपे।
रञ्जन अवाक् भए।
एकोहोरो प्रश्नले रञ्जनको नियन्त्रण गुम्दै गएको थियो। उनी टाउको समातेर 'मलाई मात्र के हुन्छ' भन्दै यताउता गर्न थाले। कान्लातिर हुत्तिन खोज्थे, फेरि फर्कन्थे। घरि सामान्य बन्ने प्रयास पनि गर्थे।
'तपाईंहरूले के मलाई यो जंगलको बीचमा लुट्न खोज्नुभएको?' उनले भने, 'मसँग भएको पैसा लैजानुस्, मलाई आफ्नो बाटो लाग्न दिनुस्।'
'यो जंगल रे, जंगल भएको भए ऊ त्यहाँ, त्यहाँ घर हुन्छ? हामी यही गाउँका मान्छे हौं, यहाँ विभिन्न घटनालाई लिएर हामी अनुसन्धान गर्दैछौं। तपाईंमाथि पनि अनुसन्धान गर्नुपर्‍यो,' मंगलले तुरुन्तै कुरा काटिदिए।
हतास र हड्बडाहटबीच रञ्जनले आफू पनि प्रहरी नै भएको बताउन थाले। कहाँ-कहाँ के-के भइरहेको छ बुझ्ने, अनुसन्धान गर्ने आफ्नो काम भएको दलिल प्रस्तुत गर्न खोजे। अपराध महाशाखाबाट आएको, अपराधी भाग्न नसकोस् भन्ने आफ्नो उद्देश्य रहेको र त्यसमा स्थानीयले सहयोग गर्नुपर्ने उनले बताए। 'प्रहरी भए किन डराइरहेको त' भन्ने प्रतिप्रश्नमा उनी फेरि केही बोल्न सकेनन्।
यसैबीच रञ्जनले सशस्त्र डिआइजीको कार्ड देखाए। मंगललाई कार्ड नक्कली हुनसक्छ भन्ने लाग्यो। 'कार्ड म अहिल्यै जे को पनि बनाइदिनसक्छु, तपाईं अनुसन्धानकै मान्छे भए गर्नोस् आफ्नो काम, तर हामी पनि तपाईंमाथि अनुसन्धान जारी राख्छौं,' मंगलले भने।
त्यतिबेलासम्म घटनास्थलमा संदिग्ध मानिस फेला परेको खबर इलाका प्रहरी कार्यालय पालुङमा भइसकेको थियो। प्रहरी नआउञ्जेल स्थिति सामान्य राख्नु थियो। उनीहरूले त्यहीँ दाउरा जम्मा पारेर आगो बाले। रञ्जनलाई पनि 'नजिक आएर ताप्नोस्' भने। आफूलाई डिआइजी भन्ने मान्छेसँग हतियार हुनसक्छ, प्रयोग गरेर क्षति पुर्‍याउनसक्छ भन्ने डर मंगल र सूर्यको मनमा पस्यो। उनीहरूले दाउरासँगै ढुंगाहरू जम्मा पारे।
'हेर्नोस्, किन अरूलाई दुःख दिनुहुन्छ, कहाँ जानुपर्छ सँगै जाउँ, हिड्नोस् मेरै गाडीमा,' रञ्जन भन्दै थिए। त्यो कुरा मंगललाई झन् शंकास्पद लाग्यो।
डिआइजीको परिचयपत्र देखाइसकेपछि छाडिदेलान् भन्ने आस रञ्जनलाई रहेछ। 'हेर्नोस् मेरो परिचय दिइसकेँ, मलाई अब त छोड्नु होला नि! दिनोस् चाबी,' यसो भन्दा उनले मंगल र सुनिताको खुट्टा समाए।
उनी कहिले प्रफुल्ल बन्न खोज्थे। यसरी नै पहिला पनि केही गाडीलाई अनुसन्धान गरिसकेको मंगलको कुरा सुनेर रञ्जनले उल्टै फुर्क्याउन खोजे, 'तपाईंहरू गाउँका जागरुक युवा। राम्रो काम गर्न खोज्नुभएको छ। अपराधी भाग्न सक्छ, प्लिज मलाई जान दिनोस् काममा। म भोलि चाइना जान लागेको मान्छे।' उनले चीनमा तालिम गर्दाका कागजात पनि देखाएका थिए।

मंगललाई त्यसबेलासम्म 'यिनी अपराधी नै हुन्' भन्ने लागिसकेको थियो। उनी त्यहाँ पक्कै प्रमाण नष्ट गर्न आएका हुन् भन्ने मंगलले ठहर गरे। विस्तारै अरू थुप्रै गाउँलेहरू जम्मा हुन थाले।
स्थानीय किरण आले लगायतले उनलाई कडा लवजमा हप्काए। उनी लुरुक्क परेर कारमा छिरे। ड्राइभिङ सिटमा बसेर आलसतालस पर्न थाले, स्टेयरिङमा टाउको ठोक्न थाले। डेढ घन्टा लामो संवादपछि प्रहरी टोली आइपुग्यो, नायब निरीक्षकको नेतृत्वमा। प्रहरीको रोहवरमा कार खोलियो। रञ्जनको सानो ब्याग खोल्दा त्यहाँ सशस्त्र प्रहरीको तलब बुझेको स्लिप र हिमालयन बैंकको स्टिकरले बेरेका एक लाख रुपैयाँभन्दा बढीको नोटको बिटो निस्क्यो।
स्लिप देखेपछि रञ्जन डिआइजी नै भएको पक्का भए पनि मंगलको शंका मेटिएन। उनले प्रहरीलाई कारभित्रका सबै चिजको सूची बनाउन लगाए। सिटसँगै राखेको पेट्रोल, पछाडि सिटमा राखेको प्लास्टिक रोल र अगाडि ड्यासबोर्डमा राखेको ६ बट्टा सलाई समेत सूचीमा लेखाए।
रञ्जनको बा८च ५४०८ नम्बरको कार एकजना प्रहरीले चलाएर लगे। रञ्जनलाई त्यहाँबाट पालुङ चौकी लगिए पनि मंगल र उनका साथीहरूको मनबाट संशय हटेन। पहुँचवाला मान्छे दबाब लगाएर छुट्नसक्छ भन्ने लागेर उनले नायब निरीक्षकलाई सचेत गराए- 'यदि छोड्नैपर्ने स्थिति आयो भने हामीलाई पाँच मिनेटअघि फोन गर्नोस्। त्यसपछि के गर्नुपर्छ हामी गरौंला।'
नायब निरीक्षकले त्यही कुरा चौकी इन्चार्ज इन्सपेक्टर डिल्लीप्रसाद मैनालीलाई भन्न लगाए। मंगलले मैनालीलाई फोनबाटै सचेत गराए। यति भन्दाभन्दै साढे नौ बजे रञ्जनलाई पालुङ प्रहरीले छाडेको थाहा पाएपछि मंगलले मैनालीलाई फोन गरे। मैनालीले उनी निर्दोष भएको दाबी गर्दै 'माथिको आदेशमा छाड्नुपरेको' जवाफ दिए। मंगलले फोनमै विवाद गर्न थालेपछि मैनालीले 'जिल्ला एसपीलाई फोन गर्नू' भने।
मकवानपुरका प्रहरी प्रमुख एसपी श्याम खड्कालाई राति साढे १० बजे फोन गर्दा मंगलले उल्टै खप्की खानुपर्‍यो। 'तपाईंहरूले जे गर्नुभो, निगरानी गर्नुभो, राम्रै भयो, तर डिआइजीलाई दुःख दिएर गल्ती गर्नुभयो,' श्यामले भने, 'जनपदबाट गएको मान्छे, हाम्रै साथी हो, कहाँ अपराध गर्नसक्छ।'
'तपाईं जेसुकै भन्नोस्, त्यो अपराधी हो। तपाईं जे गर्नोस्, हामी छोड्नेवाला छैनौं,' मंगलले जवाफ दिए।
एसपी खड्कासँगको यो संवादपछि मंगललाई निद्रा लागेन। उनलाई आफूमाथि केही हुने हो कि भन्ने डर लाग्यो। काठमाडौंमा भएका साथीहरूलाई घटनाक्रम बताउँदै फोन गर्न थाले। राति नै साथीहरूले घटनाबारे मानवअधिकारकर्मी, महानगरीय प्रहरी अपराध महाशाखा लगायत उच्च प्रहरी निकायहरूमा खबर पुर्‍याइदिए। साढे १२ बजे उनलाई काठमाडौंबाट 'ढुक्कले सुत्नोस्' भन्ने खबर आयो। उनी निदाउन मात्र के लागेका थिए, एसपी खड्काले फोन गरेर अर्कै कुरा गरे।
'तपाईंहरूले जे गर्नु भो राम्रै गर्नु भो, त्यो मान्छे हामीसँग भए बराबरकै अवस्था हो। नआत्तिनोस्,' उनले मंगललाई आश्वस्त पार्न खोजे।
मंगलले काठमाडौंका साथीहरूलाई घटनाक्रम नबताएको भए पनि कुरा अर्कै हुनसक्थ्यो। रञ्जन त्यतिखेर प्रहरीको पन्जाबाट छुटेर हिँडिसकेका थिए।
भोलिपल्ट बिहान मंगल लगायत केही युवा पालुङ चौकीमै गए, डिआइजी रञ्जनको अवस्था खुलाउन माग गर्दै। उनीहरूले रञ्जनलाई जनतामाझ उपस्थित नगराएको खण्डमा अप्रिय स्थिति बन्ने चेतावनी दिए। त्यहीबेला रञ्जन काठमाडौतर्फ फर्कंदै गर्दा थानकोटबाट समातिएको खबर आयो। उनीहरू घर फर्के।
पुस २७ गते राजधानीको बुढानिलकन्ठस्थित आफ्नै निवासमा पत्नी गीताको हत्या गरी रञ्जनले उनको शव त्रिभुवन राजपथको मेत्राङ पुर्‍याएर जलाएका थिए। माघ ७ गते फेरि गीताको शव जलाइएको ठाउँ पुग्दा नौखण्डेका स्थानीयले रञ्जनलाई र्‍याखर्‍याखती पारेका थिए।
(त्रिभुवन राजपथको मेत्राङस्थित घटनास्थलमा मंगल, सूर्य र सुनितासँग गरेको कुराकानीमा आधारित। )
 
 'फुलीबिनाका आइजीपी'
यसपटक महाभारत पर्वतशृखंलामा रहेको यो सानो बजार ल्होसारको रमझममा निकै झुम्दैछ। यहाँका युवालाई विभिन्न घटनाका कारण अनेक बात लागेको थियो, अनाहकको दुर्नामले गाउँ नै दुखी थियो।
'हामी तामाङहरूलाई बाटो हिँड्नेले पनि फटाहा भनेर खिसी गर्थे। यो प्रकरणबाट हामीले आफ्नो सच्चा परिचय दिएका छौं,' सूर्यले भने। डिआइजी कोइरालाको शंकास्पद गतिविधि हेरेर नियन्त्रणमा लिने काममा पत्नी सुनितासँगै अग्रसरता देखाएका उनलाई अहिले गाउँलेले रमाइलो उपनाम दिएका छन्, 'फुलीविनाको आइजिपी'।
'डिआइजी समात्ने त कम्तीमा आइजिपी नै हुनुपर्‍यो नि,' मंगल ठट्टा गर्छन्।
मंगलले डिआइजी नियन्त्रणमा लिएको घटनालाई सम्पूर्ण गाउँलेको साहस र इमानदारिताको परिणाम भन्न रुचाउँछन्। 'हामीले शव भेटिएदेखि नै त्यो ठाउँमा शंकास्पद गतिविधि हुनसक्छ भनेर अलर्ट गराएका थियौ,' उनी भन्छन्, 'यो हाम्रो सामूहिक उपलब्धी हो।'
महिला सञ्जालकी संयोजक सुनिताले सबैको जिम्मेवारीवोधकै कारण आफ्नो गाउँबाट अपराधी समाउन सकिएको उल्लेख गर्छिन्। 'उसलाई श्रीमतीको आत्माले डोर्‍यायो, हामीलाई देखाउन दैवले पुर्‍यायो,' सामान्य लेखपढ गरेकी उनी गहकिला कुरा गर्छिन्, 'त्यही भएर नै हरेक गल्ती काट्ने गरी हामीले कुरा गर्न सक्यौं।'
गाउँलेहरुको प्रयासमा सूचनाप्रविधि, शिक्षालगायतका क्षेत्रमा विभिन्न काम हुँदै आए पनि सुरक्षाका दृष्ट्रिले नौखण्डे संवेदनशील रहेको मंगल बताउँछन्। 'एउटा प्रहरी चौकी यहाँ राखिदिए हुन्थ्यो,' उनी भन्छन्। 
 
थुनामा रहेका डिआइजी रञ्जनकी 'प्रेमिका' खोज्दै प्रहरी
केपी ढुंगाना, काठमाडौं, माघ ११- श्रीमती हत्याको अभियोगमा पक्राउ परेका सशस्त्रका डिआइजी रञ्जन कोइरालासँग निकट सम्बन्ध देखिएका तारा रेग्मी 'फरार' भएकी छन्। घटनाबारे जानकारी लिन खोजी सुरु गरेपछि उनी सम्पर्कविहीन भएर बसेको प्रहरी स्रोतले बतायो।
अनुसन्धान क्रममा रञ्जन र ताराबीच झन्डै डेढ वर्षदेखि 'घनिष्ठ सम्बन्ध' रहेको खुलेपछि गीता ढकाल हत्याको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरका अधिकारीले उनको खोजी सुरु गरेका हुन्।
'हामी खोजीमा छौं,' अनुसन्धान गरिरहेका काठमाडौं परिसरका एसपी राजेन्द्र श्रेष्ठले नागरिकसँग भने, 'मोबाइल स्विच अफ छ, भेटेका छैनौं।'
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी सदस्य तारा पूर्व राष्ट्रिय भलिबल खेलाडी हुन्।
जावलाखेलमा उनको रेडरोज ओभरसिज म्यानपावर कम्पनी छ। गीता हत्या अभियोगमा आइतबार कोइराला पक्राउ परेलगत्तै उनी सम्पर्कविहीन भएको अनुसन्धान स्रोतले बतायो।
प्रहरीले तारा बस्दै आएको स्वयम्भु र सातदोबाटोको घरमा 'सर्च' गरेको थियो। उनको आफन्तसँग जानकारी लिए पनि केही खुल्न नसकेको स्रोत बताउँछ। रञ्जनले गीताको हत्या आफू एक्लैले गरेको बयान दिए पनि प्रहरीले 'कोही सहयोगी हुनसक्ने' आशंकामा निकट व्यक्तिसँग सोधपुछ गर्न थालेको हो। त्यही क्रममा दुईजना चालक, सुरक्षागार्ड र घरेलु सहयोगीलाई सोमबार बोलाएको थियो। उनीहरूले रञ्जन पटकपटक तारालाई भेट्न सातदोबाटो जाने गरेको बयान दिएका थिए।
'रञ्जनसँग सम्पर्क रहेका व्यक्तिसँग हत्याबारे सोधपुछ क्रममा तारासँग पनि केही बु‰न खोजेका हौं,' अनुसन्धानमा संलग्न स्रोतले भन्यो, 'घटना सार्वजनिक भएको दिनदेखि नै उनी सम्पर्कविहीन बसेकाले हाम्रो शंका बढाएको छ।'
स्रोतअनुसार पुस २७ गते गीताको हत्या गरी पालुङमा शव जलाएपछि पनि दुईबीच भेट भएको खुलेको छ। रञ्जन चीनको तालिमबाट विदामा फर्कंदा विमानस्थलबाट सोझै सातदोबाटोमा तारालाई भेट्न गएको अनुसन्धानमा थाहा भएको छ। त्यसनिम्ति उनले सशस्त्रबाट प्राप्त सुविधाको गाडी प्रयोग गरेका थिए।
गीतासँग मनमुटाव हुन थालेपछि रञ्जन स्वयम्भुमा घर बनाएर बसेका थिए। तारा सातदोबाटोमा बस्ने गरे पनि स्वयम्भुको घरमा समेत उनको आउजाउ बाक्लो रहेको सहयोगीबाट खुलेको छ। गीताका आफन्तले समेत दुवैबीच निकट सम्बन्ध रहेको बताएका छन्।
'उनीहरूले बिहे नै गरेको पुष्टि हुन सकेको छैन,' स्रोतले भन्यो, 'तर, लामो समयदेखि सँगै बस्ने गरेको देखियो।'

औपचारिक बयान भएन
पक्राउ परेको तीन दिन बित्दासमेत प्रहरीले रञ्जन कोइरालासँग औपचारिक बयान लिएको छैन। काठमाडौं जिल्ला अदालतले उनलाई पाँच दिन हिरासतमा राख्न दिएको अनुमति दुई दिन मात्रै बाँकी छ।
अनुसन्धान स्रोतका अनुसार उनीसँग काठमाडौं परिसर र अपराध महाशाखाका अधिकारीले घटनाबारे अनौपचारिक जानकारी मात्र लिएको छ। उनी 'डिप्रेसन'को अवस्थामा रहेकाले औपचारिक बयान नलिएको अनुसन्धान अधिकारी बताउँछन्।
स्रोतका अनुसार उनले अझै पूरा घटना नबताएकाले अनौपचारिक सोधपुछ सकाएर बुधबारदेखि सरकारी वकिलको रोहवरमा औपचारिक बयान लिने तयारी गरिएको छ।
'तनावमा भएको व्यक्तिले सहज रूपमा बयान दिन सक्दैन,' एक अनुसन्धान अधिकारीले भने, 'केही दिन त्यत्तिकै छोड्यो भने आत्मग्लानी भएर सबै घटना बताउनसक्छ।'
थुनुवा कक्षको पश्चिम कोठामा राखिएका उनी पक्राउ परेको दिनभन्दा मंगलबार केही तनावमुक्त देखिएको स्रोतले बतायो। पक्राउ परेदेखि परिवारका कुनै सदस्य भेट्न आएका छैनन्।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page