कहाँ जोडिन्छ विस्फोटको तार ?


कहाँ जोडिन्छ विस्फोटको तार ?


 
"नेपालभरिको नेटवर्कमा जुनसुकै बेला जे पनि हुनसक्छ, सावधान हुनु बम पड्काइदिन्छौँ," माघ महिनाको अन्तिम साता महाराजगन्जस्थित एउटा चिनियाँ कम्पनीका कर्मचारीले संयुक्त जातीय मुक्ति मोर्चाका नाममा मोबाइल एसएमएसमार्फत यस्तै धम्की पाइरहे। परम्परागत चिनियाँ विधिबाट औषधी बनाउँदै नेपालभर नेटवर्किङ्मार्फत कारोबार गररिहेको टाइन्स नेटवर्किङ्लाई मोर्चाका देपराज लामा तामाङ उर्फ 'विश्वक्रान्ति'ले रकम माग गर्दै यसरी धम्क्याएका थिए। कम्पनीले उनलाई पैसा दिन भ्याएको थिएन, त्यसैले विस्फोटनको त्रासले पनि छोडेको थिएन। त्यस कम्पनीका कर्मचारी टिम्बर राई मोबाइल एसएमएसमार्फत देपराजको धम्की आएको पुष्टि गर्दै भन्छन्, "बम पड्काउँछ कि भन्ने डर लागिरहेको थियो।"

आखिर बम पड्क्यो तर चिनियाँ कम्पनीमा होइन कि सिंहदरबार सामुन्ने आयल निगमको मूलगेटमा। तीन जनाको ज्यान लिने उक्त शक्तिशाली बम पड्काएपछि तिनै देपराज यतिबेला प्रहरीको खोजीमा छन्। बम काण्डमा देपराजको नाम आएपछि त्यो चिनियाँ कम्पनीले पनि आफूलाई आएको धम्कीको विवरण प्रहरीलाई दिएको थियो।

अनुसन्धानका लागि धम्कीको एसएमएसमार्फत अघि बढ्दै जाँदा दलमर्दन कामी (प्रभाव) नामको व्यक्तिले देपराजलाई संयुक्त जातीय मुक्ति मोर्चाको गलत प्रयोग नगर्न सल्लाह दिँदै पठाएका सन्देशहरू पनि फेला परेका छन्। "हामीले जनताको राजनीति गर्ने हो। देपराजजी तपाईंले गरेको काम राजनीति होइन, त्यसले गर्दा हामी बदनाम भएका छौँ र अप्ठ्यारोमा पनि परेका छौँ।" कामीका यस्ता कम्तीमा पाँचवटा एसएमएस भेटिँदा सो समूहमा विभाजन आएको अनुमान गरएिको छ। तर, कामी नै पनि प्रहरीको सम्पर्कमा पुगेका छैनन्, जसले बमकाण्ड र यसको वास्तविक उद्देश्यसहित 'कनेक्सन' खुल्न सजिलो बनाओस्।



पूर्वसूचनासहित विस्फोट

विश्वक्रान्तिले राजधानीमा ठूलो घटना गराउन लागेको जानकारी विभिन्न व्यक्तिलाई दिएका थिए। स्रोतको दाबीमा केही वर्षअघिसम्म आफू संलग्न रहेको नवजनवादी मोर्चाको सम्पर्कमा रहेका व्यक्तिहरूलाई उनले उथलपुथल हुँदै गरेको बताएका थिए। त्यसैगरी केही टेलिभिजन च्यानलसँग पनि यिनले विगत केही दिनदेखि निरन्तर फोन सम्पर्क राखिरहेका थिए। घटनालगत्तै लामो अन्तर्वार्तासहित जिम्मेवारी लिएका उनले त्यसको तीन दिनअगावै राजधानीमा बम विस्फोट गराउने सूचना दिएका थिए। यस सूचनाका आधारमा सशस्त्र प्रहरीको बम डिस्पोजल टोलीलाई सम्भावित ठाउँमा परचिालनसमेत गरएिको थियो। तर, चक्रपथबाहिरको धापासीमा विस्फोटन हुन लागेको सूचना दिएर उनले सिंहदरबारको छेउमै बम पड्काएका थिए।

आततायी घटनाको सगर्व जिम्मा लिने विश्वक्रान्तिले १८ जेठ ०६७ मा नेकपा एमालेका सभासद्लाई नै थर्काएर चन्दा असुलेका थिए। घटनालगत्तै उनी पक्राउ पनि परे। तर, चन्दा दिन बोलाएर पक्राएको भन्दै उनले सभासद् लक्की शेर्पालाई धम्क्याएका थिए। १९ जेठ ०६७ बौद्धमा पक्राउ पर्दा सभासद् शेर्पासँग असुलेको १० हजार रुपियाँसमेत यिनको साथमा थियो। त्यतिखेर १५ हजार रुपियाँ धरौटी राखेर हिरासतमुक्त भएका यिनले ३१ साउन ०६८ मा सभासद् शेर्पाको भौतिक सम्पत्ति र घर सात दिनभित्र खाली गर्न उर्दी गरेका थिए। त्यसयता सभासद् शेर्पालाई सरकारी सुरक्षा उपलब्ध गराइएको छ।

चन्दा नदिए बम पड्काइदिने धम्की दिने र पहाडी जिल्ला तथा बस्तीहरूमा बम पड्किने घटना पनि बढ्न थालेपछि अनुसन्धानबाट त्यसमा विश्वक्रान्ति समूहको संलग्नता फेला पर्‍यो। १९ जेठ ०६७ मा बौद्धमा पक्राउ परेपछि थुप्रै विस्फोटनका एक्लो जिम्मेवार देखिएका यिनको सम्पर्क को-कोसँग छ भन्ने अनुसन्धान थालिएको थियो। गृह मन्त्रालय स्रोतका अनुसार त्यसबेला प्रहरी प्रधान कार्यालयकै तर्फबाट मन्त्रालयलाई गरएिको बि्रफिङ्मा देशको वर्तमान राजनीतिक परविर्तनलाई नरुचाउने व्यक्ति तथा गुटको भित्री सहयोगमा विश्वक्रान्तिको समूह क्रियाशील रहेको विवरण दिइएको थियो। "तत्कालीन गृहप्रशासनले यसबारे थप अध्ययनको आवश्यकता औँल्याएको पनि हो," गृहका एक अधिकृत भन्छन्, "जोसँग सम्पर्क देखियो, तिनलाई पक्राउ गरहिाल्ने यथेष्ठ प्रमाणको अभाव भएकाले त्यसबेला यो विषय अघि बढ्न सकेन।"

पुरातनवादी राजनीतिक चाहनाका लागि काम गररिहेकाहरूमाथि समेत सरकारले विचार गर्नुपर्ने आवश्यकताका बारेमा त्यसबेला छलफल भएको स्रोतको दाबी छ। तत्कालीन गृहसचिव गोविन्दप्रसाद कुसुम त्यतिखेर गैरराजनीतिक आपराधिक समूहका क्रियाकलापहरू निस्तेज पार्न र नियन्त्रण गर्न सुरक्षा निकायलाई चनाखो रहन निर्देशन दिइएको स्मरण गर्छन्। भन्छन्, "विशेष सुरक्षा कार्यक्रम यिनै गतिविधि नियन्त्रणका लागि ल्याइएको थियो।"

देशको प्रमुख प्रशासनिक केन्द्र, सिंहदरबारबाट सय मिटरको दूरीमा भएको यस घटनापछि निहित राजनीतिक स्वार्थपूर्ति गर्ने उद्देश्यले आपराधिक समूहको प्रयोग गरेर आतंकित गर्ने प्रयास सुरु भएको अर्थमा विश्लेषण हुन थालेको छ। पूर्वगृहसचिव तथा हाल प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेल संविधानसभाबाट संविधानको अन्तिम मस्यौदा तयार भइरहँदा यो घटना भएकाले यसलाई अर्थपूर्ण रूपमा लिनुपर्ने बताउँछन्। भन्छन्, "अब बन्ने संविधानबाट आफ्ना निहित स्वार्थ पूरा गर्न सकिँदैन भन्ने र संविधानसभा नै चाहिँदैन भन्नेहरूले अन्तिम विन्दुमा आफ्ना सबै शक्ति प्रयोग गर्छन्। यी तत्त्व को-को हुन् र तिनका क्रियाकलाप रोक्न के-के गर्नुपर्छ भन्ने कुरातर्फ तत्काल ध्यान दिनु जरुरी छ।"

यसैबीच, बबरमहल विस्फोटमा बम राख्ने व्यक्तिलाई प्रहरीले १९ फागुन बेलुका राजधानीबाट पक्राउ गरेको उच्च प्रहरी स्रोतको दाबी छ ।



विश्वक्रान्तिको संलग्नता

विश्वक्रान्तिको समूहका धेरै व्यक्ति संघीय समाजवादी आन्दोलन नामको विचार समूहमा संलग्न देखिन्छन्। शाहीकालीन एक मन्त्रीले नेतृत्व गरेको यस समूहमा सेनाका अवकाशप्राप्त कप्तान खड्गबहादुर देवान उर्फ 'नवीन किराँती'को संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी पनि छ। यसमा आदिवासी जनजाति अधिकार मञ्च, तराई थरूहट पार्टी, देशभक्त नेपाल पार्टी, संघीय लिम्बूवान राज्यपरष्िाद्, बुद्धछिरङिले नेतृत्व गरेको ताम्सालिङ स्वायत्त राज्यपरष्िाद्समेत मिलेर शान्तिपूर्ण आन्दोलनका लागि यस्तो विचार समूह बनाएका हुन्।

गृहको विवरण अनुसार माओवादी नेता गोपाल किराँती -हाल संस्कृतिमन्त्री)को नेतृत्वमा बनेको किराँत मुक्ति मोर्चाबाट छुट्टएिर अनन्त क्रान्तिले किराँत जनवादी वर्कर्स पार्टी बनाए। त्यतिबेलादेखि नै विश्वक्रान्ति अनन्त क्रान्तिसँग जोडिएका थिए। र, सँगै थिए, नवीन किराँती। अध्यक्षका रूपमा नवीनले जनवादी वर्कर्स पार्टी चलाउँदै आए भने अनन्त क्रान्तिसहित विश्वक्रान्तिको टोलीले सानो समूह बनाई ०६६ सालमा संयुक्त जातीय मुक्ति मोर्चा बनायो। सहकार्यमै रहेका यी दुवै समूह तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको समयमा शान्ति वार्तामा पनि सहभागी भएको देखिन्छ।

विश्वक्रान्तिका आपराधिक गतिविधिको शृंखला हेर्दा त्यसका लागि सानोतिनो लगानीले मात्र सम्भव देखिँदैन। तर, उनले कहाँकहाँबाट रकम उठाएका छन् वा प्राप्त गरेका छन् भन्ने कुराको अनुसन्धान प्रहरीले कहिल्यै गरेको छैन। यी घटनाको योजना कार्यान्वयनका लागि लाग्ने खर्च ठूलै हुने प्रहरीका उच्च अधिकारीहरू पनि स्वीकार गर्छन् तर त्यो कहाँबाट जुटेको छ भन्ने अध्ययन हुन बाँकी नै रहेको भन्दै पन्छिन्छन् पनि। यद्यपि, प्रहरीलाई पनि उनले उठाएको चन्दाको विवरण र अपराधका बीचमा तालमेल नमिलेको भन्नेचाहिँ लागेको छ। किनभने, चन्दाका लागि धम्कीभन्दा पनि विस्फोटनका घटनाको शृंखला धेरै छ। यसको स्पष्ट अर्थ हो, उनका लागि रकमको बन्दोबस्ती कुनै अदृश्य स्रोतमार्फत भइरहेको छ। हालसम्मको अनुसन्धानमा होटल तथा पर्यटन क्षेत्रसँगै केही राजनीतिक व्यक्तिहरूसमेत उनको सम्पर्कमा देखिएका छन्। अनुसन्धानमा सक्रिय छानबिन समितिका संयोजक डीआईजी उपेन्द्रकान्त अर्याल सम्भव भएसम्मका सबै साधन-स्रोत लगाएर तथ्य पत्ता लगाउने प्रयास भइरहेको बताउँछन्। भन्छन्, "मुख्य अभियुक्त पक्राउ परेपछि जे-जे छ, सबै कुरा खुल्छ।" उनले अनुसन्धान प्रक्रियामै रहेकाले विश्वक्रान्तिको सम्पर्कका बारेमा बताउन चाहेनन्।

बम विस्फोटका अभियुक्त विश्वक्रान्तिको संयुक्त जातीय मुक्ति मोर्चा नामको भूमिगत संगठनमा अधिकांश द्वन्द्वका समयमा माओवादीमा सक्रिय रहेका लडाकू भएको पत्ता लागेको छ। शान्ति प्रक्रियामा सामेल भएपछि असन्तुष्ट भएकाहरूलाई जातीयताका नाममा यिनले संगठित गरेका हुन्। माओवादी नेतृत्वसँग असन्तुष्ट केही पूर्वलडाकू यिनको संगठनको केन्द्रीय कमिटीमा छन्। स्रोतका अनुसार सुरुमा मुख्य कमान्डर अनन्त खम्बु -मुक्तिदाता) रहेको संगठनमा विश्वक्रान्ति प्रवक्ता थिए। सरकारले भूमिगत संगठनहरूसँग समेत वार्ता गर्ने नीति बनाएपछि यिनी वार्ता कमिटीको संयोजक पनि तोकिए। तर, वार्ताकै क्रममा आन्तरकि विवाद भएपछि मुक्तिदाताको नेतृत्वबाट छुट्टएिर मोर्चाको नेतृत्व अनन्त क्रान्तिका नाममा सरेको घोषणा पनि यिनैले गरे। यद्यपि, अनन्त क्रान्ति उपनामको व्यक्ति हालसम्म जातीय आन्दोलनका दौरान कतै पनि फेला नपरेको प्रहरीको भनाइ छ। विश्वक्रान्तिको पूर्वमाओवादीहरूसँगको सहकार्यका कारण बहिर्गमित लडाकू र कतिपय माओवादी नेताहरूसँग पनि उनको सम्पर्क रहेका विवरण प्रहरीलाई प्राप्त भएको स्रोतले जनाएको छ।

विभिन्न स्थानमा बम पड्काएको आरोपमा प्रहरीले खोजी गररिहेको ताम्लिङ बम समूहसँग पनि यिनको सम्पर्क देखिएको छ। एमाले नेता भीम रावल गृहमन्त्री भएका बेला प्रहरीले मन्त्रालयमै गरेको बि्रफिङ्मा पनि यो कुरा खुलेको शान्ति सुरक्षा महाशाखाका एक अधिकृतको दाबी छ। जस अनुसार दु मानव भन्ने अर्को समूह तथा मंगल पाण्डे नामक व्यक्तिले नेतृत्व गरेको भूमिगत नेपाली लिट्टे समूहसँग पनि सम्पर्कमा रहेर यिनले आपराधिक काम गर्ने गरेका छन्।

राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाको कार्यालयमा बम प्रहार गरी संघीयताको विपक्षामा बोल्नेहरूलाई आतंकित बनाउन खोजेको सन्देश दिन खोजेका थिए। तर, भित्री राजनीतिक उद्देश्य बेग्लै रहेको र यिनका विभिन्न सम्पर्कहरूबारे जानकारी प्राप्त हुँदा पनि पनि सरकारले खासै सजगता अपनाएन। फलस्वरूप बबरमहल बम विस्फोटको घटना हुन पुगेको छ। यति हुँदा पनि उपप्रधान तथा गृहमन्त्री विजय गच्छदारले घटना सुरक्षा कमजोरीले नभई चुनौती भएको बताएर उम्केका छन्। आदिवासी, जनजाति, दलित गणतान्त्रिक मोर्चाका संयोजक किशोर विश्वास विस्फोटले सरकार र गृहमन्त्रीको सुरक्षा व्यवस्थाको नालायकीलाई छताछुल्ल पारेको बताउँछन्। भन्छन्, "आमनागरकिको हत्या हुँदा पनि सुरक्षा चुनौती मात्रै भन्नु गैरजिम्मेवारीको पराकाष्ठा हो।"





कस्तो बम ?

सकेटभित्र बारुद कोचेर बनाइएको सकेट बम भए पनि यो कसरी पड्कियो भन्नेबारे अनुसन्धान कार्यमा खटिएको प्रहरी टोली नै अन्योलमा छ। आयल निगमको केन्द्रीय कार्यालय, बबरमहलको मूल ढोकाछेउमा थुप्रेको फोहोरको नजिकै विस्फोट भएको यो शक्तिशाली बमलाई सुरुमा प्रहरीले टाइम बम भनेको थियो। तर, त्यसमा फिट हुनुपर्ने समय सूचक घडीका अवशेषहरू फेला परेनन्। उक्त बम 'मेकानिकल डिभाइसेज' -यान्त्रिक औजार)को प्रयोग गरी विस्फोट गराइएकोतर्फ प्रहरीले अनुसन्धान थालेको छ।





विश्वक्रान्तिको आपराधिक शृंखला

भदौ ०६६ : ओखलढुंगाको सदरमुकाममा बम आतंक।

भदौ ०६६ : भोजपुरको सदरमुकामका मुख्य चोकमा बम आतंक।

मंसिर ०६६ : गाईघाट-उदयपुरका सडकमा बम आतंक।

१३ मंसिर ०६६ : राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाको काठमाडौँस्थित केन्द्रीय कार्यालय, धादिङको महादेवबेँसीस्थित क्रसर उद्योगमा बम प्रहार, बारा, पर्सा र रौतहटका सदरमुकामस्थित सडकमा बम आतंक।

मंसिर ०६६ : उदयपुरको मुकुर्मीमा ल्यान्डमाइन बिछ्याएको।

पुस ०६६ : झापा र पाँचथरका विभिन्न ठाउँमा बम प्रहार।

पुस ०६६ : उदयपुरका महेश्वर रेग्मी भन्ने व्यक्तिको घर र गाडीमा बम प्रहार, गाडीमा क्षति।

माघ ०६६ : नवलपरासीको सुस्तामा बम विस्फोट, उदयपुरका विभिन्न स्थानमा तीनवटा सकेट बम विस्फोट।

फागुन ०६६ : गाईघाट बजारको सडकमा बम राखेको।

चैत ०६६ : उदयपुरको जंगलमा काठ बोकेको ट्रयाक्टरमा बम विस्फोट।

वैशाख ०६७ : धादिङको महादेवबेँसी गाविस भवनमा पेट्रोल बम प्रहार।

१४ जेठ ०६७ : हेटौँडा सिमेन्ट उद्योगअघिल्तिर बम प्रहार।

१६ जेठ ०६७ : धादिङको नौबीसे गाविस भवनमा बम प्रहार।

१६ जेठ ०६७ : सिन्धुपाल्चोक सडक खण्डमा अरनिको यातायातमा बम प्रहार।

२७ जेठ ०६७ : उदयपुर जिल्लाका गाविस सचिवहरूको संगठनका अध्यक्ष गोकर्ण कार्कीको घरमा बम प्रहार।

१३ मंसिर ०६७ : सर्लाहीको नारायणखोलाछेउको सार्वजनिक स्थानमा बम प्रहार। यही दिन हेटाँैडा बजारको सडक चोकमा बम राखेको।

१८ जेठ ०६८ : नेकपा एमालेका सभासद् बौद्ध, तीनचुली निवासी लक्की शेर्पासँग १० हजार चन्दा असुल।

१९ जेठ ०६८ : चन्दा रकमसहित बौद्धबाट पक्राउ।

२४ जेठ ०६८ : गाविस सचिव हकहित संरक्षण मञ्चलाई पत्र लेखी गाविस खाली गर्न धम्की।

३१ साउन ०६८ : एमाले सभासद् शेर्पालाई सुराकीको आरोप लगाउँदै चलअचल सम्पत्ति सात दिनभित्र खाली गर्न धम्की।

१५ असोज ०६८ : धादिङबाट थुनामुक्त।

१२ फागुन ०६८ : धादिङको गोगनपानीस्थित एनसेल टावरमा सुतली बम प्रहार।

१५ फागुन ०६८ : नेपाल आयल निगम केन्द्रीय कार्यालय बबरमहलको मूलगेटमा शक्तिशाली बम विस्फोट।





नेविसंघ-एमाले हुँदै अपराधतिर

धनकुटामा १२ वैशाख ०३२ मा जन्मिएका देपराज लामा तामाङले त्रिचन्द्र क्याम्पस काठमाडौँमा एमए पढेका थिए। क्याम्पसले जारी गरेको परचियपत्रको मिति हेर्दा उनी विद्यार्थी जीवनसँगसँगै अपराधकर्ममा सामेल भएको देखिन्छ। जस्तो ः ३१ चैत ०६६ मा जारी उनको परचियपत्रको अवधि ३० चैत ०६७ सम्म छ।

०४५ सालमा जल्पादेवी मावि धनकुटामा पढ्दा नेविसंघ एकाइ कमिटीको सभापति भएको, एमालेले सरकारको नेतृत्व गरेका बेला ०५१ सालमा एमालेको क्षेत्रीय उपाध्यक्ष हुँदै विभाजनका बेला तत्कालीन नेकपा मालेमा लागेका यिनी त्यसको बुद्धिजीवी संगठनको केन्द्रीय सदस्य पनि रहे। त्यसपछि हाल सञ्चालनमा नरहेको एक ट्राभल्स तथा ट्रेकिङ् कम्पनीमा काम गरेका उनी ०५८ सालतिर विदेशिएका थिए। क्यानाडा पुगेका उनले पछि अफगानिस्तान गएर त्यहाँको विदेशी सेनाको क्याम्पमा केही तालिमसहित गर्न पाएका थिए।

डेढ वर्ष त्यहाँ काम गरेर फर्किएपछि यिनी राजनीतिक शक्तिकेन्द्रहरूनिकट रहने प्रयास गर्दै विभिन्न संगठनमा पुगेका देखिन्छन् । ०६३ सालमा नेपाल जनतान्त्रिक तामाङ मोर्चाको संयोजक घोषणा गरएिका यिनी रामराजाप्रसाद सिंहको नवजनवादी मोर्चाको केन्द्रीय उपाध्यक्ष पनि भएका थिए। ०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा उनी नवजनवादी मोर्चाकै उम्मेदवारका रूपमा काठमाडौँ क्षेत्र नं ३ बाट उम्मेदवार थिए र निर्वाचनमा उनले १ सय १९ मत मात्र ल्याएका थिए। सिंह माओवादीको समर्थनमा राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुँदा यिनी उनको प्रतिनिधिसमेत बसेको रेकर्ड पाइएको छ। १५ जेठ ०६६ मा संयुक्त जातीय मुक्तिमोर्चाको गठन भएपछि सशस्त्र विद्रोह गर्ने भन्दै यिनी आपराधिक गतिविधिहरूमार्फत एकाएक विश्वक्रान्तिका नामले प्रकट भएका थिए।





विस्फोटमा क्षति

बबरमहलमा भएको विस्फोट यसअघि राजधानीमा भएका विस्फोटनहरूमध्ये सबैभन्दा ठूलो हो र यसले गरेको मानवीय क्षति पनि कम हृदयविदारक होइन। विस्फोटनमा परेर काठमाडौँ जिल्ला अदालतमा जग्गा धरौटी राख्न आएका धादिङ, बैरेनीका कृष्णबहादुर तामाङ, ३५, वीरबहादुर लामा, ६५, को घटनास्थलमै र मानबहादुर तामाङ, ७०, को अस्पताल लैजाँदै गर्दा निधन भयो। घटनामा बारा घर भएका सोमबहादुर तामाङ गम्भीर घाइते छन् भने ताथली भक्तपुर बस्ने रेडियो नेपालका कर्मचारी रघुनाथ खड्का, धादिङकै लालबहादुर तामाङ, ललितपुर, लुभुका वासु श्रेष्ठ, कैलाली, धनगढीका विष्णु फुलारा, अछाम, मष्टामाडाँैका मानबहादुर कुँवर र भीमबहादुर कुँवर घाइते भएका छन्।

विस्फोटनमा परी ज्यान गुमाएका र घाइते भएका धादिङका एकै परविारका तीन बाबुछोरालाई स्वर्गीय राजा वीरेन्द्रका हेलिकप्टर गुरु क्याप्टेन रवीन्द्रप्रसाद प्रधानकी बुहारी विनीता प्रधानलाई जेलमुक्त गराउन अदालत परसिरमा ल्याइएको प्रारम्भिक अध्ययनले देखाएको छ। प्रधान नेपाल सेयर मार्केट तथा बैँकको ठूलो रकम नबुझाएको अभियोगमा पक्राउ गरी अदालतमा हाजिर गराइएकी थिइन्। अदालतले तोकेको रकम धरौटी राख्न प्रधान परविारले नवराज अधिकारी नामका व्यक्तिलाई जिम्मा दिएर डाँडापाखाको रुखोबारी मूल्यांकन गराउँदै थियो। यसैक्रममा त्यस्तो जमिनका मालिक खोज्ने क्रममा धादिङको यो तामाङ परविारलाई जग्गाको स्थानीय मूल्यभन्दा बढी रकम दिएर धरौटी राख्नका लागि मञ्जुर गराइएको थियो। यही कारण उनीहरू केही दिनदेखि जिल्ला अदालत धाइरहेका थिए। उनीहरू लालपुर्जा बुझाएर सनाखतका लागि पालो कुर्दै पर्खाल आसपासमा उभिएका बेला विस्फोटनमा परेका थिए।

 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page