‘रअ’ का प्रमुख किन आए र गए?


भारतीय जासुसी संस्था रिसर्च एण्ड एनालाईसिस विङ ‘रअ’ का प्रमुख आलोक जोशी किन नेपाल आए र फर्किए भन्ने कुराले नेपालको जासुसी संस्था राष्ट्रिय अनुसन्धान विभाग ‘राअ’ लाई टाउको दुखाईको विषय बनेको छ। संविधानसभा निर्वाचनबारे परामर्श गर्न गत साउन ३० (१४ अगस्ट) मा नेपाल आएर डेढ साता पछि फर्किएका भनी प्रचार गरिएका जोशी नेपालमै हुँदा मुम्वई हमलाका कुख्यात अपराधी अब्दुल करिम टुण्डा नेपालमा नै पक्राउ परेको कुरालाई लिएर विभिन्न टिका टिप्पणी उठाइएका छन्। स्रोतका अनुसार टुण्डालाई नेपाल प्रहरीको विशेष व्यूरोले काठमाडौंबाट पक्राउ गरी भारतीय प्रहरीलाई जिम्मा लगाएको थियो। तर गत साउन ३० मा भारतले पत्रकार सम्मेलन गरी टुण्डा नेपाल–भारतको सीमा बनबासाबाट पक्राउ परेको दावी गरेका थियो। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले पनि टुण्डा काठमाडौंमै पक्राउ परेको समाचार बनाएपछि नेपाल प्रहरीले बाध्य भएर कुनै पनि अपराधीलाई संरक्षण नदिइएको र टुण्डा काठमाडौंबाट पक्राउ नपरेको दावी गरेको छ। टुण्डाको विषयमा गत अगस्ट ६ मा भारतीय अनलाईन संस्करण जागरण डटकममा टुण्डा पनिस्तानको कराँची शहर छाडी दुबई हुँदै नेपाल आएको उल्लेख गरिएको थियो। टुण्डालाई भारतीय खुफिया एजेन्सीले दुवईबाट नै पिछा गरेरहेको समेत उक्त अनलाईनमा समाचार प्रकाशित भएको थियो। टुण्डालाई निरन्तर खुफिया एजेन्सीले पिछा गर्नु र ‘रअ’ का प्रमुख नेपालमै हुँदा टुण्डा पक्राउ पर्नुलाई संयोगमात्र मान्न सकिंदैन। प्रहरीको विशेष व्यूरो स्रोतका अनुसार टुण्डा पक्राउ पछि ‘रअ’ का प्रमुख जोशीले टुण्डाका सहयोगी जकी उर रहमान लखवी, बाधवा सिंह, रतनदीप सिंह, अब्दुल अजीजलगायतको विवरण दिएका छन्। कुख्यात अपराधी दाउद इब्राहिम र हार्पि्कज सहिदको विषयमा भने भारतीय खुफिया एजेन्सीले नै विशेष निगरानी गरिरहेको बताइएको छ।
यी सबै जनाविरुद्ध सन् १९९८ मा रेडकर्नर नोटिस जारी गरिएको थियो। स्रोतका अनुसार अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरू लस्कर ए तैयवाका हाफिज सहिद, जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजर र दाउद इब्राहिमसँग टुण्डालाई जोडेर हेरिएका कारण नेपाल प्रहरीले यी व्यक्तिका नेपालमा रहेका सहयोगीहरूको बारेमा खोजी शुरु गरेको छ। पाकीस्तानमा सुल्तान शाहको नामबाट परिचित हाउदले सिपिङ इन्डस्ट्रिज, एयरलाइन्स, गार्मेन्ट फ्याक्ट्री, रियल स्टेट र क्यासिनोको व्यापार पाकिस्तान मात्र नभई थाइल्याण्ड, नेपाल, श्रीलंका, दुवई, जर्मनी र अफ्रिकाका केही देशमा कारोबार गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। नेपालमा पनि दाउदको संभावित लगानी रहेको भन्दै गार्मेन्ट, क्यासिनो, हाउजीङ र अस्पतालहरूमा समेत प्रहरीले निगरानी बढाएको स्रोतको दावी छ। यसरी ‘रअ’ का प्रमुख जोशी संविधानसभा निर्वाचनको परामर्श गर्न नेपाल आएको समाचार बाहिर आएपनि भित्री उद्देश्य भने मुम्वई हमलाका अपराधी टुण्डाको पिछा गदै नेपालमा नै पक्राउ गर्न सफल हुनु रहेको उनैका क्रियाकलापबाट पुष्टि हुन्छ। तर यस बारेमा नेपालको गुप्तचर संस्था ‘राअ’ ले कुनै सुईंको समेत नपाउनुलाई ‘राअ’ को असफलताको रुपमा लिइएको छ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page