१४ जेठ, काठमाडौं । ‘नेता बिरामी हुँदा लाखौं खर्च गरेर विदेश लैजान्छन्, मुकेशलाई एकपटक विदेश लगिदिनुभन्दा सुन्दैनन्’, ९ वर्षदेखि ओछ्यानमा परेका जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मीरा कायस्थले गणतन्त्र दिवसको पूर्वसन्थ्यामा अनलाइनखबरसँग भनिन्,- ‘विदेश लगेर औजार उपकरण भएको ठाउँमा उपचार गर्न सके केही राम्रो हुन्थ्यो भन्ने आश छ । नभए पनि मनलाई सन्तोष हुने थियो, तर, सरकारले हाम्रा कुरा सुनेन ।’
हुन पनि सत्तामा बसेर हालीमुहाली गरेका गोविन्दराज जोशीलाई राज्यले एयर एम्बुलेन्स उपलब्ध गरायो, केपी ओलीलाई विदेशमा लाग्ने सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्यो । तर, जनआन्दोलनमा देब्रे कन्चटमाा गोली लागेर घाइते बनेका बालक मुकेश कायस्थले भने ओछ्यानमा सुतेरै बाल्यकाल गुजार्दा पनि उनलाई अहिलेसम्म विदेश उपचार गर्न लगिएको छैन ।
आखिर लोकतान्त्रिक गणतन्त्र कसलाई आएको रहेछ ? मुकेश कायस्थहरुलाई या गोविन्दराज जोशीहरुलाई ? जसले गणतन्त्रको विरोध गरेका थिए, तिनैले राज्यबाट उपचार खर्च पाइरहेका छन् । गोली खानेहरुको घाऊ चहर्याइरहेको छ, गोली हान्नेहरुले फुली थपिरहेका छन् ।
दोस्रो संविधानसभा चुनावपछि जनतामा संविधान बन्ने झिनो आशाको त्यान्द्रो पलाएजस्तै ९ वर्ष लामो स्याहारपछि मुकेशको स्वास्थ्यमा सुधार आउने उनका बाबुआमामा आशाको त्यान्द्रो पलाएको छ ।
झण्डै एक दशकसम्म ओछ्यान परेपछि छोराको स्वास्थ्यमा आएको यस्तो सुधारले आशावादी बनेका बाबुआमा छोरो कम्तिमा चर्पीसम्म आफैं जानसक्ने भइदिए सन्तोषको सास फेर्ने बताउँछन् ।
कस्तो अवस्थामा छन् मुकेश ?
काभ्रेको बनेपा नगरपालिका-२ स्थित घरको पहिलो तलामा बिहानै एक महिलाभित्र बाहिर गरिरहेकी छन् । अनुहारको भाव छिनछिनमा परिवर्तन गर्दै उनी घरि भान्सा कोठामा घरी अर्को कोठामा पुग्छिन् । उनले आफ्ना लागि दिन रात नगुजारेको ८ वर्ष पूरा भइसकेको छ ।
जनआन्दोलनका बेला गोली लागेपछि वर्षदिनसम्म अचेतजस्तै भएका मुकेश यतिबेला सामान्य संकेत र आवाज बुझ्ने भएका छन् । पैतालामा कुतकुती लगाउँदा प्रतिक्रिया दिन थालेका छन् । बाबुआमाले माया गर्दा उनी मुसुक्क मुस्काउँछन् । झर्को गरेर बोलायो भने कालो अनुहार बनाएर अर्कातिर र्फकन खोज्छन् । मन परेको सामान दिँदा खुसी हुँदै देब्रे हातले समाउँछन् । उनको शरीरको दाहिने पाटो अहिले पनि चल्न सकेको छैन ।
कृष्णमान कायस्थको घरको पहिलो तल्लाको बैठक कक्षका भित्ताहरु सम्मानपत्रले सजिएका छन् । पूर्वप्रधानमन्त्रीदेखि देशका ठूला व्यक्तिले खिचाएका फोटो पनि कोठा छन् । जुँगाको रेखी बसिसकेका एक युवा अस्पतालमा विरामीलाई राखिनेजस्तै बेडमा लम्पसार छन् । पिसाब नलीमा जोडिएको पाइपबाट थैलीमा पिसाब झरिरहेको छ । बेडमा लम्पसार युवाको स्याहारमा आमा व्यस्त छिन् ।
पाहुनासँग एकसुरमा गफिँदै उनी युवाको शरीरका लुगा फेरिदिन्छिन् । ‘मुकेश बाबु, मुकेश, बोल न, एकपटक मुसुक्क हाँस न’, उनी भन्दैछिन्, ‘लौयता हेर त म आमा के, मलाई हेरेर हाँस न ।’ उनी निरन्तर एकोहोरो सम्वाद गरिरहेकी छिन्, तर कुनै उत्तर आउँदैन, ती आमा पुनः एकपटक भावुक बन्छिन् ।
यसरी घाइते भए बालक
०६२ चैत २७ गतेको घटना हो । देशव्यापीरुपमा दोस्रो जनआन्दोलन चलिरहेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको प्रतिगमनविरुद्ध बालकदेखि वृद्धसम्मको जनसागर सडकमा उत्रेको थियो । काभ्रेको बनेपामा पनि आन्दोलन उत्कर्षमा थियो । सडकमा उत्रेको जनसागरबाट तर्सेको शाही सरकारले दमनलाई तीब्र पार्दै थियो । यसैबीच काभ्रे घर भएका भीमसेन दाहाल पोखरामा सेनाको गोली लागेर ढलेको खबर पाएपछि जनता सडकमा ओर्लेका थिए ।
स्थानीय विद्यासागर बोर्डिङ स्कुलमा कक्षा ८ मा पढ्दै गरेका १५ वर्षीय किशोर मुकेश कायस्थलाई पनि जनआन्दोलनको रापले छोएको थियो । टोलछिमेकका साथीभाइ सडकमा उत्रेपछि उनी पनि आन्दोलनकारी बने । लोकतान्त्रिक अधिकारका लागि तिर्खाएका आन्दोलनकारीमाथि प्रहरीले गोली बर्सायो ।
जनआन्दोलन चर्केपछि गाउँकै भिमसेन दाहालको पोखरामा हत्या भएको खबर सुनेका काभ्रेलीमाथि प्रहरीले बर्साएको गोलीले मुकेशको दाहिने कन्चट छेड्यो । मुकेशसँगै गोली लागेपछि शिवहरि कुँवरको तत्कालै निधन भयो भने अर्का घाइते विक्रम कपाली उपचार पाएर बाँच्न सफल भए । देशमा लोकतन्त्र ल्याउन सडकमा उत्रेका मुकेश भने त्यही दिनदेखि आजका मितिसम्म बाहिरी संसारबाट बेखबर छन् ।
मुकेशले गोली खाएर बेहोस भएको डेढ हप्तामै देशमा लोकतन्त्र आयो तर, त्यो खुसीमा उनी सामेल हुन सकेनन् ।
१५ वर्षको उमेरमा प्रहरीको गोली लागेपछि अधमरो बनेका मुकेश अहिले २३ वर्षका भइसकेका छन् । उनी सरसाउँदा हुन्थे त यतिखेर लक्का जवान भएर कलेज गइरहेका भेटिन्थे । देशमा लोकतन्त्र ल्याउन गोली खाएका उनले अर्धचेत बनेरै ९ वर्ष गुजारिसकेका छन् । गोली खाँदा उनी किशोर थिए, अहिले उनी जवान भइसकेका छन् । उनले ओछ्यानमै नागरिकताको प्रमाणपत्र पाएका छन् ।
जनआन्दोलनका क्रममा गोली लागेर मुढोझैं बनेका मुकेशलाई स्याहार्न कुनै बेला उनका हजुरबा न्हुच्छेमान र हजुरआमा नानीमाया पनि साथमा थिए । मुकेशले गोली लागेर अर्धचेत बनेयता उनको परिवारका तीन सदस्यले संसार छोडिसकेका छन् । पहिले नै हजुरआमालाई गुमाइसकेका उनले एक वर्षअघिसम्म हजुरबाको दह्रो साथ पाएका थिए । एक वर्षअघि हजुरबा न्हुच्छेमानको निधन भएपछि मुकेशको स्याहारमा अहिले बाबु कृष्णमान र मीरा रातदिन खटिइरहेका छन् ।
नेपाली समाजमा छोरा मानिसले कमजोर मन बनाउनुहुँदैन भनिन्छ तर, छोरा ठीक हुने आशमा ९ वर्ष गुजारिसकेका कृष्णमानको मन भने पटक-पटक भाँचिइसकेको छ । छोराको अवस्था देखेर उनी चाँडै भावुक हुन्छन् । वर्ष दिनभन्दा बढी मुढो झैं लडेको छोरो देखेर उनी पटक-पटक कुना पसेर रोएका छन् । निरन्तरको उपचारले स्वास्थ्यमा केही सुधार आए पनि उनी छोरालाई हेरेर लामो समय बस्न सक्दैनन् ।
हजुरबा हजुरआमा हुन्जेल मुकेशको स्याहारमा उनले त्यति ध्यान दिनुपर्दैन थियो । तर, अहिले त्यो जिम्मेवारी कृष्णमान दम्पत्तिको काँधमा छ । कृष्णमान जतिपटक छोराका नजिक पुग्छन्, त्यति नै पटक छोरालाई बोलाउँछन् । ‘मुकेश, मेरो छोरा, यता हेर त, एकपटक मुस्काउ न’, मुकेशलाई मनपर्ने बस्तु र खानेकुरा देखाउँदै उनी भन्छन्, ‘खै यता हेर त, लु यो मोबाइलबाट कुरा गर त छोरा ।’
सरकारले उपचार खर्च व्यहोरेर देशका विभिन्न अस्पतालमा मुकेशको ९ पटक बढी उपचार भइसकेको छ । पछिल्लो पटक ०७० भदौदेखि कात्तिकसम्म वीर अस्पतालमा राखेर दिमागमा जमेको पानी र पेटमा रहेको पत्थरीको अप्रेशन गरेपछि मुकेशलाई अस्पताल लगिएको छैन ।
एक छोरा एक छोरीका बाबुआमा कृष्णमान र मीराको दिनरात मुकेशलाई स्याहार्दै बित्छ । एक निमेष पनि साथ छोड्न नमिल्ने अवस्थाका मुकेशको नजिक धेरैजसो मीरा नै हुन्छिन् ।
‘पहिलेभन्दा अहिले केही सुधार भएको छ, छोरालाई राम्रो हुने आशमा धामी झाँक्री सबैकहाँ पुगिसकें’, मीराले सुनाइन्, ‘डाक्टरले पनि बिस्तारै सुधार हुने बताउँछन्, शास हुन्जेल आश हुँदोरहेछ, छोराको अवस्थाले प्रत्येक पल रुवाउँछ, हामी अझैपनि मानसिक पीडामा डुबिरहेका छौं ।’
मुकेशका शरीरको दाहिने हातसहितका अंग अहिले पनि चल्दैनन् । निरन्तरको माया र स्याहारले मुकेश हृवील चियर टाउको अड्याएर बस्न सक्ने भएका छन् । पहिलेभन्दा स्वास्थ्यमा धेरै सुधार भएपनि मुकेशभन्दा पहिले आफूहरुले संसार छाडेमा उनले ब्यहोर्ने दुःख सम्झिँदा बाबुआमा नै भक्कानिन्छन् ।
‘हामी घुत्रुक्क मर्यौं भने मुकेशको बिचल्ली हुन्छ, सरकारले मुकेशजस्ताको स्याहारका लागि पुनःस्थापना केन्द्र खोलिदिए ढुक्कले हाम्रो प्राण जान्थ्यो’, मीराले रुँदै भनिन्, ‘यस्ता घाइतेलाई पैसा दिएर यिनीहरुले कहाँ गएर किनेर खान सक्छन्, अपांग भएपछि घृणित हुनुपर्छ, हामी मरेर गएपछि मुकेशलाई कसले जिम्मा लिने ?’
सारा नेपालीको अधिकारका लागि लडेका मुकेशकै अधिकार संविधानमा लेखिएको हेर्ने चाहना साँचेका छन् कृष्णमानले ।
‘जनआन्दोलन सफल भए पनि देशमा संविधान नबनेकाले निराश बनाएको छ, कम्तिमा देशमा संविधान बनेर लोकतन्त्र संस्थागत भएको भए हाम्रो पीडा कम हुनेथियो’, कृष्णमानले सुनाए, ‘नयाँ संविधान बनाइदिएको भए सबै घाइते परिवारको घाउमा मल्हम पट्टी त लाग्थ्यो, मुकेशजस्ताको अधिकार त सुरक्षित हुन्थ्यो ।’
चुनाव सकिएपछि नेताले बिर्से
०७० मंसिर ४ मा भएको दोस्रो संविधानको निर्वाचनपछि मुकेशलाई हेर्न स्थानीयदेखि राष्ट्रियतहका राजनीतिक दलका नेता फर्केर नआएकोमा कायस्थ परिवारको चित्त दुखेको छ । जनआन्दोलनका बेला जनतालाई नभुल्ने बाचा गरेका नेताहरुले अहिले चटक्क भुलेकामा उनीहरु मन कुँडिएको छ ।
‘प्रधानमन्त्री सुशील कोइराला दुई महिनाअघि नै आउने खबर पाएका थियौं, तर आजसम्म आउनुभएको छैन’, कृष्णमानले भने, ‘नेताहरुले संविधान बनाउने भनेर सत्तामा पुगेपछि सबै कुरा भुल्दा रहेछन्, नेताहरु आश्वासन दिन्छन् तर कहिल्यै पूरा गर्दैनन् ।’
मुकेशलाई सुताइएको कोठाका भित्तामा झुण्डाइएका सम्मानपत्रमा ‘जिउँदो सहिद’ लेखिएको छ । दलका भातृ संगठनदेखि संघ संस्थाले दिएका प्रमाणपत्रमा मुकेश जिउँदो सहिद भएको उल्लेख छ ।
मुकेशका बाबुआमाले जिउँदो सहिद घोषणा गर्न माग गर्दै ०६४ सालबाटै आवाज उठाएका हुन् । अब त उनीहरु कराउँदा कराउँदा थाकिसके । मुकेशलाई भेट्न पुगेका पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपालले पनि मुकेशका बाबुआमालाई दिएको आश्वासन पूरा नगरेको उनीहरुको गुनाचसो छ ।
‘जनआन्दोलनका क्रममा सय प्रतिशत घाइते भएको प्रमाणपत्र दिएर सरकार पन्छेको छ, मुकेश अब उठेर ठमठम हिँड्न सक्दैन’, मीराले भनिन्, ‘लोकतान्त्रिक अधिकारका लागि लड्दा ढलेको एउटा योद्धालाई जिउँदो सहिद घोषणा नगरेर सरकारले जनआन्दोलनका अरु घाइतेको पनि अपमान गरेको छ, यसलेे हाम्रो मन भाँचिएको छ ।’
सिंहदरबार पनि धायो कायस्थ परिवारले
सिंहदरबारमा पटक-पटक धाएपछि सरकारले हुन्छ भने पनि मुकेशलाई जिउँदो सहिद घोषणा गर्नेतर्फ चासो नदिएकोमा उनीहरुको गुनासो छ । ‘संविधानमा नभएको कुरा उनीहरुको इच्छाअनुसार अध्यादेशबाट पारित गर्छन् तर देशका लागि लडेको एक योद्दालाई जिउँदो सहिद घोषणामा चासो दिँदैनन्’, कृष्णमानले भने, ‘मुकेशलाई जिउँदो सहिद घोषणा गर्न क्याबिनेटले किन निर्णय गर्न सक्दैन ?, जनआन्दोलनका एकमात्र जिउँदो सहिदलाई किन सम्मान मिल्दैन, जिउँदो सहिद घोषणा गरे जनआन्दोलनका घाइतेको कदर हुनेथियो ।’
सरकारी सुविधा लिनै गाह्रो
मुकेशको स्याहारका लागि वर्षदिन अघिसम्म सरकारले मासिक १० हजार रुपैयाँ दिँदै आएको थियो । रेग्मी सरकारको पालामा ५ हजार थपेर १५ हजार पुर्याइदिएको छ । तर, त्यो सुविधा लिन पनि कायस्थ परिवारले कम्ता हैरानी ब्यहोर्नुपर्दैन ।
सरकारले दिएको सुविधा लिन प्रत्येक महिना जिल्ला प्रशासन कार्यालय धाउनुपर्छ । प्रत्येक महिनाको सुविधाका लागि निवेदन दिनुपर्ने बाध्यता छ । ‘सरकारी सुविधा लिन जाँदा अपमानित हुनुपर्छ, कर्मचारीले गोजीबाटै झिकेर दिएजस्तो गर्छन्’, मीराले भनिन्, ‘सरकारी कार्यालयमा हुने ढिलासुस्ती र हैरानीले सुविधा लिन पनि द्विविधा हुन्छ, सिंहदरबार छिर्नुपर्यो भने घाइतेलाई नै बोकेर लिएर आउ भन्छन् ।’
छोराको उपचार गरेवापत सरकारले दिने भनेको ३० हजार रुपैयाँ लिन कायस्थ परिवारलाई ६ महिना लाग्यो । सबै सरकारी कार्यालय बैंकिङ प्रणालीमा चलेका बेला मुकेशलाई दिने पैसा बुझ्न कायस्थ दम्पत्तिले जिल्ला प्रशासन नै धाउनुपर्छ ।
‘बैंकमा खाता खोलेर हालिदिनोस् भन्दा कसैले सुनेनन्, १५ हजार रुपैयाँका लागि तीन पटकसम्म हात पसार्दै जानुपर्छ’, कृष्णमानले भने, ‘छोराको उपचार गरेको बिल भरपाइ हेरेर डाक्टरले दिन भनेको पैसा लिन ६ महिनासम्म धुलिखेल र काठमाडौं धाउनुपर्छ, यस्ता भुक्तमान सम्झिँदा भिखारी भएजस्तो लाग्छ ।’
कसैले सम्झिदैनन्
चैत महिना लाग्नेवित्तिकै कायस्थ दम्पत्तिको मन भरिएर आउँछ । लाउँलाउँ र खाउँखाउँको उमेरमा छोरा ढलेको चैत २७ गते आएपछि त घरमा रुवाबासी नै चल्छ । दोस्रो जनआन्दोलन उत्कर्षमा पुगेको चैत महिनाको अन्तिम साता लाग्न थालेदेखि शुभेच्छुकले सम्झने आशमा कायस्थ दम्पत्ति दिनरात बिताउँछन् ।
‘जनआन्दोलनताका हामी तपाईको साथमा छौं भन्नेहरु अहिले बाटो काटेर हिँड्छन् । न त चैत २७ गते कुनै कार्यक्रम गरेर सम्झन्छन्, न त हामीलाई नै बोलाउँछन्’, मीराले भनिन्, ‘छोरासँगै गोली खाएर मृत्युवरण गरेकाहरुको पनि सम्झना गरिन्न, संसारै स्वार्थी भएर होला सबैले भुल्दैछन्, स्थानीय दलका नेतादेखि ठूला नेतासम्मले मुकेशलाई भुलेकोमा मन रोएको छ ।’
पत्रकारसँग कृतज्ञता
दलका नेताले भुले पनि सञ्चारकर्मीले लगाएको गुण कहिल्यै बिर्सदैनन् कायस्थ दम्पत्ति । ‘पत्रकारहरुले समाचार नलेखिदिएको भए आज छोराको यतिको अवस्था हुँदैन थियो’, मीराले सुनाइन्, ‘पत्रकारहरुले मुकेशको अवस्थाबारे नलेखिदिएको भए सरकारले हाम्रा कुरा सुन्ने थिएन, मुकेशलाई एकपटक विदेश लगेर उपचार गर्ने कुरामा पत्रकारहरुले सहयोग गरिदिनुहोस् ।’