बागलुङ, जेष्ठ १६ - चालू आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाउनेहरू नागरिकता लिनेभन्दा बढी भएका छन् । जिल्ला प्रशासन कार्यालय बागलुङको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ४ हजार १ सय ८१ जनाले नागरिकता बनाएका छन् । जबकि यही अवधिमा ६ हजार एक सयभन्दा बढीले राहदानी बनाएका थिए ।
नियमित रूपमा ५ हजार ५ सय ९० जना र दु्रत सेवामार्फत ५ सय ६१ जनाले यो अवधिमा राहदानी बनाएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बताए । अधिकांशले वैदेशिक रोजगारीमा जाने उद्देश्यका लागि राहदानी बनाएका हुन् । उक्त अवधिमा कार्यालयले २ करोड ९७ लाख ९५ हजार राजस्व संकलन गरेको छ । 'नियमित राहदानी बनाउनेले तिरेको राजस्वमात्र हामी सार्वजनिक गर्छौं,' गौतमले भने, 'दु्रत सेवाबाट राहदानी बनाउँदा लाग्ने १० हजार रुपैयाँ परराष्ट्र मन्त्रालयबाटै जम्मा हुन्छ ।'
राहदानी बनाउनमात्र प्रयोग हुने नाबालक परिचयपत्र पनि दस महिनाको समयमा ३ सय ९२ जनाले बनाएका छन् । जिल्ला प्रशासन कार्यालयले प्रगति विवरण सार्वजनिक गर्दा नागरिकता बनाउनेभन्दा विदेश जानका लागि राहदानी बनाउनेको संख्या बढेको पाइएको हो । कार्यालयले तुलनात्मक रूपमा तथ्यांक राख्ने नगरे पनि राहदानी बनाउनेहरूको संख्या हरेक वर्ष बढ्दो दरमा रहेको सहायक प्रजिअ काशीराम शर्माले बताए ।
प्रशासन कार्यालयमा राहदानी बनाउनेको भीड बढेपछि पुराना सार्वजनिक अपराधका मुद्दा भने फछ्र्योट हुन सकेका छैनन् । एक सय २४ पुराना मुद्दामध्ये दस महिनामा १० वटा मात्र फछ्र्योट भएका छन् । त्यस्तै चालू आर्थिक वर्षमा दर्ता भएका ४५ सार्वजनिक अपराधका मुद्दामध्ये २४ वटा बाँकी रहेका छन् । 'निर्वाचनको समयमा लामो समय काम गर्न नपाएका कारण मुद्दा फछ्र्योट कम भए,' शर्माले भने ।