धरान, जेष्ठ १६ - बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तलव भत्ता वृद्धिको माग गर्दै आन्दोलनमा अनसनमा बसेका कर्मचारीहरुलाई आज दिउसो प्रहरीले पक्राउ गरेको छ । उनीहरु चार दिनदेखि अनसनमा थिए ।
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बन्द हड्ताल, अनसन गर्न निषेष भएको निर्देशन सहितको सर्वोच्च अदालतले दुइ दिन अघि प्रतिष्ठान व्यबस्थापनलाई दिएपछि अस्पताल प्रशासनले प्रहरी पशासन लगाएर कर्मचारी पक्राउ गरेको हो ।
प्रहरीले प्रतिष्ठान अगाडि अनसनमा बसेका तल्लो दर्जाका ६० जनालाई पक्राउ गरेलगतै अन्य सयजना बढी कर्मचारीहरुले पनि आफुहरुलाई पनि पक्राउ गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालयमा पुगेका छन् । इलाका प्रहरी परिसरमा राखिएका कर्मचारीहरुले प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशक र रजिष्ट्रारको राजिनामा माग गर्दैै नाराजुलुस गरिरहेका छन् ।
विरामी उपचार गर्ने अस्पताल जस्तो संवेदनशील क्षेत्र प्रतिष्ठानमा एक पछि अर्को आन्दोलन जारी रहेकाले सर्वसाधारणको उपचार सेवामा असर परेको र चिकित्साशास्त्र अध्ययन अनुसन्धान पनि प्रभावित भएको भन्दै स्थानीय राजकुमार विकले प्रतिष्ठानलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले दुइ दिनअघि अन्तरिम आदेश जारी गर्दै उपचार सेवा प्रभावित हुने गरी अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बन्द हड्ताल र धर्ना जस्ता आन्दोलन नगर्न गराउन कार्यान्वयनका लागि पशासनलाई प्रतिष्ठानले पत्र पठाएको आधारमा अनसनमा बसेका कर्मचारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक मुकुन्द रिजालले बताए ।
आन्दोलनकारी कर्मचारीहरुले सरकारले गत बर्ष वृद्धि गरेको १८ प्रतिशत तलव र महंगी भत्ता १ हजार रुपैयाँ प्रतिष्ठानले उपलव्ध गराउनु पर्ने माग गर्दै अनसनमा बसेको बेला प्रहरीले पक्राउ गरेको आन्दोलनका अगुवा राजन कोइरालाले बताए । प्रतिष्ठानका उपकुलपति प्रा डा बलभद्र प्रसाद दासले सरकारले आफ्नो कर्मचारीको तलव भत्ता वृद्धि गर्दैमा प्रतिष्ठानले वृद्धि गर्नुपर्ने बाध्यता कतै पनि नभएको बताए । उनले प्रतिष्ठान आफै आर्थिक समस्याबाट गुजि्ररहेकाले सरकारले वृद्धि गरेजति तलव भत्ता उपलव्ध गराउन नसकेको बताए ।
प्रतिष्ठानको कर्मचारीको साझा संस्था कर्मचारी कल्याण समाजले भने आन्दोलनको समर्थन गरेको छैन । समाजले आन्दोलन आधिकारिक नभएको जनाएको छ ।