१० वर्षमा धूमपानका कारण ज्यान गुमाउनेको संख्या दोब्बर

चितवन , जेठ १७  - विश्व धुमपानरहित दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
सूर्तीजन्य पदार्थमा कर वृद्धि गरौं, सूर्तीजन्य पदार्थको उपभोग कटौती गरी जीवन बचाऔं नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सम्बन्धित विभिन्न संघसंस्थाको सहभागीतामा विभिन्न कार्यक्रम हुँदैछ ।
सूर्तीजन्य पदार्थको प्रयोगबाट विश्वभर हरेक वर्ष ६० लाख जनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । जसमा प्रत्यक्ष धुमपानका कारण ५० लाख जना भन्दा बढी र अप्रत्यक्ष धुमपानका कारण ज्यान गुमाउने ६ लाख जना छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा पछिल्लो १० वर्षमा धुमपानका कारण ज्यान गुमाउनेको संख्या दोब्बर भएको छ ।  धुमपानका कारण नेपालमा दैनिक ४२ जनाले ज्यान गुमाउने गरेका छन् । सूर्तीजन्य पदार्थको प्रयोगबाट हुने कुल मृत्युको ८० प्रतिशत हिस्सा न्यून र मध्यम आय भएका मुलूकमा रहेको छ ।
विश्व स्वास्थ्य संगठनले सूर्ती जन्य पदार्थको नियन्त्रणमा गरिने खर्च भन्दा त्यसको कर बापत हुने आय औसतमा १ सय ७५ गुणा बढी रहेको बताएको छ । सूर्तीजन्य पदार्थको बढ्दो उपभोगलाई रोक्न त्यसमा लगाईने कर प्रभावकारी उपाय हुनसक्ने संगठनको ठहर छ । १० प्रतिशत कर वृद्धि भए सूर्तीजन्य पदार्थको उपभोग उच्च आय भएका देशमा ४ प्रतिशत र न्यून तथा मध्यम आय भएका देशमा ५ प्रतिशतले कमी आउने संगठनले दावी गरेको छ ।
विश्वमा जम्मा ३२ देशले मात्रै सूर्तीजन्य पदार्थको खुद्रा मूल्यमा करको दर ७५ प्रतिशत भन्दा बढी बनाएका छन् । नेपालमा सरकारले सूर्तीजन्य पदार्थको बट्टा प्याकेट, र्‍यापर्स र पार्सल प्याकेजिङ्गमा चेतावनी मूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका जारी गरेको छ । त्यस्ता चित्रसहितका सूर्तीजन्य पदार्थ बजारमा आईसकेपनि उपभोगमा कमी आउन सकेको देखिंदैन ।
सूर्तीजन्य पदार्थको प्रयोगका कारण मुटुरोग, श्वासप्रश्वास, क्यान्सर, गिजा सम्बन्धीलगायतका विभिन्न रोग लाग्ने गरेकाले त्यसबाट आफू मात्रै नभई अप्रत्यक्ष धुमपानको असरबाट अरुलाई पनि जोगाउन धुमपान तथा सूर्तीजन्य पदार्थको प्रयोग रोक्न चिकित्सकको सुझाव छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page