प्रहरी हिरासतमा युवतीद्वारा आत्महत्याको प्रयास


१७ जेठ, कञ्चनपुर । बैंकबाट कीर्ते दस्तखत गरी रकम झिकेको आरोपमा पक्राउ परेकी २० वर्षीया रुक्मणी विष्टले प्रहरी हिरासतमै आत्महत्याको प्रयास गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कोठामा रुक्मणीले शुक्रबार सांझ ब्ल्याङ्केटले पासो लगाई आत्महत्याको प्रयास गरेकी थिइन् । तत्कालै गार्ड कमान्डरले पासो काटेर बचाएको प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताए । बेहोस अवस्थामा रहेकी रुक्मणीको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि भारतको खटिमा तर्फ लगिएको छ ।
महेन्द्रनगरको शुक्लाफाँटा सञ्जीवनी बोर्डिङ स्कुलमा शिक्षिकाका रुपमा कार्यरत रुक्मणीले कीर्ते दस्तखत गरी बैंकबाट रकम झिकेको भन्दै विद्यालयका सञ्चालक नन्दा जोशीले उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
रुक्मणीले लामो समयदेखि विद्यालयले तलब नदिएपछि बैंकबाट कीर्ते दस्तखत गरी रकम झिकेको बताइएको छ । विद्यालयको खाताबाट झिकेको २० हजार फिर्ता दिने विद्यालयसँग सहमति गरे पनि विद्यालय सञ्चालक जोशीले प्रहरीमा उजुरी गरेपछि युवतीले बदनामी हुने डरले आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीको भनाइ छ । 
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page