मैले ज्ञानेन्द्रलाई भनें-दरबार हत्याकाण्डमा तपाईप्रति नै शंका छ !

१९ जेठ, काठमाडौं । ०५८ जेठ १९ को अकल्पनीय राजदरबार हत्याकाण्ड र त्यस वरपरका घटनाक्रमहरुको म प्रत्यक्ष साक्षी बनेँ । दुई राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग लामै सहकार्य भयो । राजा र तीनका परिवारहरुको गतिबिधि पनि मैले नजिकबाट नियालेँ । उनीहरुसँगका मेरा धेरै तीता-मीठा अनुभवपछि अब राजतन्त्र राख्नुहुँदैन भन्ने निष्कर्षमा पुगेँ । दुबै राजासँग मेरा केही रोचक घटनाहरु भए ।
दरबार हत्याकाण्डपछिको पहिलो बैठक
ज्ञानेन्द्रसँग त दरबार हत्याकाण्डको दिनदेखि नै पर्‍यो । उनीसँगको डिलिङमा शुरुदेखि नै टफ रवैया भयो । दरबार हत्याकाण्डको समिति बनाउने बेलाको घटना निकै रोचक छ ।
अब के गर्ने भनेर सबै बसेका छन् । त्यहाँ राजा ज्ञानेन्द्र, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष मोहम्मद मोहसिन, राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जन थिए । विपक्षी दलको नेताको हैसियतले म एक छेउमा बसेको छु । कोही बोल्दैनन्, पूरै सन्नाटा छाएको छ । अनि मैले नै मुख खोलेँ । अब यसरी हुँदैन, जनतालाई आश्वस्त पार्न दरवार हत्याकाण्डको वास्तविकता के हो, त्यो ल्याउनुपर्छ भनेँ ।
आयोग गठनमा गडबडी
मैले कुरा उठाएपछि ज्ञानेन्द्रले अब दरबारमा भएको घटनाबारे टिभीमा अन्तर्वार्ता दिन्छु र यस्तो भएको भनेर जनतालाई प्रष्ट पार्छु भने । मलाई उनको कुरा मन परेन । ‘तपाईले प्रष्ट पारेर कोही प्रष्ट हुँदैनन्, शंका तपाइमाथि नै छ, त्यसैले आयोग बनाउनुपर्छ’ भनेपछि सबैले समर्थन गरे । गिरिजाबाबु पनि माधवजीले भनेको ठीक हो भन्दै बोले ।
आयोग त बनाउने, अब कसको नेतृत्वमा भन्ने प्रश्न उठ्यो । कि कानुनी पृष्ठभूमिका मान्छे राखौं, कि त सीधै प्रधानन्यायाधीशको नेतृत्वमा बनाउँ भन्ने कुरा भयो । अन्तिममा प्रधानन्यायाधीशको नेतृत्वमा समिति बन्ने र त्यसमा विपक्षी दलको नेता पनि बसौं भन्ने कुरा आयो । मैले होइन, म बस्दिँन भनेँ । तर, बस्नैपर्छ नत्र समिति नै बन्दैन भन्ने जस्ता देखिएपछि बन्न लागेको समिति पनि भाँडिएला भनेर यसमा प्रधानमन्त्रीले तय गर्छन्, सरकारलाई जिम्मा दिउँ भनेँ । निर्णय गर्नेबेला प्रधानमन्त्रीसँग सल्लाह गरौंला भन्ने भयो ।
समिति बन्ने भएर म उठ्नेबित्तिकै यदि मलाई राख्ने हो भने गिरिजाबाबु हुनुपर्छ, नत्र पार्टीको तर्फबाट हो भने कानूनी पृष्ठभूमि भएका भरतमोहन अधिकारको नाम राख्नुपर्छ भनेँ ।
त्यही बेलुका राजपरिवारको दाह संस्कार हुँदै थियो आर्यघाटमा । म पनि लाइन लागेर अन्तिम श्रद्धान्जलीका लागि बसेको थिएँ । पशुपतिभक्त महर्जनले दरबारबाट फोन गरेर ‘होइन हजुर कमिटी त गठन गर्नैपर्‍यो, हजुर बस्नुपर्ने भयो’ भने । मैले मेरो नाम नराख्नुस्, यो कमिटी त सरकारले गठन गर्ने भन्ने थियो, कहाँबाट दरबारबाट गठन भयो ? भनेँ । कुरा गर्दागर्दै फोट काटियो । पछि मैले बाटोबाट धेरैपटक फोन गरेँ, तर सम्पर्क हुन सकेन । मध्यराति एकाएक मेरो नाम पनि छानविन आयोगमा राखेर बाहिर ल्याए । मैले पार्टीको बैठक डाकँे, बैठकले आयोगमा नजाने निर्णय गर्‍यो । म आयोगमा नबस्ने भनेपछि राजा ज्ञानेन्द्रलाई ‘इगो’ जस्तो भयो । त्यसपछि कहिल्यै राम्रो भएन ।
ज्ञानेन्द्रले ‘पोलिटिकल एनिमल’ भनेपछि..
ज्ञानेन्द्रसँग अर्को पनि त्यस्तै घटना भयो । एकदिन बसेका बेला उनले ‘यु आर पोलिटिकल एनिमल्स’ भने । मलाई बडा रिस उठ्यो । मैले त्यसपछि उनको कुरा सुनिँन, पारस पनि सँगै थिए । त्यसपछि मैले २० मिनेट भाषण गरेँ । कहाँबाट शुरु गरँे भने ‘म रौतहट जिल्लाको सम्मानित परिवारको छोरो हुँ’ । म यो ठाउँमा कसैको आशिर्वादबाट होइन, संघर्षबाट आएको मान्छे हुँ । जनताको नेता भएर आएको मान्छे हुँ, कुनै निगाह मलाई चाहिएको छैन । म संघर्षबाट आएको मान्छे हुँ । मसँग बोल्दा बिचार गर्नुस्’ यति भनेर दनक दिएँ । म आक्रोशित भएर बोलेपछि उनी केही बोलेनन् । त्यसपछि लामो समय ज्ञानेन्द्र र मेरो भेट भएन ।
धेरै समयपछि पशुपति महर्जनलाई मकहाँ पठाएर गल्ती भयो, भेटघाट भएन भने । उनले अब जानुपर्‍यो, सरकारले भेट्न खोजिबक्सेको छ भने । बोलाएपछि म गएँ । राजाले ‘माधवजी आइ एम एक्स्ट्रिम्ली सरी, आइ हर्टेड यु’ भनेर माफी मागे । तर, मलाई ज्ञानेन्द्रका यी व्यवहारपछि अब यो दरबार कहिल्यै सुध्रिदैँन भन्ने लाग्यो ।
दाम राख्नुको कारण
पछिल्लो कालखण्डमा केही मान्छेले खासगरी माओवादीहरुले चुनावका बेला मैले ज्ञानेन्द्रको राज्यरोहणका बेला दाम राखेको फोटोलाई मेरो चरित्रहत्या गर्ने गरी प्रचार गरे । वास्तवमा दाम राखेपछि मैले पार्टीका साथीहरुसँग कुरा गरेको थिएँ । त्योबेला साथीहरुले ठीक हो भनेका थिए । त्यसेबला यस्तो सोचिएन । जसको जे संस्कृति छ, उनीहरुकोमा गएपछि त्यसलाई सम्मान गर्नुपर्छ । म झुक्ने त मान्छे होइन, तर उनीहरुको संस्कार संस्कृतिलाई सम्मान गर्नुपर्ने अवस्था आयो । यस्तो हुन्छ भन्ने जानेको भए त उभिएर अभिवादन गर्थें होला ।
यदि तपाई मन्दिरमा जानुहुन्छ भने मूर्तिलाई ढोग्नुहुन्छ, मस्जिदमा जानुहुन्छ भने घुँडा टेक्नुहुन्छ । यो त आ-आफ्नो संस्कारको कुरा हो नि ।
ज्ञानेन्द्रले मेरो सम्पत्ति खोज्न लगाए
म आफू भ्रष्ट नभएपछि किन यिनीसँग झुक्ने भन्ने भयो । मैले नै सम्पत्ति छानविन उच्चस्तरीय आयोग गठन गराएको हुँ । भ्रष्टाचार गर्ने सबैको सम्पत्ति छानविन हुनुपर्छ भन्ने मै हुँ । ज्ञानेन्द्रलाई अरुलाईजस्तै मलाई पनि सोचेर हेप्न खोजेका थिए, तर मैले टक्कर दिएकै हुँ । पछि शासन सत्ता लिएका बेला अख्तियार लगाएर मेरो सम्पत्ति खोजविन गराएछन् । तर, केही भेटे पो ! मैले गल्ती गरेकै थिइँन, त्यसैले म कहिल्यै राजाहरुसँग झुक्नु परेन ।
वीरेन्द्रले मनमोहनलाई तिमी भन्दा…..
हाम्रो पार्टी ०५२ सालमा सबैभन्दा ठूलो भयो । अध्यक्ष कमरेड मनमोहन अधिकारी प्रधानमन्त्री र म उपप्रधानमन्त्री थियौं । अल्पमतको भए पनि नेकपा एमालेको एकल सरकार थियो । एक दिन तत्कालीन राजा वीरेन्द्रसँग कुराकानी चल्दै थियो । उनले मेरो सामुन्ने मनमोहनजीलाई तिमी भनेर सम्बोधन गरे । मनमोहनजीले त सहजरुपमा लिनुभयो । तर, मलाई पचेन । आफ्नो बाबु समानको उमेरको प्रधानमन्त्रीलाई तिमी भन्दा मेरो त पारो चढ्यो । म त सम्मानमा चोट पर्ने कुरा सहनै सक्दिँन ।
मैले बेठीक लागेपछि तत्काल प्रतिक्रिया जनाएपछि उनले बुझेछन् क्यारे । त्यसपछि तिमीबाट तपाईमा गए । गणेशमान सिंहले टुँडिखेलमा भाषण गर्दा राजाले हामीलाई तिमी भन्ने ? भन्दै आक्रोश व्यक्त गरेको सम्झेँ । गणेशमान त टिक्न सक्छन् भने हामी त कम्युनिस्ट, किन झुक्ने भन्ने मेरो सोच थियो ।
वीरेन्द्र र माओवादी साँठगाँठ
वीरेन्द्रसँग मेरो दोस्रोपटक परेको चाहिँ माओवादी समस्याको विषयमा थियो । माओवादी हिंसा बढ्न थालेपछि यो त अति भो, अब सेनालाई पनि खटाउनुपर्छ भन्ने मेरो भनाइ एक दिन उनीसँग राखेको थिएँ । तर, राजाको आशय अर्कै पाएँ । उनीहरु पनि नेपाली जनताका छोराछोरी हुन्, कसरी सेना परिचालन हुन सक्छ ? भन्दै उनले ‘माधव, दियर इज नो फ्री लन्च’ भन्ने जवाफ दिएपछि म सोच्न बाध्य भएँ । उता माओवादीले आफ्ना कार्यकर्ता मारेर हैरान छन् । उनीहरुलाई जोगाउन गाह्रो भइसकेको छ । जताततै आतंक छ । तर, राजा त उनीहरुलाई जोगाउने कुरा गर्छन् । राजालाई कति पनि चिन्ता नै देखिएन । मलाई त्यही दिनदेखि राजा र माओवादीबीच कुनै न कुनै लेनदेन छ भन्ने लाग्यो ।
 (कुराकानीमा आधारित)

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page