२३ जेठ, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीहरुले स्वास्थ्य सेवा नै ठप्प पारेर गरिरहेको आन्दोलनको प्रतिकारमा जुलुस निस्किएको छ ।
शुक्रबार बिहान ‘नागरिक संघर्ष समिति’को नाममा आन्दोलन बन्द गर्न माग गर्दै उत्रिएको समूहले कर्मचारीहरुलाई आइतबारसम्म आन्दोलन फिर्ता लिएर काम सुचारु गर्न चेतावनी दिएको छ । आइतबारसम्म काम सुचारु नगरे डण्डा लगाउने धम्की दिएपछि धरानवासीहरु अस्पतालमा झडप हुने आशंकाले त्रसित बनेका छन् ।
कर्मचारीहरुले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सेवा नै प्रभावित पार्ने गरी आन्दोलन गरेको भन्दै भर्खरै अस्तित्वमा देखिएको ‘नागरिक संघर्ष समिति’ आफु पनि आन्दोलनमा उत्रिएको बताएको छ ।
ठेक्कापट्टा हिँड्ने युवाहरुलाई समेत पछि लगाएर शुक्रबार आन्दोलनको विरोध गर्दै प्रतिष्ठानमा पुगेको टोलीका सदस्यहरुले उपकुलपति कार्यालय अगाडि आन्दोलनमा बसेका कर्मचारीहरुलाई आइतबारसम्म आन्दोलन फिर्ता नगरे डण्डा लिएर आउने र अस्पताल कब्जा गर्ने धम्की समेत दिएका छन् ।
दुई सयभन्दा बढीको संख्यामा रहेको समितिको हुल प्रतिष्ठानको मुख्य गेटबाट नारावाजी गर्दै उपकुलपति विपी दासको कार्यकक्षतिर लागेको थियो । दासको कार्यकक्ष अगाडि नै धर्नामा बसिरहेका कर्मचारी नजिक पुग्न लागेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले भिडलाई अघि बढ्न नदिई आफ्नो माग त्यहीँबाट राख्न आग्रह गरेको थियो । उनीहरुले अस्पताल तत्काल खुलाउन र आन्दोलन रोकेर काममा जान कर्मचारीलाई दवाव दिएका थिए ।
प्रशासनकै संलग्नता रहेको कर्मचारीको आरोप
आन्दोलरत कर्मचारीहरुले भने नागरिक संघर्ष समितिका नाममा प्रतिष्ठानका प्रशासनकै मान्छेले अराजकता मचाउन खोजेको आरोप लगाएका छन् ।
वीपी प्रतिष्ठानकोे सम्ास्यालाई समाधान गर्न पहल गर्ने तथा धरानको विकास निमार्णमा सहयोग पुर्याउने उद्देश्यले ७ वटा विभिन्न नागरिक समाजसम्बद्ध समितिहरुले गठन गरेको १५ सदस्यीय नागरिक सञ्जालले प्रतिष्ठान र कर्मचारीवीच वार्ताको वातवरण बनाउन पहल गरिरहेका बेला पहिला नामै नसुनिएको नागरिक संघर्ष समिति आक्रामक शैलीमा प्रस्तुत भएको उनीहरुको आरोप छ ।
प्रतिष्ठानको आन्दोलन चर्किंदै जाँदा राजनीतिक दलहरु समेत पक्ष र विपक्षमा जोडिन थालेका छन् । एमाले र कांगे्रस प्रतिष्ठान प्रशासनको पक्षमा देखिएका छन् भने अन्य ७ वटा दलले कर्मचारीको आन्दोलनको पक्ष लिएर आवाज उठाइरहेका छन् । आन्दोलनका नाममा बाहिरियाहरुको समेत प्रवेश भएपछि कुनै पनि बेला खतरा निम्तिन सक्ने भन्दै प्रतिष्ठानमा प्रहरी परिचालन बढाइएको छ ।

