किन उड्न सकेन नेपाली आकाशमा चिनियाँ जहाज ?


२३ जेठ, काठमाडौं । चिनियाँ जहाज नेपालमा भित्रिँदा नेपाल वायुसेवा निगमका कर्मचारीले निकै ठूलो तामझाम देखाएका थिए । विमानस्थलमा पञ्चेबाजासमेत घन्काइएको थियो । टन्न मान्छे भरेर लुम्बिनीको शयर पनि गराइयो । तर, उसैदिनदेखि विमानस्थलमा नयाँ चिनियाँ जहाज थन्किइरहेको छ । अख्तियारले भनिसक्यो, छिटो विमान उडाउ, नत्र कारवाही होला ।
नेपाल वायुसेवा निगमले ल्याएकाे नयाँ जहाज ‘एमए ६०’ असार १ देखि सञ्चालनमा ल्याउन अख्तियारले निर्देशन दिए पनि सो मितिमा जहाज उड्ने सम्भावना टर्दै गइरहेको सम्बन्धित निकायका अधिकारी बताउँछन् । जेठ महिना सकिनै लाग्दासमेत नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधीकरणले चिनियाँ जहाज दर्ता गर्न मानेको छैन । ’निगमले प्रकृया पूरा गरेर आएमा जहाज दर्ता गर्छौं’ प्राधीकरणका महानिर्देशक रतिश चन्द्रलाल सुमनले अनलाइनखबरसँग भने- ‘प्रकृया नै पूरा नगरी जहाज दर्ता गर्ने कुरा भएन ।’
जहाज चीन र नेपाल दुबै देशमा दर्ता हुन नसक्ने बताउँदै महानिर्देशक सुमनले सिभिल एभिएसन अथोरिटी अफ चाइनाबाट दर्ता खारेज गरेको कागज निगमले दिएमा दर्ता गरिदिने बताए ।  चीनले जहाजको दर्ता खारेज गरेको कागज प्राधीकरणलाई सिधै पठाउनुपर्ने निगमका प्रवक्ता रामहरि शर्मा बताउँछन् । निगमले भन्सार तिरेर करिव ३ हप्ता अगाडि जहाज दर्ताका लागि प्राधीकरणमा निवेदन दिएको थियो । तर, प्राधीकरणले चीनमा जहाज दर्ता नभएको दाबी गर्दै दर्ता भएको भए खारेजी गरेको कागज ल्याउन निगमलाई दबाव दिएको स्रोतले बताएको छ ।
निगम र प्राधीकरणबीचको दुरीले गर्दा निर्धारित समयमा जहाज उड्ने सम्भावना टर्दै गइरहेको छ । अख्तियारले निर्धारित समयमा जहाज नउडाए कारबाही गर्ने चेतावनी दिएको विषयमा महानिर्देशक सुमनले कानुन मिचेर काम गर्न अख्तियारले निर्देशन नदिएको दाबी गरे ।
केही समय अगाडि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहाप्रबन्धक, नेपाल वायुसेवा निगमका महानिर्देशकसहितका उच्च पदाधिकारीहरु सम्मिलित बैठकले अख्तियारका पदाधिकारीसमक्ष असार १ गतेदेखि व्यवसायिक उडान सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यही प्रतिवद्धतामा टेकेर अख्तियारले निर्धारित समय उडान सुरु नगरे थप अनुसन्धान तथा कारबाही सुरु गर्ने चेतावनी दिएको थियो । ‘अख्तियारका पदाधिकारीसमक्ष गरेको प्रतिवद्धताअनुसार उडान नियमन, व्यवस्थापन हुने कुरामा विश्वस्त रहेका छौं’ अख्तियारले विज्ञप्तिमा भनेको छ- ‘निर्धारित समयमा उडान सुरु नभएमा सम्बन्धित पदाधिकारीहरुलाई जिम्मेवार बनाई थप अनुसन्धान गर्छौं ।’
नयाँ जहाजबाट समयमा उडान नियमन एवं व्यवस्थापन गर्न नसक्दा हवाई सेवाग्राहीहरुले सेवा सुविधा उपभोग गर्नबाट बञ्चित हुनुपरेको, दैनिक लाखौं रुपैयाँ घाटा बेहोर्नुपरेको अख्तियारले बताएको छ । नेपाल वायुसेवा निगमले पनि असार १ गतेदेखि नयाँ जहाजबाट व्यवसायिक उडान सुरु गर्ने भन्दै सार्वजनिक सूचना जारी गरिसकेको छ । निगमले यसभन्दा अगाडि जेठ १ गतेदेखि व्यवसायिक उडान सुरु गर्ने भने पनि कार्यान्वयन भएन ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page