ओलीले राजतन्त्रको समर्थन गरेका हुन्ः श्याम श्रेष्ठ

ओली एमालेको अध्यक्षमा निर्वाचित भए संविधान लेखनका मुद्दामै बदलाव आउन सक्छ । 
Shyam-Shrestha
नेकपा एमालको यो नवौ महाधिवेशनसम्म आइपुग्दा विचारको प्रतिस्पर्धा रहेन । पाँचौ महाधिवेशन विचारको महाधिवेशन भएको थियो । बहुदलीय जनावाद मान्ने या नौलो जनवाद मान्ने भन्ने वशसमा अन्नत जवजमा सहमती भयो । जसले पार्टीलाई नयाँरुप र गतिशील बनायो । विचारको प्रतिस्पर्धाले पार्टी र नतृत्वलाई बलियो बनाउछ । तर यसपाली बहस नेतामा कैद भएर नीतिमा प्रवेश हुन सकेन । माधव नेपाल आउने या केपी ओली आउने भन्ने बहसले न पार्टीलाई अगाडि लान्छ न त देशलाई नै । विचारविहीन अवस्थामा हुँदै गरेको यो महाधिवेशनले नेकपा एमालेलाई कस्तो बनाउने हो आगामी दिनमा देखाउला । प्रतिवेदनमा कुनै विषय समावेश गर्नु र वृहतरुपमा बहस चलाउनुमा फरक छ ।
नेपाली समाजको चरित्रबारे धेर थोर माधव नेपाल समूहले व्याख्या गर्न खोजको छ तर त्यसलाई बहस भन्दा पनि राजनीतिक स्टन्टकारुपमा ल्याइएको जस्तो लाग्छ । पुँजीवाद भन्न चाहनेले पुँजीवाद पनि भन्न मिल्ने अर्ध समान्ती भन्न चाहनेले अर्ध समान्ती भनेर व्याख्या गर्न मिल्ने जस्तो गरी सहमती गरेर प्रतिवेदन ल्याएको जस्तो देखिन्छ । कि पुँजीवाद नै भनेर जान पर्यो कि अर्ध सामन्ती भनेर जान सक्न पर्यो । दुवैलाई आआफ्नो अनुकुलतामा व्याख्या गर्ने गरी प्रतिवेदन तयार पारिएको छ । यसरी दुई खाले अर्थ लाग्ने भन्दा एउटा स्थितिमा प्रष्ट भएको भए हुन्थ्यो । अर्ध सामान्ती हो भने पुँजीवादतिर जाने कुरा हुन्थ्यो, पुँजीवाद हो भने समाजवादतिर जाने कुरा हुन्थ्यो । घनश्याम भुसालीले नेपाली समाजको पूँजीवादी अवस्थाको चर्चा गर्नुभएको छ । त्यो विचार माधव नेपालको होइन । अर्कोतिर केपी ओलीको वैचारिक बैशाखी शंकर पोखरेलले धानिरहनुभएको छ । खोई त नेकपा एमालेको आफ्नो आधिकारिक दस्तावेज ? यदि भूसालजी ले भने कै जस्तो नेपाली समाजको अवस्था भने त्यसमा सिंगो एमालेले आन्तरिक र बाह्यरुपमा बहस चलाउन सक्नु पथ्र्यो । विचारको वहस भएको भए गुटउपगुटको अन्त्य हुने थियो । पदकेन्द्रित यो महाधिवेशनले न त एमालेलाई फाइदा पुर्याउछ न कम्युनिष्ट आन्दोलनलाई नै ।

स्थायी प्रकृतिका गुट निर्माण गर्न नेकपा एमालेले यो महाधिवेशन गर्दैछ । यसले वैचारिक र मानसिकरुपमा नै पार्टी विभाजनतिर लैजाने खतरा देखिएको छ । उहाँहरुले आ आफ्नो प्यानलको जीत दावी गर्दै गर्दा देशले के पाइरहेको छ ? समाज रुपमान्तरणको कार्यक्रम के दिइरहनु भएको छ ? औधोगिक सुधारको आधार के छन् उहाँहरुसँग ? भूमिसुधारका लागि कस्तो योजना बनाउनु भएको छ ? यी सबै विषयहरु मौन छन् । हरेक महाधिवेशनमा मूलभूत तीन कुरा आवश्यक हुन्छ । विगतको समीक्षा, आगामी दिनका लागि नीति र त्यसको कार्यान्वयनका लागि नेतृत्व । नेपाललाई कता लाने त्यसको लागि त नेतृत्व आवश्यक हो । तर यहाँ पहिलो र दोस्रोको त चर्चा नै छैन । त्यस्तो खालको छलफलले सर्वसाधारणको जीवनलाई के अर्थ राख्छ ? यसपालीको एमालेको महाधिवेशन पटक्कै भएन । यसले गहिरो विभाजनको बिउ रोप्छ ।

मेरो गुटको मान्छेले भ्रष्टाचार गरे पनि आहा क्या राम्रो भ्रष्टाचार भनेर प्रोत्साहन गर्ने अपराध गर्दा पनि स्यावासी पाउनेसम्मको गुटको निर्माण हुने सम्भावना मैले देखेको छु । अहिले आफूलाई जस जसले साथ दिएका छन् उनीहरुको त सात खुन माफ हुने भयो । यसले कार्यकर्ता नेतामा सांस्कृतिक विचलन ल्याउछ । माधव नेपालको खेमामा केही नयाँ अनुहार देखिन्छन् । तर ओली खेमामा हेर्ने हो भने पूरानै मान्छेको बढी वर्चश्व छ । नेपाल समूहमा नयाँ अनुहार र युवा पुस्ताको बाहुल्यता देखिए पनि विचारको एजेण्डा भने देखिएको छैन । देशलाई उलट पुलट गर्ने खालको मुद्या खोई ? युवा भन्दैमा मात्र पनि हुँदैन । आम जनताको तहमा पनि आकर्षण गर्ने विचार ल्यायो भने मात्र देशले फड्को मार्ने होइन ।
नेता हुने भनेको विचारले हो । पालो पुर्याउन खोजेर र बुढेयौलीले छोयो भनेर नेता भइँदैन । देश र जनतालाई प्रभाव पार्ने गरी जसले एजेण्डा ल्याउन सक्छ उही नेता हुने हो । नीतिका आधारमा नेता हुने हो । एमालेमा नीति नभई नेता बन्ने गलत संस्कार छ । केपी ओलीका बारेमा भन्नुपर्दा उनी विचार लुकाउने मान्छे होइनन । मनमा जे छ त्यो प्रष्ट बोल्छन् । विचारले ज्यादा दक्षिणपन्थी देखिन्छन् । राजतन्त्रको त समर्थन नै गरेका हुन् । पछिसम्म पनि राजतन्त्रका पक्षमै देखिएका थिए । हुन त माधव नेपालले पनि राजालाई दाम चढाएको र विन्तीपत्र हालेको भन्ने छ तर उनी पछि खुलेरै गणतन्त्रको लागि आन्दोललमा आए ।

ओलीको सकारात्मक भनेको उनी विचार फेर्दैनन् । प्रतिगमण सच्चियो र आधा सच्चियो भन्ने उनको सुनिएन जुन विचारको समस्या नेपालमा देखियो । ओली निर्वाचित भएसँगै दक्षिणपन्थी प्रभाव बढ्ने सम्भावना देखिन्छ । उनले लगातार दक्षिणपन्थी विचार राखिरहेको पाइन्छ । ओली एकीकृत नेकपा माओवादीप्रति नेपालको तुलनामा अलि बढी आक्रामक र शत्रुतापूर्ण व्यवहार राख्छन् । यदि उनी अध्यक्ष भएर आएको खण्डमा संविधान लेखनका केही मुद्दामा बदलाव पनि आउन सक्छ । पहिचानका तीव्र विरोधीका रुपमा ओली चिनिन्छन् ।

ओलीको तुलनामा नेपाल अलि बढी परिवर्तनका पक्षमा देखिएका र आन्दोलनमा होमिएका व्यक्ति भएका कारण यो सहानुभूति नेपालले पाउन सक्छन् । माधव नेपालले चाहे जति परिवतर्न ओलीले चाहेका थिएनन हिजोका दिनमा । समग्रमा यि दुवै विचारक होइनन् । विचारका नेता नभएर म्यानेजर हुन् जसलाई म्यानेज गर्न मात्र आउछ । विपि कोइाराला,पुष्पलाल,मदन भण्डारी विचार दिन सक्ने खालका नेता थिए । देशलाई नयाँ धार दिएर अगाडि लैजान सक्ने क्षमता दुवैमा छैन । नयाँ पुस्ताका मान्छेहरु आएका भए केही आशा गर्ने ठाउँहरु हुन्थ्यो । युवासँग अरुभन्दा भिजन देखिएको छ । एमालेका केही युवा नेताहरुले त्यो आशा देखाएका छन् तर उनीहरुको सहज आगमन देखिएको छैन । राजनीतकरुपमा असाध्यै गणतान्त्रिक र सांस्कृतिकरुपमा सामन्तवादी नेपाली नेताहरुको विशिष्ठता हो ।

बामपन्थी विश्लेषक श्रेष्ठसँग नेपालीहेडलाइन्सले गरेको कुराकानीमा आधारित ।

Tags: , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page