अब ठूला माछा समात्छु: अख्तियार प्रमुख कार्की

महोत्तरी, असार १६ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अब आफू ‘ठूला माछा’ समात्ने अभियानमा लाग्ने बताउनुभएको छ ।
‘कतिपय मानिसहरु तपाईंले पोखरीका साना माछा मात्र समात्नुभयो, ठूला माछा किन नसमातेको ? भनेर प्रश्न गर्छन्’ कार्कीले भन्नुभयो ‘पोखरी सफा गर्ने क्रममा फेला पर्ने साना ठूला सबै माछा समात्ने छु ।’
महोत्तरीको बर्दिबासमा आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोे सम्पर्क कार्यालयको उद्घाटन गर्दै प्रमुख आयुक्त कार्कीले अख्तियारको दुरुपयोग गर्ने ‘सानाठूला’ सबैमाथि छानबिन र कार्वाही गरिने स्पष्ट पार्नुभएको हो ।
उहाँले सप्तरीदेखि पर्सासम्मका तराईका आठ जिल्लाको शिक्षा क्षेत्रमा भएको भ्रष्टाचारलाई आफूले गम्भीर रुपमा लिएको बताउनुभयो । शिक्षा क्षेत्रमा भएको अनियमितताको सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको भन्दै कार्कीले छानबिनको क्रममा अस्थित्वमै नभएपनि २ सय विद्यालयले राज्यबाट सेवा सुविधा लिएको पाइएको जानकारी दिनुभयो । उहाँले जनकपुर–जलेश्वर, बर्दिबास–जलेश्वर लगायत तराईका जिल्लाको सडकको अवस्था दयनीय बनेको प्रसंग उठाउँदै तराईमा सडक निर्माणको नाममा करोडौं रुपैयाँ बर्षेनी भ्रष्टाचार हुने गरेको बताउनुभयो । अब अख्तियारले सडक निर्माणको नाममा भैरहेको भ्रष्टाचारको छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्ने कार्कीले चेतावनी दिनुभयो ।  
प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीय विकास अधिकारी लगायत मुख्य सरकारी निकायका प्रमुखहरुको आचरण र व्यबहार ठीक हुने हो भने ९० प्रतिशत सुशासन कायम हुने अख्तियार प्रमुख कार्कीले बताउनुभयो ।
गएको चैत २६ गते स्थापना गरिएको अख्तियारको बर्दिवास सम्पर्क कार्यालयको आइतबार साँझ विधिवत उद्घाटन गरिएको छ । कार्यालयमा सह सचिवको नेतृत्वमा २२ जना कर्मचारी रहनेछन् ।
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page