पोर्तालेजा (एपी), असार १५ - विश्वकपको सबैभन्दा बढी गोल गर्ने टिमले प्रतियोगिताकै सबैभन्दा राम्रो गोलकिपरको सामना गर्ने भएको छ । यदि गोल गर्ने नेदरल्यान्ड्सलाई ब्राजिल विश्वकपको क्वाटरफाइनलको यात्रा तय गर्नु छ भने उसले मेक्सिकोका गोलकिपर गुलेर्मो ओचोआलाई पार गर्नुपर्ने हुन्छ । मेक्सिकोका गोलकिपरले अहिलेसम्म एक मात्र गोल खाएका छन् । त्यो पनि क्रोएसियासँगको ३-१ को जितमा । खेलको अन्त्यतिर सान्त्वना गोलका रूपमा इभान पेरिसिचले गरेका थिए ।
२८ वषर्ीय ओचोआले सामुयल एटोलाई रोक्दै मेक्सिकोलाई क्यामरुनविरुद्ध १-० को जित दिलाएका थिए । साथै, मेक्सिकोले त ब्राजिललाई गोल गर्न दिएन । उनले नेयमरका दुई र थिएगो सिल्भाको एक प्रहारलाई उत्कृष्ट बचाउ गर्दै घरेलु दर्शकलाई निराश तुल्याएका थिए । त्यो खेलमा उनी म्यान अफ द म्याच नै भए । खेलको सबैभन्दा रोमाञ्चक पक्ष थियो, ओचोआविरुद्ध ब्राजिल । खेल सकिएलगत्तै मेक्सिकोका खेलाडीले उनलाई सम्मानसाथ अँगालो मारेका थिए ।
'हामी अरू टिमलाई जस्तै नेदरल्यान्ड्सलाई पनि सम्मान गर्छौं । तर हामीलाई थाहा छ, उपाधि जित्ने मुख्य टिममा मेक्सिको पर्दैन । हामी डराउँदैनौं र आत्मविश्वाससाथ खेल्छौं,' ओचोआले भने,'यदि हामीले उनीहरूलाई हराउन सके, निकै टाढा जानेछौं ।' नेदरल्यान्ड्सका स्ट्राइकर डिक क्युटले आफ्ना साथीहरूले ओचोआलाई छक्याउँदै गोल गर्ने बताए । किनकि नेदरल्यान्ड्सले समूह चरणका ३ खेलमा १० गोल गरिसकेको छ । त्यसमा उसले डिफेन्डिङ च्याम्पियन स्पेनलाई हराउँदा एकै खेलमा ५ गोल गरेको थियो । मेक्सिकोविरुद्ध आइतबार हुने खेल पनि स्पेनलाई हराएकै मैदान पोर्तालेजामा हुनेछ ।
'हामीलाई आफ्नो बलियो पक्षबारे थाहा छ,' क्युटले छिटा गतिका आर्जेन रोबिनको प्रसंग कोट्याउँदै भने,'तर हामीसँग रोबिन भान पर्सी पनि छन् ।' उनले बेस्ली स्नाइडर विश्वमै उत्कृष्ट खेलाडी भएको बताए । 'त्यसैले हामीले यी सबै बलियो पक्षको सदुपयोग गर्न सक्नुपर्छ,' उनले भने । मेक्सिको अन्तिम १६ मा पुगेको यो लगातार छैटौं पटक हो । त्यो नतिजा ब्राजिल र जर्मनीले मात्र निकाल्न सकेका छन् । तर मेक्सिकोको यात्रा सधैं यहीबाट टुंगिने गरेको छ । तर अहिलेको मेक्सिकोको टिम त्यसलाई चिर्दै अघि बढ्न चाहन्छ ।
'हामीले नेदरल्यान्ड्सलाई मात्र हराउने कुरा गरेका छैनौं । हामी हरेक राम्रा टिमलाई हराउन चाहन्छौं र प्रतियोगिताका सबै खेल जित्न चाहन्छौं,' मेक्सिकोका डिफेन्डर मिगुइल लयुनले भने,'नेदरल्यान्ड्स उत्कृष्ट टिम हो, चार वर्षअघि यही टिम उपाधिका लागि भिडेको थियो । र, यस पटक पनि त्यसको दाबेदार हो । तर हामीले जित निकालेमा हाम्रो आत्मविश्वास बढ्नेछ ।' क्युटले मेक्सिकोको टिम बलियो नदेखिनुको मुख्य कारण म्यानचेस्टर युनाइटेडका स्ट्राइकर जाभियर हर्नान्डेज सुरुआती लाइन-अपमा नपर्नु हो ।