धेरै मुनाफा नाफा कमाउने लोभमा परेर तरकारीमा अत्याधिक विषादी हाल्ने किसानहरु सावधान ।
कृषि विकास मन्त्रालयले कालीमाटीस्थित 'फलफुल तथा तरकारी बजार'मा विषादीको मात्रा पत्ता लगाउने प्रयोगशाला संचालनमा ल्याएको छ। मुलुकमा भित्रिने विषादीको ८५ प्रतिशत तरकारीबालीमा प्रयोग हुन थालेपछी चिन्तित मन्त्रालयले 'विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला' बुधबारदेखी संचालनमा ल्याएको खबर आजको कान्तिपुरमा खबर छ।
प्रयोगशालामा ताइवानबाट ल्याइएको नौ लाख रुपैया लागतको स्पेक्टोफोटोमिटरले तरकारी र फलफुलमा रहेको विषादीको अवशेष जाच्नेछ। मन्त्रालय मातहत रहेको बाली संरक्षण निर्देशनालयका चार जना प्राविधिक (उपसचिव) हरुले थोकबजारमा बिक्रिमा राखिने तरकारी र फलफुलको नमुना छानेर विषादी जाच्नेछन् । 'बजारमा ल्याइएको तरकारीको नमुना छानेर विषादीको अवशेषको मात्रा कति छ आधा घन्टाभित्र जाचेर मात्रै साना बजार र उपभोक्तालाई विक्रिकालागी अनुमती दिने छौ,' प्रयोगशाला संचालनको जिम्मा लिएको बाली शंरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले भने । उनका अनुसार, ताइवानले विकास गरेको यो प्रविधि एशियाप्रान्तमा भित्र्याउनेमा नेपाल चौथो मुलुक हो ।
उनका अनुसार, प्राविधिकहरुले अत्याधिक विषादी भेटीएका कृषि उपजलाई बजारमा प्रतिवन्ध लगाउदै किसानलाई फिर्ता पठाउनेछन् । विषादीको अत्याधिक प्रयोग गर्ने किसानहरुलाई विषादी ऐन अनुसार, कारवाही पनि गरिनेछ । 'उपभोक्ताको स्वास्थ्यमाथी कसैलाई खेलवाड गर्ने अधिकार छैन,' मन्त्रालयका सचिव जयमुकुन्द खनालले भने, 'यो प्रयोगशालाको स्थापनाले किसानहरुले पनि सन्तुलित ढंगबाट विषादीको प्रयोग गर्न सिकुन ।' उनले व्यवसायी र किसान दुबैले प्रयोगशालालाई उत्प्रेरणाका रुपमा लिन सुझाउदै उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिन भने । मुलुकै सबैभन्दा ठुलो फलफुल तथा तरकारी बजारमा राखिएको प्रयोगालशा उद्घाटन गर्न पुगेका मुख्य सचिव लिलामणी पौडेलले विषादीमुक्त तरकारी र फलफुलको प्रयोग बढाउने उदेश्यले स्थापना गरिएको प्रयोगशालालाई बजेटमा प्राथमिकता दिदै बिस्तार गर्न निर्देशन दिए ।
निर्देशनालयका अनुसार, नेपालमा प्रति हेक्टर विषादीको प्रयोग अरू मुलुकको दाजोमा निकै कम भएपनि तरकारी खेतीमा भने अत्याधिक प्रयोग हुने गरेको छ । नेपालमा प्रति हेक्टर १ सय ४२ ग्राम विषादी प्रयोग भैरहेछ । अत्याधिक विषादी प्रयोग गर्ने जिल्लाहरुमा काभ्रे, धादिङ्ग र चितवन छन भने मध्यमाञ्चल विकास क्षेत्र अत्याधिक विषादी प्रयोग हुने क्षेत्र हो । मुलुकमा आयत हुने बिषादीको ८५ प्रतिशत प्रयोग तरकारी वालीमा हुने गरेको भेटीएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार, खाद्य वस्तु र आहारमा विषादीको अवशेषको अवस्था चिन्ताजनक अवस्थामा भेटीएको छ । विभागले उच्च सावधानी अपनाउनु पर्ने जनाउदै धेरैपहिलेदेखी सतर्कता अपनाउन भन्दै आएको छ ।