५ असार, काठमाडौं । विश्व फुटबलमा स्पेनको प्रत्भुत्व एक प्रकारले समाप्त भएको छ र ब्राजिलमा जारी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
पहिलो खेलमा नेदरल्याण्डसँग ५-१ गोल अन्तरले पराजित भएको स्पेनले बिहीबार विहान भएको खेलमा चिलीसँग २-० को हार व्यहोरेको छ ।
स्पेनलले सन् २००८ को युरो कप, २०१० को विश्वकप र २०१२ को युरो कपको उपाधि जितेको थियो र विश्वकप सुरु हुँदासम्म उसलाई नै उपाधिको मुख्य दावेदारका रुपमा हेरिएको थियो । तर, ब्राजिलको स्पेनको यात्रा अपेक्षा गरे अनुहार भएन ।
अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्ने स्पेनलाई बिहीबार विहानको खेल जित्ने पर्ने दबाव थियो । तर, पहिलो खेल जितेको चिलीले सुरुबाटै आक्रमक खेल खेलेर स्पेनलाई दबावमा राख्यो ।
२० औं मिनेटमा चिलीका बार्गासले गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलमा फर्कने प्रयास गरिरहेको बेला स्पेनले पहिलो हाफको अन्त्यमा अर्को गोल खायो । एलेक्स सान्चेजको प्रहार स्पेनका गोलरक्षक इकर कासियासले रोके तर, रिबाउन्स बलमा एनरिगिसले गोल गर्दै चिलीलाई २-० को अग्रता दिलाए ।
दोस्रो हाफमा स्पेनले खेलमा फर्कने केही राम्रो प्रयास गरेको थियो । ५३ औं मिनेटमा सर्जिओ बुस्केट्सको प्रहार केहीबाहिर भयो । ८४ औं मिनेटमा स्पेनले अर्को मौका गुमायो । आन्द्रे इनिष्टाको राम्रो प्रहार चिलीका गोलरक्षक ब्रावाले उत्कृष्ट बचाउ गरे ।
नेदरल्याण्ड र चिली अन्तिम १६ मा
सन् २०१० को विश्वकप उपविजेता नेदरल्याण्डसागै चिली भने समूह बीबाट नकआउट चरणमा प्रवेश गरेका छन् । अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएको छ ।
बुधबार राति भएको रोमान्चक खेलमा नेदरल्याण्डले अष्ट्रेलियालाई ३-२ गोल अन्तरले पराजित गर्दै ६ अंक जोडेको थियो । पहिलो खेलमा अष्ट्रेलियालाई नै हराएको चिलीको पनि ६ अंक भएको छ ।
अब समूह विजेताको टुंगो समूह चरणको अन्तिम खेलले लगाउने छ र जसमा नेदरल्याण्ड र चिली नै भिड्नेछन् । स्पेन र अष्ट्रेलिया आमने सामने हुनेछन् । दुबैका लागि यो खेल ब्राजिलमा सान्त्वना जितको प्रयासका लागि हुनेछ ।