चितवन जेठ २५,
जिल्ला शिक्षा कार्यालय चितवनले विद्यालयमा बन्द हड्ताल नगर्न निर्देशन दिएको छ । भोली जेठ २६ गते जिल्लाका सबै संस्थागत विद्यालयहरु बन्द आह्वान गरिएको जानकारी प्राप्त भएको भन्दै कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले आज विज्ञप्ती जारी गर्दै शिक्षा नियमावली २०५९ को नियम ८५ तथा नियम १ सय ३३ को उपनियम १, खण्ड ञ्ँ अनुसार नियममा उल्लेख गरिएको अवस्थामा बाहेक विद्यालयहरु नियमित सञ्चालन गर्नुपर्ने र बन्द हड्ताल गर्न नपाईने उल्लेख गर्नुभएको छ । विद्यालय बन्द यस व्यवस्था विपरितको कार्य भएकाले त्यसो नगर्न आग्रह गर्दै सूचनामा विद्यालय नियमित रुपमा सञ्चालनगरी शान्ती क्षेत्रको मर्मलाई पालना गर्न र बालअधिकारको संरक्षण गर्न सम्बन्धित सरोकारवालालाई अनुरोध गरिएको छ । साथै शिक्षा कार्यालयले शिक्षा क्षेत्रमा देखिएका समस्याहरु आपसी छलफल र समझदारीबाट समाधान गर्न प्रयास गरिने उल्लेख गरेको छ ।
यस अघि नेपाल ईष्टुले आफ्ना विभिन्न मागहरु सम्बोधन नभएको भन्दै भोली देखि अनिश्चित कालका लागि संस्थागत विद्यालयहरु बन्दको आह्वान गरेको थियो । संस्थागत विद्यालयका शिक्षकहरुको छाता संस्था संस्थागत विद्यालय शिक्षक युनियन ईष्टु नेपालले बन्द आह्वान गर्ने नेपाल ईष्टु अबैधानि संस्था भएको भन्दै उनीहरुले आह्वान गरेको बन्दको कुनै असर नपर्ने दाबी गरेको छ ।ईष्टु नेपाल चितवनका अध्यक्ष विष्णुहरी थापाले पुनरावेदन अदालत पाटनले अबैधानिक ठहर गरिसकेको नेपाल ईष्टु संस्था बैधानिक रुपमै खारेज भइसकेको दाबी गर्नुभयो । ईष्टु नेपालले भोलीका लागि आह्वान गरिएको बन्द हुन नदिन जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयलाई आज दिउसो पत्र पठाएको थियो ।