क्यान अध्यक्षसहित १८ बिरुद्ध अख्तियारद्धारा भ्रष्टाचारको मुद्दा दायर


Tanka-angbuhang
२५ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष टंक आङबुहाङसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । उनीहरुले क्यानको १ करोड ४३ लाख १४ हजार ५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दावी छ ।

भ्रष्टाचारको मुद्दा दायर गरिएकाहरुमा १० जना क्यानका छन् । एमाओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका क्यान अध्यक्ष आङबुहाङसँगै उपाध्यक्षत्रय चतुरबहादुर चन्द, सुनिलमान अमात्य र विनोदकुमार मौनाली, महासचिव अशोकनाथ प्याकुरेल, कोषध्यक्ष राजुबाबु श्रेष्ठ कार्यसमिति सदस्यहरु किरण राणा, ठाकुरप्रताप थापा, ठाकुरप्रसाल पहाडी र पूर्ण लामाविरुद्ध पनि मुद्दा दायर भएको छ ।
यस्तै राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर शाखा प्रमुख अरुण उपाध्याय र ७ ठेकेदारविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
अध्यक्ष आङबुहाङ र कोषाध्यक्ष श्रेष्ठले मुलपानीमा क्रिकेट मैदान निर्माणदेखि क्रिकेट बल र व्याट खरिद, तथा खजामा समेत भ्रष्टाचार गरेको अख्तियारले दावी गरेको छ । अध्यक्ष आङबुहाङ र कोषाध्यक्ष श्रेष्ठले १ करोड ४२ लाख २६ हजार भ्रष्टाचार गरेको उसको दावी छ ।
जसमा सरकार र विदेशी संस्थाबाट आएको २४ लाख ६३ हजार ३ सय २८ रुपैयाँ छ । यस्तै मुलपानीमा मैदान र भवन बनाउन आएको रकमदेखि व्याट र बलसहितका सामान खरिद नै नगरी लिएको गरी १२ लाख ३ हनार ६३ रुपैयाँ छ । अध्यक्ष आङबुहाङ र कोषाध्यक्ष श्रेष्ठले बस सेवा भन्दै लिएको सात लाख, सुरक्षा र खाजा खर्च भनी लिएको ५ लाख ४१ हजार र अनावश्यक मानिसहरुलाई खुसी पार्न गराएको विदेश भ्रमणको २९ लाख ८९ हजार पनि छ ।
महासचिव प्याकुरेलसँगै राणा र थापाले सरकार र विदेशी सहयोगबाट आएको १ करोड २ लाखब ४८ हजार ३ सय ८८ भ्रष्टाचार गरेको अख्तियारको दावी छ । आर्थिक समितिका संयोजक समेत रहेका उपाभ्यक्ष चन्दले ६२ लाख ६७ हजार ९ सय ७२, सदस्य पहाडीले ४४ लाख ४० हजार र उपाध्यक्ष अमात्यले १२ लाख भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ । क्यान उपाध्यक्ष मैनाली र सदस्य लामाले ८७ हजार ५७५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले दावी गरेको छ ।
राखेपका उपाध्यायले मुलपानीमा कुनै काम नै नगरी ठेक्का सम्झौता बनाएर १५ लाख र भवन निर्माणमा ठेक्का सम्झौताभन्दा बढी भुक्तानी गर्न सिफारिस गरेर ३२ लाख ८७ हजार गरी कुल ४७ लाख ७२ हजार ७ सय ५१ भ्रष्टाचार गरेको अख्तियारको दावी छ ।
अख्तियारले निर्माण कार्यमा संलग्न ठेकेदारहरु गौरा कन्सट्रक्सनका सञ्चालक सुर्य अधिकारी, आर कोमल कन्सट्रक्सनका रामशरण देउजा, नव निर्माण कम्पनिका कृष्णप्रसाद पाण्डे, क्राउन नेपाल कन्सट्रक्सन एण्ड डेभलपमेन्टका पवन पाठक, खड्का कन्सट्रक्सनका सञ्चालक राजकुमार खड्का विरुद्ध पनि विशेष अदालतमा मुद्दा हालेको छ । अख्तियारले डिजाईन शेल आकिर्टेक्ट्सका निर्देशक उमेशमान श्रेष्ठ र सिफन इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर छबिलाल अधिकारीविरुद्ध पनि मुद्दा दयार गरेको छ ।


Tags: , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page