काठमाडौ, असार १० – आर्थिक वर्ष ०७०÷७१ सकिन २० दिन मात्रै बाँकी रहदा पूँजीगत खर्च आधा भन्दा पनि कम भएको छ ।
महालेखा नियन्त्रकको कार्यालयले दिएको जानकारी अनुसार यो आर्थिक बर्षको लागि पूँजीगत वजेट ८५ अर्ब छुट्टयाइएकोमा अहिलेसम्म ४१ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ ।
यो कुल पूँजीगत वजेटको जम्मा ४८ प्रतिशत मात्रै हो । पूँजीगत बजेट खर्च नभएपनि साधारण बजेट भने ७२ प्रतिशत खर्च भइसकेको छ । साढे ३ खर्ब साधारण खर्च छुट्टयाइएकोमा २ खर्ब ५४ अर्ब रुपैयाँ खर्च भैसकेको छ । यस्तै वित्तिय ब्यबस्थापन तर्फ ७८ अर्ब छुट्टया्इएकोमा ३३ अर्ब अर्थात ४२ प्रतिशत खर्च भएको छ ।
५ खर्ब १७ अर्बको कुल बजेटमध्ये अहिलेसम्म ३ खर्ब २९ अर्ब अर्थात ६० प्रतिशत खर्च भएको छ । पुजिगत खर्च बढ्न नसक्दा सरकारी ढुकुटीमा ६० अर्बभन्दा धेरै रकम थुप्रिएको छ ।
चालु आर्थिक वर्षमा भएका बिभिन्न आयोजनाको भुक्तानी गर्न बाँकी रहेकाले खर्च बढ्ने अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडाशैनीले बताउनुभयो । तर अब आर्थिक वर्ष सकिन धेरै दिन बाँकी नरहेकाले यो बर्ष पूँजीगत खर्च ८० प्रतिशत पनि नपुग्ने देखिएको छ ।