असार, बग्दाद (बीबीसी)
इराक संकट
- राष्ट्रपति ओबामा अबेर राति छलफल गर्दै
- इराकको प्रजातान्त्रिक भविष्य अनिश्चित
- बग्दादवासी खाद्य सामग्री भण्डारण गर्दै
इराक संकट
- राष्ट्रपति ओबामा अबेर राति छलफल गर्दै
- इराकको प्रजातान्त्रिक भविष्य अनिश्चित
- बग्दादवासी खाद्य सामग्री भण्डारण गर्दै
थुप्रै मुख्य सहरमाथि आधिपत्य जमाएका जिहादी लडाकुविरुद्ध हवाई आक्रमण गर्न अमेरिकासँग औपचारिक रूपले इराकले आह्वान गरेको छ ।
'इराकी सरकारबाट हवाई शक्ति प्रयोगका लागि अनुरोध आएको छ,' शीर्षस्थ अमेरिकी सैन्य कमान्डर जनरल मार्टिन डेम्पसीले पुष्टि गर्दै भने । विद्रोहीले उक्त मुलुकको सबभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि यो घोषणा भएको हो ।
सिया नेतृत्व सरकारका प्रधानमन्त्री नुरी अल मलिकीले यसअघि विद्रोहीविरुद्ध एकजुट हुन नागरिकसँग अपिल गरेका थिए । अमेरिकाका राष्ट्रपति बाराक ओबामा पनि इराक संकटबारे बुधबार अबेर राति वरिष्ठ कंग्रेस सदस्यहरूसँग छलफल गर्दै छन् । इराकको गृहयुद्धमा अमेरिकी सेनालाई संलग्न गराउने पक्षमा आफूहरू नरहेको डेमोक्रेट सिनेट नेता ह्यारी रेडले बैठक अगाडि बताए । तर जनरल डेम्पसीले सिनेट प्यानलसँग जुनसुकै कुनामा भए पनि त्यस्ता आततायी समूहको प्रतिकार गर्नु अमेरिकाको राष्ट्रिय हितमा भएको प्रष्ट पारेका छन् ।
सुन्नी कट्टरपन्थीले सबभन्दा ठूलो बाईजी रिफाइनरीलाई लगभग नियन्त्रण गरेको छ । इराकी फौज असफल भएपछि बुधबार अबेर राति इराकले अमेरिकासँग जिहादी लडाकुविरुद्ध हवाई आक्रमण गर्न अपिल गरेको हो । त्यहाँ मध्यरातिदेखि बिहीबार बिहानसम्म उत्पन्न हुने अवस्थाबारे कसैले पनि कल्पना गर्न सकेका छैनन् । राजधानी बग्दाददेखि २ सय १० किमि टाढा रहेको उक्त रिफाइनरीको ७५ प्रतिशत भागमा विद्रोहीले कब्जा जमाएको एक अधिकारीले रोयटर्सलाई बताएका छन् । रिफाइनरी बाहिरको तीनमध्ये दुई मुख्य द्वारबाट आक्रमण सुरु भएको थियो ।
उनीहरूले दुवै तर्फबाट मोर्टार र मेसिनगनले प्रहार गरेका थिए । त्यहाँको स्पेयर पार्टको गोदाम घरबाट धुवाँ उठेको थियो । लडाकुले तेलको केही भण्डारण नष्ट गरे । उनीहरूले उत्पादन युनिट, प्रशासकीय भवन र चार वाच- टावर लगायत ७५ प्रतिशत भाग नियन्त्रणमा लिएका छन् । त्यहाँ थोरै संख्यामा रहेका बेलायती नागरिक लगायतका विदेशीलाई अपहरण गरिए पनि स्थानीय कर्मचारी भने त्यही छन् । सेनाले ४० आक्रमणकारी मारिएको भने पनि त्यसको कतैबाट स्वतन्त्र पुष्टि हुन सकेको छैन । बाइजी वरिपरिका सहरमाथि आईएसआईएसले गत साता नै आधिपत्य जमाएका थिए । एपी न्युज एजेन्सीका अनुसार मुलुकको कुल प्रशोधन क्षमताको २५ प्रतिशतभन्दा थोरै बढी क्षमता बाईजीको छ । यसले घरेलु उपभोगका लागि पेट्रोल, मट्टीतेल, ऊर्जा केन्द्रका लागि इन्धन
उत्पादन गर्छ ।
प्रधानमन्त्री मलिकीले टेलिभिजन सन्देशमा नागरिकलाई लडाकुविरुद्ध ऐक्यबद्ध हुन आग्रह गरेका छन् । इस्लामिक अतिवादी आईएसआईएस (इस्लामिक स्टेट इन इराक एन्ड द लेभन्ट) ले गत साता मुलुकको दोस्रो सबभन्दा ठूलो सहर मोसुललाई घेराबन्दी गरेपछि उनीहरूलाई लखेट्न सरकारी सेनाले दियाला र सलाहउद्दिन प्रान्तमा दिन-रात युद्ध गरिरहेका छन् । यस अवधिमा सयौं नागरिकको हत्या भएको छ । तीमध्ये धेरैजसो आईएसआईएस नेतृत्वको फौजी टुकडीले गोली हानी मारेका सैनिकहरू छन् ।
सरकारी बलले लडाकुमाथि पुनः हवाई आक्रमण सुरु गरेका छन् । पश्चिमी प्रान्त अनवरमा रहेका विद्रोहीका अनुसार सरकारदेखि असन्तुष्ट आदिवासी बहुल रहेको हित सहरका थुप्रै प्रहरी केन्द्रलाई कब्जामा लिँदै अघि बढेका छन् । राजधानीदेखि मात्र ६० किमि टाढा बाकुवामा आईएसआईएसबीच युद्ध जारी छ । यसले त्यहाँ तनावपूर्ण स्थिति सिर्जना भएको छ । लामो समयसम्म युद्ध चल्ने आशंकामा बग्दादबासीले खाद्य सामग्रीको जोहो गर्न थालेका छन् । लडाकुले सोमबार अधीनमा पारेको ताल अफारको किलालाई फिर्ता लिएको सरकारको भनाइ छ । लडाकुको पकडमा रहेको मोसुल क्षेत्रमा बिहीबार दबाब दिइने एक सैन्य प्रवक्ताले एएफपीलाई बताएका छन् । 'यी सब घटनाहरू इराकको प्रगतिका बाधक हुन्, हरेक अवरोधलाई पराजय भन्नुहुन्न,' मलिकीले बुधबार भने । उनका अनुसार यसले मुलुकको राष्ट्रिय एकतालाई पाउनमा सहयोग पुग्ने, नागरिकलाई जोखिममा रहेको महसुस गराउने र यसबाट एक जना नागरिक पनि लाभान्वित
नहुने प्रष्ट छ । सुन्नी विद्रोहीलाई रोक्न नसकेको आरोपमा उनले केही वरिष्ठ अधिकारीहरूलाई निलम्बन गरेका छन् । व्यापक रूपले आईएसआईएसलाई समर्थन गर्ने साउदी अरबलाई उनले यसका लागि जिम्मेवार ठहर गरेका छन् । लामो समयदेखि मलिकीमाथि बहुसंख्यक सिया मुस्लिमलाई सहयोग पुर्याएको र अल्पसंख्यक सुन्नीलाई अशान्तिका लागि उक्साउँदै आएको आरोप लाग्ने गर्छ ।
साभार कान्तिपुर
साभार कान्तिपुर