विश्वकप फुटबलको समूह चरणको खेल पूर्णस्तरमा चलिरहेको छ।
हरेक टोलीले कम्तीमा एक खेल खेलिसकेको अवस्थामा बीबीसी स्पोर्टका स्टीभन फोट्रेलले हालसम्मका सबैभन्दा आश्चर्यलाग्दा र निराश तुल्याउने केहि तथ्यहरु भेला पारेका छन्।
पांच आश्चर्यजनक घटना
कोस्टारिका
यो मध्य अमेरिकि टोली वरियताको हिसाबले सबैभन्दा अप्ठ्यारो समूहमा परेको थियो।
इंग्ल्याण्ड, इटली र सन् २०१० को विश्वकपमा चौथो स्थानमा रहेको युरुग्वे संग।
तर तिनीहरुले एक गोलले पछाडी परेको अवस्थामा पनि युरुग्वेलाई ३-१ ले पराजीत गरी आफ्नो खेल सफलताका साथ शुरु गरेका छन्।
गोल र गोल संख्या
यो विश्वकपमा पहिलो गोल खेल आरम्भ भएको ११ मिनेटमा भएको थियो, जुन बेला ब्राजीलका डिफेन्डर मार्सेलोको खुट्टामा लागेर आत्मघाती गोल हुन पुगेको थियो।
शुरुको चार खेलमा मात्रै १५ वटा गोल भएका थिए।
हालसम्म औसतमा प्रति खेल तीन गोल भएको देखिएको छ, जुन सन् १९५८ यताको सबैभन्दा बढी औसत हो।
मेक्सिकोका गोलरक्षकको कौशल
समूह चरणको दोस्रो खेलमा ब्राजीललाई मेक्सिकोले गोलरहित बराबरीमा रोकेको थियो, जस्मा गोलरक्षक गिएर्मो ओचावाको उल्लेख्य योगदान रह्यो।
उक्त खेलमा उनले दर्शनीय खेल प्रदर्शन गरी गोलहरु बचाएका थिए।
विशेषगरी नेएमारले गरेका हेडबललाई उनले जसरी बचाए त्यसलाई ब्राजीलका ट्वीटर प्रयोगकर्ताहरुले सन् १९७० को विश्वकपमा पेलेको हेड प्रहारलाई इंग्ल्याण्डका गोर्डन ब्यांक्सले छेकिदिएका घटनासंग दांजेर चर्चा गरेका थिए।
विलाएर जाने स्प्रे रंग
पेनाल्टी क्षेत्र नजीकै फ्री-किकको बेला रेफ्रीहरुले बल प्रहार गर्ने ठाउं र डिफेन्सको वाल उभिनु पर्ने ठाउंको चिनो लगाउन विलाएर जाने खालको स्प्रे रंगको प्रयोग गर्दा दर्शकहरु अचम्ममा परेका थिए।
त्यस्तो खाले स्प्रे रंगको प्रयोग दक्षिण अमेरिकी फुटबल केहि बर्ष अघि देखि नै प्रचलनमा थियो तर विश्वकपमा त्यसको प्रयोग भने यो पहिलो पल्ट हो।
उक्त रंगले लगाएको चिनो एक मिनेट पछि आफै विलाएर जान्छ।
रहीम स्टरलिंग
इंगलिश प्रिमिएर लिगका प्रशंसकहरु लिभरपुलबाट खेल्ने यि १९ बर्षे खेलाडीको कौशलसंग परिचित नै छन् तर विश्वकपमा इंग्ल्याण्डको टोलीमा यि सबैभन्दा कान्छा खेलाडीलाई देख्दा धेरै जसो अचम्भीत भएका थिए।
जमैकामा जन्मेका यि युवा खेलाडीले इटलीसंगको खेलमा देखाएका खेलले यिनी धेरैको आंखामा चढ्न सकेका छन्।
पांच निराशाजनक घटना
स्पेनको शुरुआती प्रदर्शन
गत विश्वकपको विजेता स्पेनले विश्व फुटबल जगतमा छ बर्षसम्म दबदबा कायम गरेको थियो।
त्यसक्रममा सन् २००८ र २०१२ को युरोपेली च्याम्पियनशीप र २०१० को विश्वकप उस्को कब्जामा रह्यो।
यसपटक पनि नेदरल्याण्डस् विरुद्ध एक गोलको अग्रता रहुञ्जेल स्थिती योजना अनुसारकै देखिएको थियो।
तर नेदरल्याण्डस् पक्षले चार बर्ष फाइनलमा बेहोर्नु परेको पराजयको बदला ५-१ को अन्तरले जसरी लियो त्यो साल्भाडोर रंगशालामा उपस्थित दर्शकले अनुमान नै गरेका थिएनन्।
अन्तत: दोस्रो खेलमा चिलीसंग पनि पराजीत भएपछि डिफन्डींग च्याम्पियन स्पेन यो विश्वकपबाट बाहिरिन पुगेको छ।
रेफ्रीको काम
ब्राजीलमा केहि खेल अधिकारीहरुको प्रदर्शनको शुरुमै आलोचना भएको थियो।
आयोजक ब्राजील र क्रोएशियाबीचको प्रारम्भीक खेलमा जापानी रेफ्री युइची निशीमुराबाट पेनाल्टी दिने जुन निर्णय भयो त्यहिंबाट विवादहरु आरम्भ भए।
अर्को चर्को विवादास्पद निर्णय स्पेन र नेदरल्याण्डस् बीचको खेलका क्रममा देखियो, जुन खेलमा इटलीका रेफ्री निकोला रिजोलीले स्पेनका डिएगो कोस्टालाई नेदरल्याण्डस् का विरुद्ध पेनाल्टी दिएका थिए।
विश्वकपमा पहिलोपल्ट “गोललाइन” प्रविधि
धेरै चर्चा गरिएको गोललाइन प्रविधि फ्रान्सले ३-० ले जितेको होन्डुरससंगको खेलमा खास अन्योलको कारक बन्न पुग्यो।
गोल भए नभएको निर्णय गर्न विश्वकपको उक्त खेलमा नै पहिलोपल्ट यो प्रविधिको प्रयोग गरिएको थियो।
त्यस खेलमा पहिले रिप्लेमा गोल नभएको ग्राफिक देखाइयो र पछि बलले होन्डुरसका गोलरक्षकसंग ठोक्किएर गोललाइन पार गरेको भन्ने निर्णय लिइयो।
जस्बाट होन्डुरसका कोच, उनका फ्रान्सेली समकक्षी र रंगशालामा उपस्थित दर्शक सबै नै अन्योलमा परेका थिए।
नाइजेरिया र इरानको बराबरीको खेल
विश्वकपको शुरुआती खेलहरु चाखलाग्दो तरिकाले अघि बढ्दै थिए र गोलहरुको संख्या पनि प्रसस्तै थियो।
छांटकांट हेर्दा बराबरीमा खेल टुंगीएको हेर्न नपर्ने आशा दर्शकहरुको थियो।
तर नाइजेरिया र इरानबीच कुनै उल्लेख्य चर्चा र प्रतिस्पर्धा विना खेल बराबरीमा टुंगीएको भनी आलोचना भएको थियो।
तर खेलमा नतिजा बराबर भएको भएतापनि इरानमा भने ठूलो खुशीयाली मनाइएको थियो।
एकजना मस्कटको निराशा
बोस्नीया हर्जगोभिनासंगको खेलमा अर्जेन्टीनाका लियोनेल मेस्सीबाट ठूलो आशा गरिएको थियो जस अनुसार नै उनले खेल जित्नमा आफ्नो योगदान दिए।
तर उनले उक्त खेल शुरु हुनुभन्दा अघिको चरणमा एकजना उत्साही मस्कट बालकले मिलाउनका लागि आफूतर्फ बढाएको हात उनले देखेनन्।
जस्बाट ति बालक निकै निराश देखिएका थिए।
सामाजीक संजालहरुमा समेत यो घटनाले ठूलो स्थान पाएको थियो।
लियोनेल मेस्सीले ति बालकलाई आफूले जानाजान बेवास्ता नगरेको बताए र पछि ति बालकलाई खोजेर उनले माफी पनि मागेका थिए।