कतारमा नेपालीकै कुटाइले दृष्टिविहीन बने गणेश

ज्ञानेन्द्र खड्का
२३ जेठ, काठमाडौं । राजधानीको धापासीस्थित टिनले छाएको छाप्रोमा एक युवक सुतिरहेका छन् । उनका हात सल्बलाउँदै क्षण-क्षणमा आँखामा पुगिरहन्छन् । आँखाबाट निस्कने पानी बग्दै गालासम्म झरिरहन्छ । दाहिने आँखो भिम्किन्छ, तर ज्योति छैन । देब्रे आँखाले त कुनै प्रतिक्रिया नै जनाउँदैन ।
महोत्तरीको बर्दिबास-९ घर भएका ३१ वर्षीय गणेशबहादुर श्रेष्ठको कथा हो यो । घरबाट बिदा हुँदा बाबुआमा र पत्नीको रुन्चे अनुहार देखेका थिए उनले । तीन वर्ष कतार बसेर घर र्फकँदा त्यही अनुहार पनि हेर्न पाएनन् ।
एक्ला छोरा गणेश अरुको सहारा लिएर घर आएको देखेपछि ७० कटेका बृद्ध बाबुआमाले आँसुका बलिन्द्र धारा बगाए । काठमाडौंमा न्याय खोज्दै भौतारिइरहेका उनी बाबु आमालाई सम्झँदै भक्कानिन्छन्, बाबुआमाको प्रसंग आउनेवित्तिकै उनको गला अवरुद्ध हुन्छ ।
गाउँकै दलालले ठगे
सपनाको पहाड लिएर सन् २०११ मार्च १ तारिखमा कतार उडेका उनले त्यहाँ सडक र भवन निर्माण गर्ने कम्पनीमा काम थालेका थिए । उनले कतार जान दलाललाई ७० हजार र मेडिकलसहित अन्य काममा १० हजार खर्चेका थिए । कतार पुगेपछि एउटा कम्पनीले कमिशन लिएर उनलाई अर्को कम्पनीमा पुर्‍यायो ।
गाउँकै एजेन्ट ज्ञानबहादुर कटुवालले राम्रो तलब र ओभरटाइम पाइने लोभ देखाएपछि कतार हान्निएको बताउने गणेशले मासिक ६ सय रियलमात्र तलब पाए । त्यो तलबले उनलाई खानमात्र ठिक्क हुन्थ्यो । १६ महिनासम्म त्यही तलबले छाक टारेका उनले एक पैसो घर पठाउन सकेनन् । नेपाल र कतारबीच नयाँ श्रम सम्झौता भएपछि मात्रै उनले ८ सय तलब र दुई सय खाना खर्च पाए ।
काठमाडौंको गोंगबुस्थित राजेश होटल एन्ड लजका सञ्चालक राजेश पुडासैनीमार्फत कतार पुगेका उनले २ वर्ष काम गर्दा ऋण तिरेर एक लाख मात्र कमाउन सके ।
दुई वर्षे करार सकिएपछि उनी नेपाल आउने तयारीमा थिए । छुट्टी माग्दा कम्पनीले ६ महिना थप काम गरेपछि मात्रै नेपाल जान अनुमति दिने बताएपछि उनले कतारी मरुभूमिमा पुनः पसिना बगाउन थाले ।
पानीको निहुँमा परदेशमा झगडा
कतारको सान्या मरुभूमिमा गणेशबहादुरसहित करिब ९० जना कामदारलाई राख्ने क्याम्प खडा गरिएको थियो । मरुभूमिमा राखिएको क्याम्पमा न त पानीको राम्रो व्यवस्था थियो, न अन्य आधारभूत सुविधा नै । बिजुली पनि जेनेरेटरबाट ब्यवस्था गरिएको थियो ।
दिन बिराएर ट्यांकरले ल्याइदिने खानेपानी थाप्न गणेशसहितका मजदुरले घण्टौं लाम लाग्नुपर्ने बाध्यता छँदैथियो ।
कतारमा पसिना बगाउने क्रममा उनले पटक-पटक नेपालीबाटै दुःख पाउँथे । यो पटक पनि खानेपानीका लागि भएको सानो विवाद उनका लागि जीवनकै अभिशाप बन्न पुग्यो । सेप्टेम्बर १७ तारिखमा खानेपानी थाप्न लाइनमा बसेका गणेशलाई धकेल्दै अघि बढेका सन्तोष सुनारलाई रोक्न खोज्नु नै उनका लागि दुर्भाग्य बन्न पुग्यो . पहिलेदेखि पालो मिच्दै पानी भर्ने गरेका कास्कीको लामाचौर-६ का सन्तोषले आफ्नो पालो मिचेपछि त्यसो नगर्न भनेकै कारण उनले आँखाको ज्योति गुमाउनुपर्‍यो । ‘मेरो पालो मिचेर सन्तोष सुनार अघि बढेपछि मैले किन यसो गर्छौ भनें’, गणेशले सुनाए, ‘सबैजना नेपाली दाजुभाइ हौं, मिलेर बसौं भनेको थिएँ, त्यहीकारण आज मेरो यो हालत भयो ।’
पानीमा विवाद परेको पर्सिपल्ट दिउँसोको खाना खाएपछि गणेश आराम गर्न सुतेका थिए । मस्त निद्रामा भएकाले उनको अनुहारमा सन्तोषले निर्ममतापूर्वक फलामे रड बजारे । स्काइफोल्डिङको स्टिलको पाइपले गणेशको नाक र आँखाको बीचमा तथा मुखमा हानेपछि हप्ता दिनसम्म गणेशको होस खुलेन ।
घटनालगत्तै उनलाई कतारकै हमाद मेडिकल अस्पतालमा भर्ना त गरियो । तर, त्यतिबेलासम्म उनले आँखाको ज्योति गुमाइसकेका थिए । अस्पतालमा उनको अनुहारको भाग पूरै काटेर शल्यक्रिया गरियो तर, आँखामा जाने मूल नशाले काम गर्न नसकेपछि गणेशले आँखा खोल्दा अध्याँरो बाहेक केही देखेनन् । उनका लागि दिनरात अब एउटै भइसकेको थियो ।
‘होस खुल्दा म कहाँ थिएँ थाहा भएन, डाक्टरले अब कहिल्यै संसार देख्दैनस् भन्दा रोएँ कराएँ, मुर्छित भएँ’, गणेशले रुँदै सुनाए, ‘न त आँखा देख्छु, न दाँतले सारो चिज चपाउन हुन्छ, जीवनमा म जति अभागी अरु को होला र ?’
उपचारको थप भुक्तमान
कतारमा अप्रेशनपछि ज्योति र्फकने आशमा उनी काठमाडौं आएर तिलगंगा अस्पताल पनि पुगे, त्यहाँ पनि उनी निराश हुनुपर्‍यो । त्यही पनि आशैआशले उनी दिल्लीको अलइन्डिया अस्पताल पुग्दा जहाँ गए पनि अब ज्योति नर्फकने सुनेपछि उनी अझ बिरक्तिएका छन् ।
उनलाई आक्रमण गर्ने सन्तोष अहिले कतारी जेलमा छन् । सन्तोषसँग पानीको विवादबाहेक कहिल्यै झगडा नगरेका गणेशलाई उनले त्यति कठोर सजायँ किन दिए, गणेशसँग निरुत्तर छन् । मुद्दाको फैसला भइनसकेकाले उनलाई कति सजायँ हुन्छ, टुंगो लागेको छैन । सन्तोषलाई कम्तिमा २० वर्ष जेल सजायँ हुने सुनेका छन् गणेशले ।
सरकारबाट आश्वासन मात्रै
दृष्टि गुमाएर सन् २०१३ डिसेम्बर १३ मा नेपाल फर्केपछि उनी पत्नीको सहारामा घरसम्म पुगे । नेपाल र्फकनुअघि उनलाई कम्पनीले तीन महिनाभित्र २ लाख रियल वीमाको रकम दिने भनेको थियो तर उनले त्यो रकम अहिलेसम्म पाएका छैनन् ।
घर पुगेर पुनः काठमाडौं आएका उनले वीमा रकम माग गर्दै वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा निवेदन दिए । निवेदन दिएको दुई महिना बितिसक्दा पनि उनको निवेदनबारे बोर्ड बैठकले टुंगो लगाएको छैन ।
‘नेता र सरकारी कार्यालयमा धाउँदा आश्वासन मात्र दिन्छन्, भनेको काम गरिदिँदैनन्’, गणेशकी पत्नी रीताले भनिन्, ‘पतिलाई डोर्‍याउँदै कति दिनसम्म न्यायको भिख माग्नु, सबैजना दलालकै पक्षमा लागेका छन् ।’
गणेश महोत्तरी पुगेलगत्तै दलालमाथि कारबाही माग गर्दै इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी दिए । उजुरी दर्ता गर्नुको साटो उल्टै प्रहरीले उनको परिवारमाथि हप्कीदप्की गर्‍यो । ‘हाम्रो कुरा नसुनेपछि एमाओवादीका नेता गिरिराजमणि पोखरेललाई भन्न लाएपछि मात्रै दलालका भाइलाई प्रहरीले पक्र्यो’, रीताले सुनाइन्, ‘गाउँमा प्रहरी पनि दलालकै पैसाको पछि लागेको छ, उल्टै हामीलाई नै दोषी देखाउँछ ।’
बाबुआमा र छोराको चिन्ता
गणेशबहादुरका बाबुआमा डाँडामाथिका जुनघाम भइसकेका छन् । कतारमा काम गरुन्जेल उनैले पठाएको पैसाले परिवार पालिएको थियो । उनी आफैं अर्काको सहारामा बाँच्नुपर्ने भएपछि यो परिवार बिलखबन्दमा छ ।
‘घरमा सरसाउँदी भनेकी मै मात्रै छु’, गणेशपत्नी रीताले रुँदै भनिन्, ‘म एउटीले अब कसरी परिवार पाल्नु ? न गरी खानु न मरी जानु भएकी छु ।’
गणेशबहादुरको सम्पत्तिको नाममा गाउँमा ५ कठ्ठा जग्गामात्रै छ । त्यसबाट पनि पाखुरी दह्रो हुँदा मात्रै अन्न उब्जने हो । ‘मलाई दिने वीमा रकम पाइँन भने मेरो परिवार सडकमा पुग्ने भो’, गणेशबहादुरले सुनाए, ‘लौ न हजुर तपाईहरुले पनि मलाई न्याय दिलाउन पहल गरिदिनुपर्‍यो, नत्र त हामी भोकै मर्ने भयौं ।’

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page